सेतो हेरोइनसहित ३ विदेशी र १ नेपाली पक्राउ - उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेतो हेरोइनसहित ३ विदेशी र १ नेपाली पक्राउ 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ४ किलो ९ सय ग्राम सेतो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा तीन विदेशी र एक जना नेपाली नागरिकसहित चार जना छन् । 

फ्लाई दुबईको उडानबाट दक्षिण अफ्रिकास्थित जोहानसबर्गबाट जेठ २ गते बिहान तान्जानियन नागरिक पासपोर्ट नम्बर टीएई ११५९४३ बाहक ३० अब्दल्लाह अबुलिकी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुगेका थिए । उनको गतिविधि शंकास्पद लागेपछि ब्यूरोबाट खटिएका प्रहरीले निगरानी राख्यो । त्यसैक्रममा प्रहरीले सोही दिन काठमाडौं महानगरपालिका–६ स्थित बौद्धको एक होटलबाट सुटकेसभित्र फल्सबटम बनाएर ल्याएको ४ किलो ९ सय ग्राम हेरोइनसहित अबुलिकीलाई पक्राउ परेको ब्युरो प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताए ।

प्रहरीले बौद्धकै होटलबाट भारतको हरियाणा राज्यबाट उक्त सेतो हेरोइन लिन आएका ४६ वर्षीय मुनिम सिंह, ४३ वर्षीय विक्रमजित सिंह र पर्सा वीरगन्ज महानगरपालिका–१३ का ३० वर्षीय बिक्की रौनियारलाई पक्राउ गरेको छ । पछिल्ला केही घटनालाई केलाएर हेर्दा विदेशबाट ल्याएको लागूऔषध भारत लौजाने तयारी रहेको एसपी श्रेष्ठले बताए । उनीहरूमाथि लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम लागूऔषध हेरोइन मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ ।

दुई साताअघि ब्युरोले ५१ किलो हेरोइनसहित सात जना दक्षिण अफ्रिकी नागरिकलाई पक्राउ गरेको थियो । ब्युरोले विगतको अनुभवका आधारमा ‘क्रिमिनल प्रोफाइल’ गरी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा निरन्तर निगरानी बढाएको एसपी श्रेष्ठले बताए ।

प्रकाशित : असार ९, २०७९ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्

मूल्यवृद्धिको विरोधमा नेविसंघद्वारा कावासोतीमा चक्काजाम 

नवीन पौडेल

नवलपुर — मूल्यवृद्धिको विरोधमा पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा नेपाल विद्यार्थी संघले विरोध प्रदर्शनसहित आधा घण्टा चक्काजाम गरेको छ । 

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै खाध्यान्न र अन्य क्षेत्रमा पनि चर्को मूल्यवृद्धि भएको भन्दै मूल्य समायोजन गर्न माग गर्दै नेविसंघले आन्दोलन गरेको हो ।

विरोध कार्यक्रममा बोल्दै नेविसंघका निवर्तमान केन्द्रीय सदस्य आरसी भट्टराईले नेविसंघ सत्ता नेतृत्व गर्ने नेपाली कांग्रेसको भ्रातृ संगठन भए पनि जनजीविकाको पक्षमा सधै लडिरहने बताए । सत्तामा बस्दा नेतृत्वले जे गरे पनि टुलुटुलु हेरेर बस्नुभन्दा रचनात्मक सहयोग गर्ने र जनताको पक्षमा नरहेको निर्णयमा विरोधमा उत्रिने उनले बताएका थिए ।

विरोध सभामा सहभागीले मूल्यवृद्धि खारेज गर, जनतालाई क्षति भो, मूल्यवृद्धि अति भो, हाम्री आमा के भन्छिन्, खाने तेल सस्तो ले भन्छिन् लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

विरोध प्रदशर्नमा जिल्लामा रहेका नेविसंघ इकाईका प्रतिनिधि र जिल्लास्तरका विद्यार्थी नेताहरु सहभागी थिए ।


प्रकाशित : असार ९, २०७९ १६:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×