२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

भक्तपुरको बजेट २ अर्ब १८ करोड, शिक्षामा सबैभन्दा धेरै बजेट [पूर्ण पाठसहित]

भक्तपुर — भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि २ अर्ब १८ करोड ४२ लाख ४२ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको शुक्रबार बसेको १२ औं नगरसभामा उपमेयर रजनी जोशीले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि २ अर्ब १८ करोड ४२ लाखको अनुमानित आयव्यय प्रस्तुत गरेकी हुन् । 

भक्तपुरको बजेट २ अर्ब १८ करोड, शिक्षामा सबैभन्दा धेरै बजेट [पूर्ण पाठसहित]

उपमेयर जोशीले नगरपालिकाको आन्तरिक स्रोत, नेपाल सरकार र प्रदेश सरकारको अनुदान रकम तथा ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरी गरी २ अर्ब १८ करोड ४२ लाख ४२ हजारको बजेट तय गरिएको बताइन् ।

भक्तपुर नगरपालिकाले सबैभन्दा धेरै शिक्षा तथा संस्कृति क्षेत्रमा १९.४३ प्रतिशत बजेट विनियोजन गरेको छ । त्यस्तै, स्वास्थ्य क्षेत्रमा ४.९५ प्रतिशत, सम्पदा संरक्षण तथा विकास निर्माणमा ४.१२ प्रतिशत, भौतिक पूर्वाधार निर्माणका लागि १८.०७ प्रतिशत, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ६.१८ प्रतिशत, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा २३.६६ प्रतिशत र वित्तीयतर्फ २.११ प्रतिशत विनियोजन गरेको छ ।

नगरपालिकाले आगामी वर्ष १०० शैयाको स्वीकृति प्राप्त ख्वपः अस्पताल भवन निर्माण सम्पन्न गर्ने र ‘जनताको अस्पताल’ कोरुपमा सञ्चालन गर्न आठ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै नगरपालिकाले विगतदेखि दिँदै आएको शैक्षिक ऋणलाई थप प्रभावकारी बनाउन ऋण रकमसमेत बढाउने गरी २ करोड रुपैयाँ विनियोजन गरेको छ ।

नगरपालिकाले चिकित्साशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र लगायतका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न चाहने र अध्ययरत नगरवासी विद्यार्थीहरूका लागि शैक्षिक ऋण वितरण गर्दै आएको छ । शिक्षाशास्त्र संकायमा उच्च शिक्षा अध्ययन गरी शिक्षक बन्न चाहने नगरवासीहरुको लागि विशेष व्यवस्था गरेको उपमेयर जोशीले बताइन् ।

त्यस्तै, देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्न २० करोड रुपैयाँ र खेलकुद पूर्वाधार, प्रशिक्षण तथा प्रतियोगिताकालागि ६ करोड १ लाख रुपैयाँ विनियोजन गरेको छ । नगरमा खानेपानी फिल्ट्रेसन, ट्यांकी निर्माण तथा खानेपानी पाइप सुधार कार्यका लागि लिवाली आवास योजना र कमल विनायक आवास योजनामा खानेपानी व्यवस्था गर्न ५० लाख, नगरबासीहरुलाई खानेपानी सुविधा उपलब्ध गराउन १ करोड २५ लाख र नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरुसँग सहकार्य गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र युवा उद्यमशील ऋण तर्फ १ करोड बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले क्यान्सर, मुटु, मृगौला, मस्तिष्कघात तथा मेरुदण्ड पक्षघात (स्पाइनल कर्ड इन्ज्युरी) जस्ता कडा तथा दीर्घरोग भएका नगरवासी विरामीहरूलाई प्रतिव्यक्ति १५ हजारका दरले सहयोग गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिन ४० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, क्यान्सर, मृगौला रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई मासिक ५ हजारको दरले उपचार खर्च भत्ता व्यवस्थाको लागि ९० लाख विनियोजन गरेको छ ।

पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई मोहडाका लागि इँटा, काठ र झिंगटीमा लाग्ने कूल लागत रकमको ३५ प्रतिशत अनुदान दिन ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पर्ती जग्गा संरक्षण तथा सिमांकन, पार्किङ, कृषि उत्पादन वृद्धि गर्न माटो परीक्षण तथा सम्भाव्यता अध्ययन कार्य लगायतका लागि ७० लाख विनियोजन गरेको छ भने नगरभित्रका सामुदायिक विद्यालयहरुमा बालविकास सहजकर्ता (ईसीडी) शिक्षकहरुको कार्य मूल्यांकन गरी थप पारिश्रमिकको बन्दोबस्त गरेको छ ।

भक्तपुरको आव ०७९/०८० को बजेट वक्तव्य :

प्रकाशित : असार १०, २०७९ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?