सुरक्षाकर्मीको सहयोगमा २ सातापछि उपत्यकाको फोहोर व्यवस्थापन

काठमाडौँ — पासाङल्हामु राजमार्गअन्तर्गतका स्थानीयहरूको अवरोधका कारण रोकिएको काठमाडौं उपत्याकाको फोहोर व्यवस्थापनको काम सुरक्षाकर्मीको सहयोगमा शनिबारबाट सुरु भएको छ । स्थानीयको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापनको काम २ सातादेखि नै प्रभावित भएको थियो ।

सुरक्षाकर्मीको सहयोगमा २ सातापछि उपत्यकाको फोहोर व्यवस्थापन

स्थानीयसँगको छलफलमा सहमति नजुटेपछि काठमाडौं महानगरपालिकाको पहलमा ३ सय सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काटठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य शनिबार सुरु गरिएको हो । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरेको भन्दै स्थानीयले उक्त स्थान भएर फोहोर बोक्ने गाडी जान नदिँदा काठमाडौंका १८ स्थानीय तहको फोहोर सडकमै थियो ।

पटकपटकको छलफलमा पनि स्थानीयसँग सहमति जुट्न नसकेपछि कामपाले गृह मन्त्रालयको सहयोगमा मुड्कुखोलादेखि तीनपिप्लेसम्मको सडकखण्डमा सुरक्षाकर्मी खटाएको हो ।

स्थानीको विरोधमा वैशाख ११ गतेदेखि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य रोकिएको थियो । हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहर रोकिएको हो ।

वि सं २०७० देखि सुरु गरिएको सडक हालसम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयले पटकपटक अवरोध गर्दा फोहोर व्यवस्थापनमा पनि समस्या हुने गरेको छ ।

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्छ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर सिसडोल लैजाने गरिन्छ । सिसडोलमा भने २ वर्षका लागि फोहोर व्यवस्थापन गर्ने भनिए पनि १५ वर्षदेखि नै उक्त स्थानमा काठमाडौंको फोहोर व्यवस्थापन गरिँदैआएको छ ।

उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिन्छ । तर स्थानीयको अवरोधका कारण विभिन्न समयमा फोहोर व्यवस्थापनको काम प्रभावित हुने गरेको छ । स्थानीयको अवरोधका कारण गत फागुन र चैत महिनामा पनि ३२ दिनसम्म फोहर व्यवस्थापन हुन सकेको थिएन ।

प्रकाशित : वैशाख २४, २०७९ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?