सिलु महादेव मन्दिरमा बो सिंह पुन:स्थापना - उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिलु महादेव मन्दिरमा बो सिंह पुन:स्थापना 

कान्तिपुर संवाददाता

काठमाडौँ — भक्तपुर दरबार स्क्वायर परिसरको निर्माणाधीन सिलु महादेव (फसि:देग) मन्दिरमा बो सिंह (उड्ने सिंह) को मूर्ति पुन:स्थापना गरिएको छ । लामो समयदेखि स्थानीय बासिन्दाको अवरोधका कारण अड्किएको बो सिंह मङ्गलबार स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्व विभाग) भक्तपुरले पुन:स्थापना गरेको हो ।

भक्तपुर नगरपालिका–७ गोलमढी ग:हिटीमा वि.सं.१९९० को भूकम्पपछि राखिएको सिलु महादेव मन्दिरको बो सिंह निकाल्न स्थानीयबासिन्दाले अवरोध गरेको थियो ।

पुरातत्व विभाग भक्तपुरले नगरपालिका, वडाका जनप्रतिनिधिको समन्वयमा शनिबार गोलमढी ग:हिटीबाट निकालेर दरबार स्क्वायर ल्याएको थियो । गोलमढी ग:हिटीमा सिलु महादेवको पुरानो बो सिंह निकालेर नयाँ मूर्ति राखिएको छ ।

२०७२ वैशाखको भूकम्पको कारण क्षतिग्रस्त गुम्बज शैलीको सिलु महादेव (फसि:देग) मन्दिर वि.स.१९९० सालअघिकै स्वरुप शिखर शैलीमा पुनर्निर्माण गरेको छ । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्व विभाग) भक्तपुरले प्राप्त स्केच, तस्बिर, अभिलेखमा उपलब्ध डिजाइनको आधारमा शिखर शैलीमै पुनर्निर्माण गरेको हो । करिब ५ करोड रुपैयाँ लागतमा बनेको मन्दिर पुनर्निर्माणको कार्य ९९ प्रतिशत सम्पन्न भईसकेको पुरातत्व विभाग भक्तपुर प्रमुख अरुणा नकर्मी बताउँछिन् । ‘मन्दिरको पुनर्निर्माण सम्पन्न भईसकेको छ, दुई वटा बो सिंह राख्यौं, खट निकाल्न मात्र बाँकी छ,’ उनले भनिन् ।

सिलु महादेव मन्दिर दरबार स्क्वायर परिसरको पूर्वी चोकको उत्तरमा अवस्थित छ । सिलुलाई नेपाल भाषामा गोसाइँकुण्ड भनिन्छ । इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार गोसाइँकुण्ड तीर्थ जान नसक्ने बालबालिका, जेष्ठ सदस्य र अशक्त भक्तजनका लागि यो मन्दिर सत्रौं शताब्दीतिर बनेको देखिन आउँछ । मन्दिर निर्माणको एकीन मिति भने पत्ता नलागेको इतिहासविद् श्रेष्ठ बताउँछन् ।

वि.सं १९१० मा हेनरी एम्ब्रोस ओल्डफिल्डले कोरेको चित्रमा शिलु महादेवलाई नेपालकै ठूलो शिखर शैलीको मन्दिरका रूपमा चिनाइएको छ । यद्यपि, शिखर शैली नेपालको मौलिक शैली होइन, सत्रौं शताब्दीमा भित्र्याइएको मुगल शैली हो । तर, यही शैलीमा पनि नेपालीपन मिसाइएको छ, मन्दिरको चारै दिशामा वायुपंखी सिंह (बो सिंह/उड्ने सिंह) राखिएको चित्रमा देखिन्छ । सिलु मात्र होइन, भक्तपुरकै शिखर शैलीको नृत्यवत्सला मन्दिर र पाटनको कृष्ण मन्दिरमा पनि यस्तै उड्ने सिंह देख्न सकिने इतिहासविद् श्रेष्ठ बताउँछन् । यसले मन्दिर जमिनमा नभई आकाशमा उडिरहेको सन्देश बुझिने संस्कृतिविद्हरू बताउँछन् । दुर्भाग्य त यो रह्यो १९९० को भूकम्पले सिलु महादेवलाई तहसनहस बनायो । तर, मन्दिरको पेटी र तलदेखि क्रमश: राखिएका हात्ती, सिंह र साँढेका आकर्षक मूर्तिमा क्षति पुगेन ।

