चपली सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, बूढानीलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चपली सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, बूढानीलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द

कान्तिपुर संवाददाता

काठमाडौँ — बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सबस्टेसनमा रहेका १०/१० एमभीए क्षमताका तीन वटा ट्रान्सफर्मरहरुमध्ये एउटामा बुधबार बिहान ५ बजेतिरबाट समस्या देखिएको हो ।

ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बूढानीलकण्ठ, तारेभीर, झोरलगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । उक्त ट्रान्सफर्मरबाट पाँच वटा फिडर निकाली ती क्षेत्रमा विद्युत आपूर्ति हुँदै आएको थियो ।

नेपाल विद्युत प्राधिकरण महाराजगञ्ज वितरण केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठले सम्भव भएका स्थानमा अन्य सबस्टेसनबाट वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति गरिएको बताए ।

उनका अनुसार, समस्या देखिएको ट्रान्सफर्मरलाई हटाएर जगेडामा रहेको ट्रान्सफर्मर जडान गर्न लागिएको छ । नयाँ ट्रान्सफर्मर जडान जतिसक्दो छिट्टो सम्पन्न गरी विद्युत आपूर्ति सुरु गर्न टोली परिचालित भएको श्रेष्ठले उल्लेख गरे ।

प्रकाशित : असार १५, २०७९ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्

आलुमा आत्मनिर्भर हुँदै बझाङ

वसन्तप्रताप सिंह

बझाङ — कतै ताजा आलु खन्ने र बोरामा प्याकिङ गर्ने चटारो देखिन्छ त कतै भर्खरै उम्रिएका आलुले हरियाली भएका छन् बझाङका फाँटहरू । अनि कतै भर्खरै लाइनमा आलु लगाइएका किरिमिरी कान्लाहरू । बझाङका अधिकांश गाउँमा अहिले यो दृश्य जताततै देखिन थालेका छन् । बजार क्षेत्रमा भर्खरै बारीबाट निकालेका आलु बेच्न राखेको र आलु बेच्नका लागि बोरा ओसार्नेहरूको ताँती छ । 

केही वर्ष अघिसम्म बाहिरी जिल्ला र भारतबाट आयात गरिएको आलुको भर पर्ने बझाङ अहिले आलुमय भएको छ । वार्षिक १ करोड बराबरको आलु आयात गरिने यस जिल्लामा अहिले ६० प्रतिशतभन्दा बढी आयात प्रतिस्थापन भइसकेको कृषिज्ञान केन्द्र बझाङले जनाएको छ । चक्रीय प्रणालीमा आधारित आलुको व्यावसायिक खेती सुरु गरिएपछि तीन वर्षकै अवधिमा जिल्लाले आयात प्रतिस्थापन मात्रै गरेको छैन । बझाङको स्वादिलो आलु धनगढी, महेन्द्रनगर, चितवन र काठमाडौंका बजारसम्म पुग्न थालेको छ ।

२०७४ सम्म प्रतिवर्ष आठ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेकामा यो आर्थिक वर्षसम्म आइपुग्दा उत्पादन बढेर १२ हजार मेट्रिक टन पुगेको छ । समुद्र सतहबाट ९१५ मिटरदेखि ७ हजार ३१ मिटरको उचाइमा फैलिएको यस जिल्लामा तराईदेखि हिमालसम्मको जलवायु रहेको कारण बाह्रै मास ताजा आलु उत्पादन सम्भव भएको हो ।

भूगोल हेरेर भदौ/असोजमा रोपेको आलु मंसिर/पुसमा खन्ने, मंसिरमा लगाएको आलु चैतमा खन्ने गरेर चक्रीय खेतीको सुरुवात गरेपछि बझाङको बजारमा आलुको अभाव हुन छोडेको हो । यस्तै पुस/माघतिर लगाएको आलु वैशाख/जेठमा भित्र्याउने र फागुन/चैतमा रोपेको आलु असारदेखि भदौसम्म निकाल्ने गरेर खेती गरेका कारण सबै मौसममा स्थानीय आलु उपलब्ध हुन सकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बझाङका कुम्भराज रोकायाले बताए ।

‘बझाङमा लामो समय आलु भण्डारणका लागि कोल्ड स्टोरको अभाव छ तर यहाँको भूगोल र जलवायुले साथ दिएका कारण सधैं बजारमा ताजा आलु उपलब्ध हुने अवस्था बनेको हो,’ उनले भने, ‘बेंसी क्षेत्र, तल्लो पहाड, उच्च पहाड र हिमाली क्षेत्रमा फरक–फरक मौसममा आलु उत्पादन हुने भएपछि हामीले लामो समय भण्डारण गरेर राख्नुपर्ने अवस्था छैन ।’

२०७५ सम्म जिल्लाको लेकाली भेगमा मात्र फाट्टफुट्ट गरिने आलु खेतीलाई जिल्लाव्यापी बनाएर बझाङलाई आलुमा आत्मनिर्भर बनाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको आलु जोन कार्यक्रम, कृषिज्ञान केन्द्र बझाङ र पालिकाहरूले किसानलाई प्रेरित गरिरहेका छन् । उन्नत बीउ, प्रविधि, सिँचाइ, अल्पकालीन भण्डारणको व्यवस्था र बजारीकरण लागि सरकारका यी निकायले अनुदान सहयोग गर्न थालेपछि अहिले जिल्लाभरका किसानहरू आलु खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

आलु खेतीको राम्रो सम्भावना भए पनि व्यावसायिक खेतीको तौरतरिका थाहा नहुँदा र बजारको सुनिश्चितता नहुँदा यसतर्फ नलागेका किसानहरू अहिले भने आलु बेचेर राम्रै आम्दानी गरिरहेको बताउँछन् । ‘८/१० क्विन्टल आलु नफलाउने परिवार त कुनै गाउँमा पनि छैनन् होला,’ बुंगल नगरपालिका दहबगरका एक जना किसान करसिं जाग्रीले भने, ‘बढी जग्गा हुने र मिहिनेत गर्नेहरूले ३०/४० क्विन्टलभन्दा बढी पनि फलाएका छन्,’ उनले यहाँ उत्पादित आलुले बजार पाउन थालेपछि कृषकहरू आलु खेतीतर्फ आकर्षित हुन थालेको बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मात्रै यो वर्ष बझाङका विभिन्न पालिकाको ३० वटा वडाका ५ सय हेक्टर जमिनमा आलु खेती गर्ने किसानलाई सहयोग गरिरहेको र ३३ करोड मूल्य बराबरको ११ हजार टन आलु उत्पादन भइसकेको जनाएको छ । बीउ, प्रविधि, पूर्वाधारलगायतको सहयोग गरेपछि आलुको उत्पादनमा मात्रै नभएर उत्पादकत्व पनि वृद्धि भएको परियोजना प्रमुख सविता जोशीको भनाइ छ । जिल्लाभरि १ हजार २ सय हेक्टर बढी क्षेत्रफलमा आलु खेती गरिएको कृषिज्ञान केन्द्रको तथ्यांक छ ।

प्रकाशित : असार १५, २०७९ १२:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×