कक्षाकोठामा बाढी, पुस्तकालय र प्रयोगशालामा पढाइ- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कक्षाकोठामा बाढी, पुस्तकालय र प्रयोगशालामा पढाइ

लिला श्रेष्ठ

भक्तपुर — साँघुरो पुस्तकालयमा २ जना शिक्षिका पढाइतर्फ विद्यार्थीको ध्यान केन्द्रित गर्नमा व्यस्त देखिन्थे । शिक्षिका सहाना मुनकर्मी कक्षा ४ र बिना गोथे कक्षा ५ का विद्यार्थीलाई मंगलबार पुस्तकालयको एउटै कोठामा अध्यापन गराउँदै थिए ।

भक्तपुर नगरपालिका–४ राममन्दिर भोलाछेंस्थित शान्ति निकेतन माध्यमिक विद्यालयमा अरू कक्षाका विद्यार्थी पनि विज्ञान र कम्प्युटर प्रयोगशाला, प्रशासनलगायत कक्षमा बाँडिएर पढिरहेका थिए । वर्षासँगै हनुमन्ते खोलामा आएको बाढी विद्यालयको कक्षाकोठामा छिरेपछि विद्यार्थीलाई वैकल्पिक रूपमा अन्य कक्षमा राखेर पढाउनुपरेको हो ।

बाढीले विद्यालयका १० वटै कक्षाकोठा डुबाएको थियो । कक्षाकोठा डुबानमा परेपछि विद्यालयको पुरानो भवनमा रहेका पुस्तकालय, प्रयोगशाला, प्रशासन, कर्मचारी कक्षलगायतमा पढाइरहेको प्रधानाध्यापक महेन्द्रगोपाल कर्माचार्यले बताए । उनका अनुसार सोमबार राति हनुमन्ते खोलामा आएको बाढी विद्यालय पसेपछि ईसीडीदेखि कक्षा ३ सम्मका विद्यार्थीका अभिभावकलाई मंगलबार बिहानै आफ्ना बालबालिका विद्यालय नपठाउन सन्देश पठाइएको थियो । ‘कक्षा ४–१० सम्मका विद्यार्थीको कक्षा भने नियमित सञ्चालनमा छ । यसअघि कहिल्यै विद्यार्थीलाई विद्यालय नआउनू भन्नुपरेको थिएन,’ उनले भने ।

अघिल्लो साता पनि विद्यालय डुबानमा परेको थियो । बाढी पसेको कक्षाकोठा सुक्न र सरसफाइ गर्न भन्डै एक साता लाग्ने गरेको उनको भनाइ छ । जसका कारण पठनपाठन प्रभावित हुँदै आएको छ । ‘डुबानमा परेको कोठा सफा गरेर कक्षा सञ्चालन गरेको एक साता पनि भएको छैन, फेरि डुबायो,’ उनले भने, ‘यस वर्ष मनसुन सुरु नहुँदै २/३ पल्ट बाढी पसिसक्यो ।’ बाढीले डेक्स, बेन्च, शैक्षिक सामग्री, बाल उद्यान, पानी तान्ने पम्पलगायतमा क्षति पुगेको उनले जनाए ।

०७२ वैशाखको भूकम्पका कारण आंशिक क्षति भएको भवनमा प्रशासन, विज्ञान र कम्प्युटर प्रयोगशाला, कर्मचारी कक्ष राखिएको छ । चारतले उक्त भवनमा १९ वटा कोठा छन् । जसमध्ये २ वटा तलामा भूकम्पले क्षति पुर्‍याएका कारण प्रयोगमा ल्याइएको छैन । भूकम्पपछि बौद्ध चुची संघ ताइवानले भाडाको जग्गामा बनाइदिएको टिनको टहरोमा अहिले बाढी पसेको हो । कक्षाकोठा नै डुबेपछि अहिले एउटै कोठामा २ वटा कक्षाका विद्यार्थीलाई पढाउनु परिरहेको प्रअ कर्माचार्य बताउँछन् ।

दुई दशकभन्दा बढी समयदेखि अध्यापन गराउँदै आएका कर्माचार्यका अनुसार ०७२ पछि पटक–पटक विद्यालयमा बाढी पसेको छ । ‘पहिले–पहिले आक्कलझुक्कल हनुमन्ते खोला बस्तीमा पस्थ्यो,’ उनले भने, ‘अहिले पानी पर्‍यो कि डुबानको डर हुन्छ, हिउँदका बेला पानी पर्दासमेत डुबान हुन थालेको छ । यस वर्ष हिँउदमा समेत डुब्यो ।’

