२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हत्या आरोपमा दुई पक्राउ 

काठमाडौँ — काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्याको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर वाग्मती गाउँपालिका–६ फापरबारी सानो कायरका ४५ वर्षीय कान्छामान ठोकर र ललितपुर गोदावरी नगरपालिका–६ लेलेकी ४० वर्षीया गायत्री नगरकोटी रहेका छन् । 

गत वैशाख २८ गते सिन्धुपाल्चोक जुगल गाउँपालिका–८ बराम्चेका ३५ वर्षीय कान्छा लामा तामाङलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनीहरुलाई प्रहरी पक्राउ गरेको हो । शुक्रबार पक्राउ परेका दुवै जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार काठमाडौं दक्षिणकाली नगरपालिका–१ पावर हाउस नजिक वाग्मती नदी किनारमा जेठ ५ गते कान्छा लामाको शव सडिगलेको अवस्थामा फेला परेको थियो । सोही घटना अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा काठमाडौं महानगर–१६ नयाँबजार विष्णुमती पुल नजिक ‘बालाजु संरक्षण समिति एवं श्री शिव मन्दिर गंगा पहलमान पौवा परिसर’ भित्रको भवनमा वैशाख २८ गते कान्छा लामालाई कान्छामान ठोकर, गायत्री नगरकोटी र मकवानपुर वाग्मती गाउँपालिका फापरबारी ठूलो कायरका दिपक वाइबा तामाङसमेत मिलेर कुटपिट गरी टाउकोमा हम्मरले हानेर घाँटीमा सलले बाँधेर हत्या गरेको पाइएको छ ।

हत्यापछि सलले बाँधेर शव तन्ना र म्याट्रिसले बेरेर प्लास्टिकको डोरीले बाँधी कान्छामान ठोकर र गायत्री नगरकोटीले विष्णुमती खोलामा फालेको खुल्न आएको एसपी कोइरालाले बताए । पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीको लागि काठमाडौं प्रहरी परिसर टेकु पठाएको जनाएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७९ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?