कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

खोला अतिक्रमणले बर्सेनि बस्ती डुबान

सहरी विकास तथा योजना अवैज्ञानिक र फोहोर तथा वर्षाको पानी बग्ने प्रणाली अव्यवस्थित हुँदा समस्या उस्तै
लिला श्रेष्ठ

काठमाडौँ — भक्तपुर नगरपालिका–४ राममन्दिर भोलाछेंस्थित शान्तिनिकेतन मावि डेढ महिनादेखि जलमग्न छ । कक्षाकोठा डुबानमा परेपछि विद्यालयले विद्यार्थीलाई पुस्तकालय, विज्ञान प्रयोगशाला, प्रशासन, कम्प्युटर, कर्मचारी कोठालगायतमा पढाइ भइरहेको छ । दुई दशकदेखि विद्यालयमा आबद्ध प्रधानाध्यापक महेन्द्रगोपाल कर्माचार्यका अनुसार २०७२ सालपछि पटक–पटक विद्यालयले डुबान झेल्दै आएको छ ।

खोला अतिक्रमणले बर्सेनि बस्ती डुबान

‘पहिलेपहिले आक्कलझुक्कल रूपमा हनुमन्ते खोला बस्तीमा पस्थ्यो,’ उनले भने, ‘अहिले पानी पर्‍यो कि डुबानको डर हुन्छ, हिउँदको बेला पानी पर्दासमेत डुबान हुन थालेको छ । यस वर्ष हिँउदमा समेत डुब्यो ।’

हनुमन्ते खोलासँगैको राममन्दिर र मन्दिरको सत्तल सधैं जलमग्न नै देखिन्छ । राममन्दिर सत्तलको खोलातर्फको भवनमा हनुमन्ते खोलाले बगाएर ल्याएको माटो थुप्रिएको छ । खोलाले बगाएर ल्याएको माटो तथा प्लास्टिकजन्य फोहोर थुप्रिएर खोलाको सतह नै बढेको प्रधानाध्यापक कर्माचार्य बताउँछन् । ‘पछिल्लो समय बढ्दै गएको अव्यवस्थित भूमि दोहन/प्लानिङले बाढी तथा डुबान निम्त्याएको छ,’ उनले भने, ‘भिरालो जग्गामा डोजर लगाएको अव्यवस्थित प्लानिङको माटो बगेर आएपछि खोलाको सतह बढेको छ । खोलाको सतह बढ्दै जाँदा खोलामा आएको बाढी बस्ती छिर्‍यो ।’

हनुमन्ते खोलामा आएको बाढीले बाराहीस्थानको शारदा आधारभूत विद्यालय, हनुमानघाटस्थित बालसेवक आधारभूत विद्यालयसमेत डुबान हुँदै आएको छ । वर्षातसँगै हनुमन्ते खोलामा आउने बाढीले विगतका वर्षहरूमा मध्यपुर थिमि, भक्तपुर नगरको खोला किनाराको बस्ती डुबान हुँदै आएपनि निर्माणाधीन हनुमन्ते करिडोरले मध्यपुर थिमि क्षेत्रमा डुबानको समस्या केही कम भएको छ । तर, भक्तपुर नगरको सल्लाघारी, बाराहीस्थान, राममन्दिर, हनुमानघाटलगायतको क्षेत्र जलमग्न हुने गरेको छ । भक्तपुर नगरपालिकाले फोहोर व्यवस्थापनको नाममा हनुमन्ते खोलालाई साँघुरो बनाएको स्थानीयको आरोप छ । ‘भक्तपुर नगरले नगरक्षेत्रको फोहोर बोरामा राखेर खोलाको बहाव क्षेत्र नै मिचेर गाड्ने गरेको छ,’ बाराहीस्थानकी रामकेशरी त्बायनाले भनिन्, ‘खोलाको बहाव क्षेत्र साँघुरो पारिएको छ, पानी पर्‍यो कि डुबान हुन्छ ।’

भक्तपुर नगरपालिका स्यानिटेसन शाखा प्रमुख दिलीपकुमार सुवालले भने नगरक्षेत्रको फोहोर खोला किनारामा व्यवस्थापन गर्ने गरेको भएपनि खोलाको बहाव क्षेत्रभित्र नगरेको बताए । ‘खोलाको बहाव क्षेत्र छोडेर संरचना बनाउन नमिल्ने ठाउँमा स्थानीयको समन्वयमै फोहोर व्यवस्थापन हुँदै आएको छ,’ उनले भने । नगरपालिकाले खोला आसपासको डुबान समस्या न्यूनीकरणका लागि खोलामा थुप्रिएको माटो डोजर लगाएर निकालिरहेको समेत उनले बताए ।

त्यस्तै, चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेंसी क्षेत्रमा वर्षात्सँगै मनोहरा खोलामा आएको बाढीको कटानले बस्ती नै जोखिममा परेको छ । प्रत्येक वर्ष वर्षामा पानीको बहाव बढ्दै जाँदा बस्ती जोखिममा पर्दै आएको यस क्षेत्रमा दीर्घकालीन रूपमा समस्या समाधानको प्रयास नहुँदा हरेक वर्ष बस्ती जोखिममा पर्दै आएको छ । लामो समयको बालुवा उत्खननले गहिरिँदै गएको खोलाको बहाव नै परिवर्तन गर्दै काठमाडौंको सीमा छाडेर भक्तपुरतर्फको जमिन कटान हुँदै आएको स्थानीयवासी बताउँछन् । खोलाले धार परिवर्तन गर्दै भक्तपुरतर्फको सीमामा फैलिँदा जमिन कटान हुन थालेको स्थानीय रामप्रसाद अधिकारीले बताए ।

