२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

अकासियो महँगी, बढ्दैन ज्याला

‘मजदुरकै कुरा गर्ने नेताहरुले आफूहरुलाई कामको मान्छे नै ठानेका छैनन्, हामी उनीहरुका लागि भोट बैंक मात्र हौं’

काठमाडौँ — थाप्लो पोल्ने चर्को घाम होस् या मुसलधारे वर्षा । काभ्रेपलाञ्चोक भुम्लुका कमल धौलाकोटी घामपानीको प्रवाह नगरी दिनहुँ महाबौद्ध क्षेत्रमा भारी खोज्न निस्कन्छन् । १३ वर्षदेखि उनी भारवाहन मजदुरीकै भरमा जीवन धानिरहेका छन् ।

अकासियो महँगी, बढ्दैन ज्याला

‘आफूले जानेको काम भारी बोक्ने (भरिया) मात्रै हो । बिहान ७ बजेदेखि साँझ ८ बजेसम्मको साथी उही नाम्लो छ,’ उनले भने, ‘बुबा पनि यही पेसामा हुनुहुन्थ्यो । भारी बोकेरै हामीलाई हुर्काउनुभयो ।’

बुबाको अवसानपछि कमल भरिया जीवनमा होमिएका हुन् । काठमाडौंका महाबौद्ध, असन, इन्द्रचोक, न्युरोडलगायत क्षेत्रमा वर्षौंदेखि भारी बोक्दै आएका उनले आफ्नो पेसाको शैलीमा केही बदलाव अनुभव पक्कै गरेका छन् तर ज्यालामा खासै वृद्धि महसुस गरेका छैनन् । यसबीचमा इन्धन, खाद्यान्नलगायतमा भएको मूल्यवृद्धिले भने उनलाई आफूले बोक्ने भारीभन्दा गह्रौं गरी थिच्दै आएको छ । ‘१३ वर्षअघि र अहिलेको ज्यालामा कुनै भिन्नता छैन । दैनिक उपभोग्य वस्तुको मूल्य आकाश जमिनले भिन्न भइसक्यो,’ उनले भने, ‘भरियाको ज्याला कहिल्यै नबढ्ने भयो । भारी पायो भने दिनमा ८ सयदेखि हजार रुपैयाँसम्म कमाइ हुन्छ । त्यसमाथि पछिल्ला ३ वर्ष त कोरोनाले सकसै दियो ।’ भारवाहक मजदुरको आवाज नेतृत्व तहसम्म पुग्न नसकेका कारण आफूहरू पीडित हुनुपरेको उनलाई लाग्छ ।

भारवाहक मजदुरले पाउने काम सधैं एकैनासको हुँदैन । ‘कहिले एकदेखि डेढ सय केजीसम्मको भारी पनि बोक्नुपर्छ, कहिले हल्का कार्टुन मात्र पनि,’ काभ्रेपलाञ्चोक भुम्लु कोलातीका सानुभाइ माझीले भने, ‘अहिले सिजन छैन, असोज लागेपछि भारी बोक्ने सिजन सुरु हुन्छ । भरियाको सिजन दसैंतिहार नै हो ।’ भारी बोकेरै माझीले ७ जनाको परिवार धान्दै आएका छन् ।

साथीभाइको लहलहैमा काठमाडौं छिरेका माझीले यो पेसा सुरु गरेकै २६ वर्ष भइसक्यो । तर, यो बीचमा आफूजस्ता मजदुरको दुःखमा कुनै बदलाव नआएको उनी बताउँछन् । ‘पहिले युवा जोस थियो, जत्रो भारी पाउँदा पनि उत्साहले बोक्थें । अहिले ज्यान शिथिल हुँदै गएको छ,’ उनी विगत सम्झन्छन्, ‘गरिबीले पढ्न पाइनँ । साँझबिहान हातमुख कसरी जोर्ने भन्नेकै चिन्ता थियो । १० सन्तान हामी बाबुआमाले कतिलाई पढाउनु ? अनि १५ वर्षको उमेरदेखि नै असन, इन्द्रचोकमा भारी बोक्न थालेको हुँ ।’ भूकम्प, कोरोना महामारी तथा बढ्दो महँगीको मारले लगातार मजदुर वर्गलाई थिचिरहेको उनको भनाइ छ । ‘भरिया पेसामा कहिल्यै ज्याला बढेन,’ उनी निराश सुनिए ।