१९९० अगाडिको तस्बिरमा सिलु महादेवको बायाँपट्टि हरिशंकर मन्दिर देखिन्छ । जुन मन्दिर पनि भूकम्पले क्षतिग्रस्त भयो । विडम्बना पुनर्निर्माण गर्न कसैले चासो देखाएनन् । अहिले यो मन्दिरको भौतिक अस्तित्व करिब हराइसकेको छ । हरिशंकर झैं शिलु महादेवलाई बेवास्ता त गरिएन तर शिखर शैलीमा नभई राणाकालमा गुम्बज शैलीमा ठड्याइयो । मन्दिरको शैली र बनोट मात्र फेरिएन, इँट्टाले बनेको मन्दिरमा सेतो रङ पोतियो । मन्दिरको स्वरूप फर्सीजस्तै बाटुलो भएकाले नामै बदलियो । १९९० पछि यसले ‘फसि : देग’ अर्थात् फर्सी जस्तो नामले परिचित समेत भएको श्रेष्ठको भनाइ छ ।

गुम्बज शैलीमा रूपान्तरित सिलु महादेव मन्दिर ०७२ वैशाखको भूकम्पबाट पुन: क्षतग्रस्त भयो । गुम्बज शैलीमै पुनर्निर्माण गर्ने गरी ४ करोड २२ लाख ९२ हजार रुपैयाँमा श्री प्राकृतिक/सानु सुवाल/तुल्सी जेभी भक्तपुरसँग ठेक्का सम्झौता समेत भई नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले मन्दिरको सिलान्यास समेत गरे । २०७५ असार मसान्त सम्म पुनर्निर्माण सक्ने गरी भएको ठेक्का गरेको सिलु महादेव मन्दिर १९९० साल अघिकै स्वरुपमा निर्माण गर्ने गरी नगरपालिका, इतिहास तथा संस्कृतिविदहरुको सल्लाह र प्राप्त स्केच, तस्बिरलगायत अभिलेखको आधार तयार भएपछि डिजाइन परिवर्तन गरियो । लागत इस्टमेट समेत परिवर्तन भयो र सोही अनुरुप करिब ५ करोड रुपैयाँ लागतमा शिखर शैलीमा मन्दिर बन्यो । तर, मन्दिरको पुनर्निर्माणसँगै मन्दिरको चारै दिशामा जडान गरिएको अगाडि पञ्जा उठाइएको बो सिंह राख्ने विषयमा भने विवाद रह्यो ।

मन्दिर गुम्बज शैलीमा बनेपछि चारैतिरका बो सिंह त्यसै राखिएकोमा २ वटा नगरपालिकाको पुरानो भवन पुननिर्माण हुँदा (१९९० सालपछि) ढोकाको दुइतिर राखियो । दुई वटा बो सिंह गोलमढीको ग:हिटी ढुंगेधारा मर्मत गर्दा धाराको दुईतिर राखियो । ग:हिटीमा राखिएको बो सिंह अन्तत: स्थानीयले फिर्ता पठायो । करिब ५ लाख रुपैयाँ खर्चेर बनाएको नयाँ बो सिंहको मूर्ति गोलमढी ग:हिटीमा राखिएको छ ।

प्रकाशित : असार ८, २०७९ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्

‘स्वास्थ्य बिमा धान्नै मुस्किल’