भवन बनाउन जग्गाको किचलो

०२६ देखि भोगचलन गर्दै आएको जग्गा विद्यालयको नाममा छैन । विद्यालयलाई जग्गाको भोगाधिकार भए पनि जग्गाधनी पुर्जा नहुँदा भक्तपुर नगरपालिकाले नयाँ भवन बनाउन नक्सापासको स्वीकृति दिएको छैन । प्रअ कर्माचार्यका अनुसार ०७३ सालमा विद्यालय पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट ३ करोड रुपैयाँ बजेट विनियोजन भई नक्सासमेत बनिसकेको छ । विद्यालयको नाममा लालपुर्जा नभएको भन्दै नगरपालिकाले नक्सापास नगरेपछि बजेट फिर्ता भएको थियो ।

भवन अभावका कारण नयाँ शैक्षिक सत्रका लागि भर्ना हुन आएका सय जनाभन्दा बढी विद्यार्थीलाई फिर्ता पठाइएको बताउँछन् शिक्षक उत्तम सेजवाल । ‘अघिल्लो वर्ष ६ सयभन्दा बढी विद्यार्थी थिए । ठाउँ अभावले ५ सयमा झार्ने लक्ष्य थियो, सकेनौं,’ उनले भने, ‘हाल ५ सय १२ विद्यार्थी अध्ययनरत छन् ।’ विद्यालयमा उपत्यकाबाहिरबाट आएर ज्यालामजदुरी गर्ने, ठेला व्यापार गर्ने निम्न आयस्रोत भएका अभिभावकका बालबालिका अध्ययन गर्छन् ।

प्रअ कर्माचार्य बढ्दै गएको भूमि दोहनले बाढी तथा डुबान निम्त्याएको दाबी गर्छन् । ‘अव्यवस्थित भूमि दोहन/प्लानिङको माटो बगेर आएपछि खोलाको सतह बढेको छ,’ उनले भने, ‘खोलाको सतह बढ्दै जाँदा बाढी बस्ती छिर्न थालेको हो ।’ डुबानको समस्या समाधान हनुमन्ते करिडोर निर्माण तथा खोलाको माटो निकालेर गर्न सकिने उनले सुझाए ।

हनुमन्ते खोलाको बाढीले बाराहीस्थानको शारदा आधारभूत विद्यालय, हनुमानघाटस्थित बालसेवक आधारभूत विद्यालयले समेत डुबानको समस्या झेल्दै आएका छन् । बाढीले विगतका वर्षहरूमा मध्यपुर थिमि, भक्तपुर नगरका खोला किनारका बस्तीसमेत डुबानमा पर्ने गरेकामा निर्माणाधीन हनुमन्ते करिडोरले मध्यपुर थिमि क्षेत्रमा भने यो समस्यामा केही कमी आएको छ । तर सल्लाघारी, बाराहीस्थान, राममन्दिर, हनुमानघाटलगायतको क्षेत्र भने जलमग्न हुने गरेको छ ।

प्रकाशित : असार ४, २०७९ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्

कर्णाली पहिरोको उच्च जोखिममा

ज्योति कटुवाल

सुर्खेत — असार लाग्दै गर्दा कर्णालीवासीलाई बर्खाको पिरलो बढ्दै गएको छ । पहिरोको उच्च जोखिममा रहेको कर्णालीको ५७ प्रतिशत भिरालो जमिन छ । २०११ देखि २०२० सम्मको तथ्यांक हेर्ने हो भने झन्डै १० अर्ब ९४ करोड १७ लाख आर्थिक क्षति भएको छ । कर्णालीका १० जिल्लाको २ सय २० स्थानमा पहिरो गएको छ ।

कालीकोट नरहरिनाथ गाउँपालिका–७ बाकाँका २९ वर्षीया पदम बुढा २०७७ साउनको घटना सम्झिँदै भन्छन्, ‘सरकार अझै पनि जनताप्रति उत्तरदायी बन्न सकेको छैन ।’ काखमै सुतेका आमाबुबा, श्रीमती, छोराछोरी, दिदीबहिनीलगायत ७ जना एकैपटक पहिरोमा गुमाएका उनी अहिले पनि पानी पर्नेबित्तिकै त्रसित हुने बताउँछन् ।