उक्त क्षेत्रको अवलोकन गर्दै चाँगुनारायणका नगरप्रमुख जीवन खत्री, मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र कागेश्वरी मनोहराका नगरप्रमुख उपेन्द्र कार्कीले खोलाको तटबन्ध निर्माणसहित दिगो व्यवस्थापनका लागि तत्काल संयुक्त रूपमा आवश्यक पहल गर्ने जनाएका छन् । तीनवटै स्थानीय तहका प्रमुखले हस्ताक्षर गर्दै मनोहरा खोलाले दुवैतर्फ जमिन कटान गर्दै बस्तीसमेत जोखिममा पारेकोले भौतिक तथा मानवीय क्षति हुनबाट रोक्न सचेतना अपनाउन अपिल गरेका छन् ।

हनुमन्ते र मनोहराले जस्तै राजधानी भएर बग्ने वाग्मती, विष्णुमती र धोबीखोलाले पनि वर्षातको समयमा पटक–पटक बस्ती डुबाउँदै आएको छ । खासगरी काठमाडौं महानगर १०, ११, २९ र ३१ का करिडोर आसपासका बस्तीमा बाढीले क्षति पुर्‍याउँदै आएको छ । करिडोरको नाममा खोलालाई खुम्च्याउँदा वर्षात्मा खोलाले धान्न नसक्ने गरी बाढी आउने काठमाडौं देवीनगरका युवराज प्रसार्इंले बताउँछन् । ‘पहिले खोलाको चौडाइ १२ मिटर थियो, करिडोर बनेपछि खोलाको बहाव क्षेत्र ९ मिटरमा खुम्चिएको छ,’ उनले भने, ‘पहिले–पहिले खोलाबाट बालुवा निकालेर पनि खोलाको सतह गहिरिएको हुन्थ्यो, अहिले खोलामा बगेर आएको माटो थुप्रिएर सतह बढेपछि खोला बस्तीमा पस्न थाल्यो ।’ पुल बनाउँदा, सडक बिस्तार गर्दा खोलालाई अतिक्रमण गरेपछि बर्सेनि वर्षाको समयमा खोला आसपासका क्षेत्र डुबानमा पर्दै आएको उनी बताउँछन् ।

काठमाडौं उपत्यकालगायतका सहरमा बाढी आउनुको मुख्य कारण अव्यवस्थित सहरीकरण भएको विज्ञहरू बताउँछन् । ‘काठमाडौंको धेरै ठाउँमा खोलाको छेउमा बस्ती बनाइएको छ, सडक बनाइएको छ अर्थात् खोला बग्ने प्राकृतिक बाटोलाई अतिक्रमण गरिएको छ,’ पाटन संयुक्त क्याम्पस वातावरण विज्ञान विभागका उपप्रध्यापक अमृत शर्माले भने, ‘खोलाको बहाव क्षेत्रको अध्ययन नै नगरी हचुवाको भरमा कंक्रिट उठाएर खोलालाई झन् साँघुरो बनाइएको छ ।’

स्थानीय तहहरूले सहरलाई व्यवस्थित नगरी जथाभावी क्रंक्रिट थुपार्ने काम गरेको शर्माको आरोप छ । ‘आकाशबाट परेको पानी सतहमा गएर रिचार्ज हुने ठाउँ नै बाँकी छैन, सबै कंक्रिटले भरिएको छ,’ उनले भने, ‘स्थानीय तहले दिगो बस्ती विकासको अवधारणाअनुरूप काम गर्नुपर्छ ।’ विस्तृत अध्ययन नै नगरी मापदण्डको ख्याल नै नगरी बस्ती बसाल्दा विपद्को वातावरण बनेको उनी बताउँछन् ।

अव्यवस्थित सहरीकरण, कंक्रिट र पक्की सडकका कारण आकाशबाट परेको पानी अत्यन्तै न्यून रूपमा जमिनमुनि छिर्छ, जसले गर्दा वर्षायाममा काठमाडौं उपत्यका प्रायः जलमग्न हुने गरेको विज्ञ बताउँछन् । ‘विद्यमान ढलको पानीले पूरा निकास दिन सकेको छैन, त्यसैले अस्तव्यस्त र अव्यवस्थित सहरीकरणले डुबानको समस्या बारम्बार थपिएको छ,’ जलाधारविद् मधुकर उपाध्यले भने, ‘काठमाडौंको भू–बनोटमा पर्याप्त भिराला जमिन छन् । जब जनघनत्व र सहरी संरचना बढ्यो, त्यहीअनुसार नदीनाला व्यवस्थापनको काम भएन । यहाँको सहरी विकास र योजनाहरू वैज्ञानिक छैनन् । आकाशको पानीलाई समेत बग्ने ठाउँ दिइएन ।’ फोहोर पानी र वर्षाको पानी बग्ने प्रणाली नै व्यवस्थित नभएको उनी बताउँछन् ।

प्रकाशित : असार २०, २०७९ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?