पछिल्लो समय विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भएको छ । जसको असर नेपालसम्मै परेको छ । ढुवानी भाडा बढ्दा दैनिक उपभोग्य सामग्रीको मूल्य अकासिएको छ । मूल्यवृद्धिले बजारको चहलपहलमा कमी आएको र भारवाहन मजदुरले कामै नपाउने समस्या बढेको धौलाकोटी बताउँछन् । ‘बजारको चहलपहलले उत्साह थपिन्छ,’ उनले भने, ‘आजकल बजारमा चहलपहल नै छैन । मूल्यवृद्धिले बजार ठप्पजस्तै छ ।’

नेपाल भारवाहक मजदुर संघका अनुसार धौलाकोटी र माझीजस्तै करिब २ हजार मजदुरले महाबौद्ध, असन, इन्द्रचोक, न्युरोडलगायत उपत्यकाका मुख्य बजारमा भारी बोकेर परिवार धान्दै आएका छन् । उनीहरूमध्ये कसैले लहलहैमा यो पेसा अँगाले पनि धेरैको भने बाध्यता हो । कोरोना महामारीले थलिएर बजार भर्खर उठ्न खोजेको अवस्थामा भरियालाई महँगीले ढाड सेकेको भन्दै संघले ज्याला बढाउन माग गरेको छ । संघले भारी बोक्ने, ठेला ठेल्ने, रिक्सा चलाउनेलगायत अनौपचारिक काम गर्ने भारवाहक मजदुरको हकमा महँगीले रोजीरोटीमै असर पुगेकाले ज्यालादर बढाउन नेपाल व्यापार संघ, राष्ट्रिय व्यापार संघ, वटु व्यापार संघ, जनसेवा विशाल बजारलगायतलाई पत्रचारसमेत गरेको संघका अध्यक्ष भक्तबहादुर लामाले बताए ।

संघले धारा चोक, वटुलगायत क्षेत्रबाट सामान ट्रान्सपोर्ट लगेको, धारा चोक, वटुलगायतबाट भोटेबहाल लगेको, वटु, सुरज चोक, इन्द्रचोकलगायत क्षेत्रबाट कालीमाटी लगेको, धाराचोक, वटुलगायतबाट बागबजार लगेको, वटु, इन्द्रचोक, फसिकेव वरिपरिबाट ढल्को, विजेश्वरी, नयाँबजारसम्म सामान लगेको भाडा १०० रुपैयाँबाट बढाएर ४०० रुपैयाँ, गाडीमा सामान लोड/अनलोड गरेको ५० रुपैयाँबाट बढाएर १५० रुपैयाँ, वटु, इन्द्रचोकबाट वीर अस्पतालसम्म लगेको, वटुलगायतबाट क्षेत्रपाटी सामान लाने/ल्याउने गरेको १०० रुपैयाँबाट बढाएर ३०० रुपैयाँ दर लागू गर्न गत जेठ १४ मा नै अनुरोधसहितको पत्राचार गरेको थियो । तर अहिलेसम्म लागू नभएको लामाले जनाए ।

भारवाहक मजदुर पेसा अनौपचरिक भएकाले राज्यले उनीहरूलाई समेट्न नसकेको उनको भनाइ छ । विभिन्न राजनीतिक पार्टीले मजदुरका नाममा संगठन नै विस्तार गरी राजनीति गरिरहे पनि भारवाहकलाई अझै पनि समेट्न नसकेको उनको गुनासो छ । ज्यालामा समेत एकरूपता नरहेको उनले स्विकारे । भारवाहक मजदुर २०६१ सालपछि संगठित भए पनि अझै सबैलाई समेट्न नसकेको उनले बताए ।

सरकारले भारवाहक मजदुरको न्यूनतम पारिश्रमिकसमेत निर्धारण नगर्दा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुन नपाएको भारवाहक मजदुर रमेश कार्कीले गुनासो गरे । ‘काठमाडौंमा मजदुरी नगरी हातमुख जोर्न सकिन्न । घर फर्किंदा खेतीपाती गर्ने पर्याप्त जग्गाजमिन छैन,’ उनले भने, ‘मजदुरकै कुरा गर्ने नेताहरूले आफूहरूलाई कामको मान्छे ठानेका छैनन् । हामी उनीहरूका लागि भोट बैंक मात्र हौं ।’

प्रकाशित : असार १७, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?