गतवर्ष दैलेखेको नारायण नगरपालिका–१ नमुना बस्तीका ३ जनाको ज्यान गयो । ३० वर्षीय कमल बादीलाई श्रीमती र २ छोराछोरीको एकैपटक पहिरोमा ज्यान जाँदा सरकारले ९० हजार दियो । यो वर्षमा झनै ३० वर्षयताकै ठूलो पानी पर्ने समाचारमा सुनिन्छ । उनले बादी बस्ती जोखिममा रहेको बताए । कमलले जनप्रतिनिधिले धेरैपटक आश्वासन दिएको भए पनि बस्तमिा कसैको आँखा नपरेको बताए । कर्णाली प्रदेशको प्रहरीको उपलब्ध गराएको तथ्यांकअनुसार २०७३ यता २ सय ९२ जनाको ज्यान गएको छ । ४ सय ४० जना घाइते भए । २६ जना बेपत्ता छन् । विस्थापित २ हजार १ सय १६, पशु चौपाया २ हजार २ सय ८२ पहिरोमा परेका थिए ।

प्रदेश प्रहरीका निमित्त प्रमुख डीआईजी राजीव बाँस्तोलाले पहिरोमा परेर ज्यान गुमाउने संख्या धेरै रहेको बताए । यूएसएआईडीको तयार नेपाल संस्थाले दुल्लु नगरपालिकाको बडिमुलमा झन्डै ८ हेक्टर जमिनको संरक्षण गरिरहेको छ । जिल्लाकै धेरै पहिरो जाने क्षेत्र रहेकाले यो क्षेत्रमा काम सुरु गरेको तयार नेपालका प्रमुख श्रद्धा योगीले बताइन् । बायोइन्जिनियरिङ, तारजाली रिटेनिङ वाल, ग्याबिन वाल, नालाको काम उक्त संस्थाले गरिरहेको उनको भनाइ छ ।

वातावरणीय प्रभाव मूल्यांकनबिनै सडक निर्माण हुँदा सबै पहाडी गाउँ पहिरोको जोखिममा परेको उनको भनाइ छ । धेरैजसो पहिरो भीर कटान, अव्यवस्थित ढुंगा–माटो विसर्जन र कमजोर भीर क्षेत्रमा भल तर्काउने जस्ता क्रियाकलापले हुने भएकाले ध्यान दिन आवश्यक भएको उनले बताइन् । सडक नालासहितको निर्माण गर्नुपर्ने उनको जोड छ ।

धेरै जस्तो पहिरो ग्रामीण सडक, नयाँ सडक, बस्ती विस्तारको क्रममा गएको देखिन्छ । भू तथा जलधार व्यवस्थापन कार्यालयका प्रमुख शेरबहादुर श्रेष्ठले कर्णालीमा भिरालो जमिनमाथि जथाभावी सडक खन्दा पहिरोको उच्च जोखिम बढेको बताए । कर्णालीमा भिरालो भूभाग धेरै छ । कर्णालीमा भिरालो भूमिमा स्थिरभन्दा पनि अस्थिर तरिकाले गरिएको विकासले झनै विनाश भएको छ । कमलो र भिरालो जमिनमा धेरै क्षति भएको देखिन्छ । उनले विकासका गतिविधिहरू वातावरणमैत्री नभएकाले विपद्का यस्ता घटना पटक–पटक दोहोरिने बताए ।

कर्णालीका ३३ प्रतिशत नागरिक जोखिमयुक्त बस्तीमा बस्ने गरेको तथ्यांक छ । उनका अनुसार बढ्दो सहरीकरणले गर्दा पनि छिटो विकासको हुटहुटीले विनाश भएको छ । श्रेष्ठले सरकार राहतमुखी मात्र भएकाले पूर्वसावधानी गर्न नयाँ कार्य नगरेको बताए । विपद्को स्रोत कहाँ हो त्यो स्थान पत्ता लगाउनु पर्‍यो । नागरिक अगुवा दीपेन्द्र श्रेष्ठले सरकारले जलाधार व्यवस्थापन गर्न नीति र योजनामा ध्यान नदेखिएको बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकायले मनसुन पूर्वतयारी कार्ययोजना २०७९ मात्र स्वीकृत भएको बताए । सरकारले विपद् प्रतिकार्य हरेक वर्ष पूर्वयोजना गराए पनि कार्यान्वयन फितलो हुँदा बाढीपहिरोमा हरेक वर्ष नागरिकहरूले ज्यान गुमाएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०७७ सालयता झन्डै २७ करोड रकम विपद् प्रतिकार्यमा खर्च गरिएको तथ्यांकमा उल्लेख गरेको छ । चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारले विपद् न्यूनीकरणका लगि करिब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित : असार ४, २०७९ ०८:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×