नगेन्द्र अधिकारी

काभ्रे‍ — स्वास्थ्य बिमा बोर्डले समयमा रकम भुक्तानी नगर्दा स्वास्थ्य बिमा कार्यक्रम धान्न मुस्किल परेको धुलिखेल अस्पतालले जनाएको छ । जेठ मसान्तसम्म बोर्डले अस्पताललाई उपचार र औषधिबापत २५ करोड ७८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । असार मसान्तसम्म भुक्तानी नभए साउन १ बाट सेवा स्वतः बन्द हुने अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजूले बताए ।

‘भुक्तानी नहुँदा आपूर्तिमा समस्या भएर बिरामीलाई सबै प्रकारका औषधि उपलब्ध गराउन सकिएको छैन,’ डा. मकाजूले भने, ‘असार १५ सम्म भुक्तानी भए आंशिक सेवा उपलब्ध गराउने र मसान्तसम्म भुक्तानी नभए सेवा स्वतः बन्द हुनेछ ।’ बोर्डसँग सम्झौता गरेर अस्पतालले २०७४ सालदेखि यो सेवा दिँदै आएको छ ।

अस्पताल प्रशासनका अनुसार दैनिक सरदर १३ सय जनाले उपचार लिँदै आएका छन् । एक साताको अन्तरालमा मात्रै एक करोडको हाराहारीमा औषधि तथा उपचार खर्च थपिने गरेको छ । अस्पतालले तलबलगायत अन्य भुक्तानीबापत ३२ करोड रुपैयाँ तिर्न बाँकी छ । स्वास्थ्यकर्मी र अन्य कर्मचारीले समयमा तलब पाउन सकेका छैनन् । भुक्तानी ढिला भएपछि आपूर्तिकर्तालाई पैसा बुझाउन नसक्दा केही औषधिको आपूर्ति रोकिएको छ । पछिल्लो समय मधुमेह, उच्च रक्तचापलगायत दीर्घरोगका केही औषधिको अभाव हुँदा बिरामी मारमा परेका छन् । बोर्डले १ हजार १ सय ३३ प्रकारका औषधि सूचीकृत गरे पनि अस्पतालमा सबै उपलब्ध छैन ।

मध्यपहाडी जिल्लालाई स्वास्थ्य सेवा दिँदै आएको धुलिखेल अस्पतालमा बिरामीको चाप छ । स्वास्थ्य बिमा लागू भएका अन्य स्वास्थ्य संस्थाभन्दा गुणस्तरीय सेवा भएको कारण बिरामीको रोजाइमा यो अस्पताल पर्दै आएको छ । काभ्रेका लागि धुलिखेलसहित मेथिनकोट अस्पताल, खोपासी, सुन्थान, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा बिन्दु तोकिएको भए पनि पहिलो रोजाइमा यही अस्पताल पर्दै आएको छ । सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोकका बिमितले समेत धुलिखेल अस्पताललाई प्रथम सेवा बिन्दु छनोट गरेका छन् । भक्तपुरका बिमितसमेत सेवाका लागि धुलिखेल नै आउने गरेका छन् ।

बोर्डको सम्पर्क शाखा कार्यालय काभ्रेका संयोजक मुना निरौलाका अनुसार काभ्रेका ३० हजार ४५ परिवारका १ लाख १५ हजार ९ सय ६३ जना बिमा कार्यक्रममा आबद्ध छन् । ५ जनासम्मको परिवारका लागि ३५ सय तिरेर बिमा गरेपछि एक वर्षसम्म १ लाख बराबर स्वास्थ्य सेवा उपलब्ध हुन्छ । एचआईभी संक्रमित, एमडीआर टीबी, पूर्ण अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, कुष्ठरोगीले तिर्नुपर्ने प्रिमियम रकममा सरकारले छुट गरेको छ भने महिला स्वास्थ्य स्वयंसेविकाले तिर्नुपर्ने प्रिमियम रकममा ५० प्रतिशत छुट दिइएको छ ।

प्रकाशित : असार ८, २०७९ ०८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×