२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

ख्यालि द्यो पुनर्निर्माणको क्षमा पूजा

अमेरिकी दूतावासको आर्थिक सहयोग

कीर्तिपुर — आजभन्दा ३ सय २८ वर्षअघि बनाइएको र हाल जीर्णकाय अवस्थामा रहेको कीर्तिपुर, क्वा:च्वस्थित ख्यालि द्यो (प्रेमको भगवान)को पुनर्निर्माण हुने भएको छ ।

ख्यालि द्यो पुनर्निर्माणको क्षमा पूजा

कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा रहेको लक्ष्मी–नारायण मन्दिर आडैमा रहेको ख्यालि द्योको पुनर्निर्माण थाल्ने क्रममा बिहीबार क्वा:च्व द्योस्थलमा क्षमा पूजा सम्पन्न गरिएको छ । पूजामा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी, अमेरिकी राजदूत ऱ्यान्डी बेरी, आरपी फाउन्डेसनका अध्यक्ष रविन्द्र पुरी, ख्यालि द्यो संरक्षण गुठीका अध्यक्ष नारायण महर्जनलगायतका सम्पदाविद्को सहभागिता थियो ।

‘हामीले ख्यालि द्यो पुनर्निर्माणमा अमेरिकी दूतावासको आर्थिक सहयोग पाएका छौं, यसमा रविन्द्र पुरी फाउन्डेसनले संरक्षण संयोजनमा सघाउ गर्ने छ,’ गुठीका अध्यक्ष महर्जनले भने, ‘यसमा पुरातन शैलीमै सोह्रखुट्टे सत्तलसहित मण्डप निर्माण हुनेछ, बढीमा २ वर्षमा यो सम्पदा तयार भइ सक्नेछ ।’ यो पुनर्निर्माण कार्यमा अमेरिकी दूतावासले १ करोड ३४ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

क्षमा पूजा समारोहमा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले ‘विश्व सम्पदा सूचीमा राख्नका लागि १४ वर्षअघि प्रस्तावित कीर्तिपुरमा अझै पनि प्राचिन सम्पदाको संरक्षण र संवर्द्धन जरुरी रहेको’ भन्दै कीर्तिपुरलाई ऐतिासिक, पुरातात्विक र मूर्त–मूर्त सम्पदाले घेरिएको स्थलका रुपमा बाहिरी विश्वमा चिनारी गराउन नगरपालिकाले सम्पूर्ण उपाय लगाउने प्रतिवद्धता सुनाए । आरपी फाउन्डेसनका अध्यक्ष एवं सम्पदाविद् पुरीले नेपालको सम्पदा संरक्षण/संवर्द्धन गर्नमा तथा नेपालबाट चोरिएर अमेरिका पुगेका पुरातात्त्विक सम्पदा घर फर्काउनमा उल्लेख्य भूमिका निभाएकोमा अमेरिकी राजदूत बेरीको मुक्त कन्ठले प्रशंसा गरेका थिए । ‘आफ्नो ४ वर्षे कार्यकाललाई नेपाली सम्पदा र पुरातत्वको जगेर्ना गर्ने–गराउने तहमा देखिनेगरी भूमिका निभाएकोमा राजदूत बेरीले नेपाल–नेपालीलाई कहिल्यै नबिर्सने गुन लगाउनुभएको छ, कूटनीतिक तहबाट भएको यस्तो सकारात्मक कार्यले आगामी दिनमा पनि निरन्तरता रहनुपर्छ,’ पुरीले भने ।

समारोहमा पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतम र संस्कृति मन्त्रालयका सहसचिव डा. सुरेश श्रेष्ठले कीर्तिपुरलाई विश्व सम्पदा क्षेत्रमा लैजान थालिनुपर्ने पहल र प्रक्रियामा सहयोग गरिने प्रतिवद्धता सुनाएका थिए । अमेरिकी राजदूत ऱ्यान्डी बेरीले कीर्तिपुरजस्तो ऐतिहासिक महत्त्वको स्थल र मूर्त–अमूर्त सम्पदाको केन्द्र बिन्दूमा साथ सहयोग गर्नमा आफू तथा दूतावास सदैव तत्पर रहेको बताएका थिए ।

प्रकाशित : असार १७, २०७९ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?