कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

काठमाडौं उपत्यकामा हैजाको जोखिम

महामारीको रुप लिन सक्ने भन्दै सतर्कता अपनाउन चिकित्सकको आग्रह
अतुल मिश्र

काठमाडौँ — काठमाडौं उपत्यकामा हैजा फैलने जोखिम बढेको छ । हालसम्म २ जनामा हैजा पुष्टि भइसकेको छ भने ४ जनामा संक्रमणको आशंका गरिएको छ । उनीहरू सबैको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ । हैजा पुष्टि भएका २ जनाको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

काठमाडौं उपत्यकामा हैजाको जोखिम

भर्ना भएका बिरामीहरूमा ३–४ पटक चौलानीजस्तै पखाला लाग्दा नै कमजोर बनाउने अवस्था रहेको टेकु अस्पतालकी निर्देशक डा. मनीषा रावलले बताइन् । संक्रमणका आधारमा उपत्यकामा हैजा फैलिइसकेको उनले आशंकासमेत गरिन् । ‘बिरामीको अवस्था हेर्दा उपत्यकामा २/४ दिनमै हैजाको प्रकोप थप बढ्न सक्ने आधारहरू देखिएको छ,’ उनले भनिन्, ‘३/४ पटकसम्म चौलानी जस्तो पखाला भएपछि नै पूरै अशक्त भएर बिरामीहरू अस्पताल आइरहेका छन् ।’ हैजाको आंशका गरिएका ४ जनाको दिसाको ‘कल्चर’ रिपोर्ट आउन बाँकी रहेको उनले बताइन् ।

उनका अनुसार भिब्रियो कलेरी ब्याक्टेरियावाट संक्रमित दूषित खाना वा पानी पिउँदा हैजा लाग्न सक्छ । महामारीको समय भने हैजा संक्रमित व्यक्तिको दिसाबाट फैलन्छ । संक्रमण भएको २४ घण्टादेखि ५ दिनसम्ममा यसको लक्षण देखिन सुरु हुन्छ । लक्षण देखिएको ३–६ घण्टाभित्रै यसले घातक रूप लिन सक्छ । ‘संक्रमण देखिएपछि बिरामीमा रक्तचाप कम हुन्छ र मुटु तथा मस्तिष्काघात हुने अवस्थासम्म आउन सक्छ,’ उनले भनिन् । सोमबार कालीमाटीमा तरकारी व्यवसाय गर्ने ४० वर्षीया महिला हैजाको लक्षणसहित आघातकै अवस्थामा टेकु अस्पतालमा भर्ना भएकी थिइन् ।

हाल टेकुमा भर्ना भएका संक्रमित र शंकास्पद बिरामीहरूमा स्वास्थ्य जटिलता र ढिलो गरी निको हुने अवस्था देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । आईसीयूमा उपचाररत बागबजारमा बस्दै आएका २५ र १९ वर्षीया दिदीबहिनीमध्ये बहिनीको आइतबार राति रक्तचाप एक्कासि घटेको ती चिकित्सकले जानकारी दिए । हालसम्म देखिएको हैजा ‘ओ–वन’ ओगावा ‘सेरोटाइप’ को रहेको डा. रावलले औंल्याइन् । ‘यस प्रकारको हैजाले महामारीको रूप लिने सक्ने भएकाले विशेष सतर्कता अपनाउन आवश्यक छ,’ उनले भनिन् ।

पानी वा खाद्य पदार्थमा संक्रमित व्यक्तिको दिसा मिसिँदा यसले अन्य स्वस्थ व्यक्तिमा हैजा सर्न सक्ने उल्लेख गर्दे टेकु अस्पतालको रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले खानपानमा थप सतर्कता अपनाउन आग्रह गरे । झाडापखालाभन्दा हैजाले स्वस्थ वयस्क व्यक्तिलाई केही घण्टामै मृत्युको नजिक पुर्‍याउन सक्ने बताउँदै उनले रोग प्रतिरोधक क्षमता कम भएका कुपोषित बालबालिका, एचआईभी संक्रमित, अंग प्रत्यारोपण गराएका, दीर्घरोगीलगायत बढी जोखिम रहेको उल्लेख गरे । डा. रावलले पानी उमालेर खाँदा मात्रै पनि धेरै हदसम्म संक्रमणबाट बच्न सकिने बताइन् । ‘हैजा देखिएकामध्ये अधिकांशले जारको पानी खाने गरेको पाइएको छ, जारको पानी सुरक्षित हुन्छ भन्ने मान्यता नै हो,’ उनले भनिन्, ‘त्यसैले पानी उमालेर खानु सुरक्षित हुन्छ ।’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वमा हरेक वर्ष हैजाका १३ लाखदेखि ४० लाख केस पहिचान हुने गरेको र त्यसले करिब डेढ लाखको ज्यान लिने गरेको छ ।

प्रकाशित : असार ७, २०७९ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?