काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले यो वर्षको मनसुन जेठ १८ देखि सुरु भएर असोज १४ गतेसम्म रहने अनुमान गरेको छ ।
यो चार महिनाको अवधिमा देशका अधिकांश स्थानहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले आगामी मनसुन सिजनको जलवायुको आंकलन गर्नका लागि गत शुक्रबार राष्ट्रिय मनसुन फोरम आयोजना गरेर सार्वजनिक गरेको थियो । जसअनुसार प्रदेश-१ का तराईका भू-भागहरु, वागमती प्रदेशका उत्तर-पूर्वी भू-भाग, गण्डकी प्रदेशका दक्षिणी भू-भाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर-पश्चिमी भू-भाग तथा सुदुरपश्चिम प्रदेशका उत्तरी भू-भागहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५प्रतिशत रहेको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशका पूर्वी भू-भाग, कर्णाली प्रदेशका मध्य भू-भाग, गण्डकी प्रदेशका मध्य-पश्चिमी भू-भाग र प्रदेश-१ को मध्य भू-भागहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।
गण्डकी प्रदेशका उत्तरी भू-भाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भू-भागहरुमा सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत, प्रदेश-१ का उत्तरी भू-भाग, वाग्मती प्रदेशका दक्षिणी भू-भाग र मधेश प्रदेशका अधिकांश भू-भागहरुमा सरदर वर्षा हुने ३५देखि ४५प्रतिशत सम्भावना रहेको छ विभागले जनाएको हो ।

प्रदेश नम्बर १ को उत्तरी भू-भाग, मधेश प्रदेशको अधिकांश भू-भाग र वाग्मती प्रदेशका दक्षिणी भू-भागहरुमा सरदर वर्षा हुने सम्भावना ३५देखि ४५ प्रतिशत रहेको छ भने बाँकी भू-भागहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५देखि ६५ प्रतिशत रहेको छ ।
यो अवधिमा अधिकतम तापक्रम देशको उत्तरी भू-भाग र मधेश प्रदेशका धेरै भू-भागहरुमा सरदर हुने सम्भवना ३५देखि ५५ प्रतिशत साथै अन्य स्थानहरुमा सरदरभन्दा कम रहने सम्भावना ३५देखि ६५ प्रतिशत हुने अनुमान गरेको हो । त्यसैगरी न्यूनतम तापक्रम देशका उत्तरी भू-भागहरुमा सरदरभन्दा बढी हुने सम्भावना ३५देखि ५५ प्रतिशत र बाँकी भू-भागहरुमा सरदर रहने सम्भावना ३५ देखि ५५प्रतिशत रहेको छ ।
प्रकाशित : वैशाख २५, २०७९ २०:३१