कोटेश्वरमा माइक्रोबसको ठक्करबाट एकको मृत्यु- उपत्यका - कान्तिपुर समाचार

कोटेश्वरमा माइक्रोबसको ठक्करबाट एकको मृत्यु

रासस

काठमाडौँ — काठमाडौंको कोटेश्वरमा माइक्रोबसको ठक्करबाट एकजनाको मृत्यु भएकोे छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक नजिक सडकमा कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा २ख १२३१ नंको माइक्रोबसले ठक्कर दिँदा स्याङ्जा थेङचुङगढी स्थायी घर भएका ५२ वर्षीय देउकुमार सेनको सोमबार राति मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दुर्घटनामा गम्भीर घाइते भएका सेनको उपचारका क्रममा बी एन्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको जानकारी दिए ।

सोही दुर्घटनालगत्तै बालकुमारीबाट कोटेश्वर आउँदै गरेको प्रदेश नं ३–०१–००६ ख ०२९५ नंको ट्रकले माइक्रोबसलाई ठक्कर दिँदा माइक्रोबसका सहचालक रामेछाप मन्थलीका २३ वर्षीय विमल सुनुवार घाइते भएका छन् । घाइते सुनुवारको उपचार लागि सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको प्रवक्ता मैनालीले बताए ।

प्रहरीले दुर्घटनामा संलग्न माइक्रोबस र ट्रकलाई नियन्त्रणमा लिएको छ भने माइक्रोबस चालक फरार रहेकाले खोजी भइरहेको प्रवक्ता मैनालीले बताए । दुर्घटनासम्बन्धी प्रहरी वृत्त बानेश्वरले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : असार १४, २०७९ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्

बोक्सीको आरोपमा कुटपिट

सुनिता बराल

महोत्तरी — छिमेकीको विवाह हेर्न गएकी कालोदेवी महतो अहिले अस्पतालको शय्यामा छटपटाइरहेकी छन् । जेठ २५ मा राकेश रामको दुलही हेर्न जाँदा टुनामुना गरेको भन्दै उनीमाथि कुटपिट भएको हो । 


राकेशकी भाउजू सुमारी देवीलाई बोक्सी लगाएको आरोपमा पूरै परिवार मिलेर जलेश्वर नगरपालिका–६ धवौलीकी कालोदेवीलाई निर्घात कुटपिट गरेको उनका देवर दिनेश महतोले बताए । कालोदेवी छिमेकीको घरमा गएको रातिदेखि सुमारी काम्न थालेकी थिइन् । भोलिपल्ट बिहान सुमारीकी सासू बौरादेवीले कालोदेवीलाई घरमा बोलाई आफ्नो बुहारीलाई बोक्सी लगाएको आरोप लगाइन् । त्यसपछि सुमारीका कान्छा ससुरा भुलन रामलगायतले कालोदेवीमाथि हातपात गरेका थिए । गाउँलेले रोक्न नसक्दा ५३ वर्षकी कालोदेवीलाई नाङ्गो बनाएर कुटपिट गरिएको थियो । पछि उनीसंगै मिलेर गाउँकै ५४ वर्षकी दुलरिया देवीले पनि आफूलाई टुनामुना लगाएको सुमारीले बताएकी थिइन् । त्यसपछि खेतमा घाँस काट्न गएकी दुलरियालाई खोज्दै पुगेका सुमारीका परिवारले त्यहीँ कुटपिट गरेका थिए । खेत नजिकैको पोखरीमा पटकपटक चोबलेर दुवै जनालाई मलमुत्र खुवाउने प्रयास गरेकै समयमा प्रहरी पुगेपछि उनीहरू जोगिएको देवर महतोले बताए ।

घटनापछि दुलरिया उपचार गरी सामान्य अवस्थामा छिन् । कालोदेवीको अवस्था भने चिन्ताजनक रहेको परिवारले बताएको छ । रिपोर्टअनुसार कालोदेवीका शरीरका धेरै अंगमा चोट लागेको छ । देवर महतोका अनुसार अहिले उनी बोल्न र चल्न नसक्ने अवस्थामा जनकपुरस्थित जानकी मेडिकल सेन्टरमा उपचाररत छिन् । घटनामा संलग्न भएको आरोपमा ४५ वर्षका भुलन राम र २८ वर्षकी सोमनदेवी सोमारी पक्राउ परेका छन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरीमा गएको २ वर्षमा बोक्सी आरोपमा एक हत्यासहित ९ वटा घटना भएको प्रहरीले जनाएको छ । गत कात्तिकमा महोत्तरी गाउँपालिका–३ मडईकी ४२ वर्षकी शिलादेवी झामाथि बोक्सीको आरोपमा कुटपिट हुँदा उनले ज्यानै गुमाइन् । शिलादेवीलाई बोक्सीको आरोपमा उनकै देवर सञ्जयकुमारले टाउकोमा हतौडाले हिर्काएर हत्या गरेका थिए । भाउजूले टुनामुना गरेर केरा खुवाएपछि आफ्नो श्रीमती रिंकुदेवीको गर्भपतन भएको भन्दै सञ्जयले कुटपिट गरेका थिए । सञ्जय कर्तव्य ज्यान मुद्दामा अहिले थुनामा रहेका महोत्तरी प्रहरीले जनाएको छ ।

यसबीचमा भएका ८ वटा दुर्व्यवहारका घटनामध्ये ४ वटा घटनाका दोषी धरौटीमा रिहा भएका, एउटा घटनाका अभियुक्त अहिलेसम्म फरार रहेका र अन्य घटनाका अभियुक्त भने पुर्पक्षका लागि जेल चलान भएको महोत्तरी प्रहरीले जनाएको छ । महोत्तरीमा बोक्सी आरोपमा हुने दुर्व्यवहारका घटना कम हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताए । वृद्ध, आर्थिक स्थिति कमजोर भएका, एकल महिला र समाजमा खुलेर बोल्न नसक्नेलाई बोक्सीको आरोप लगाउने र दुर्व्यवहार गर्ने गरेको देखिएको उनको भनाइ छ ।

प्रकाशित : असार १४, २०७९ ०९:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×