दौडमा हरिसिद्धि देवगण- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दौडमा हरिसिद्धि देवगण

पशुपतिमा २०१८ देखि रोकिएको नाच २०६६ मा स्थानीयवासीले नै ब्युँताएपछि निरन्तर
दामोदर न्यौपाने

काठमाडौँ — लामा कपाल पालेका र सेतो कपडा पहिरिएका हरिसिद्धि देवगण आइतबार बिहान १२ नबज्दै पशुपति क्षेत्रको जयबागेश्वरीबाट बिदा भए । तीन दिन हरिसिद्धि (जलद्योः) नाचेपछि जयबागेश्वरी डबलीमा दुईवटा बोकाको बलि दिनासाथ उनीहरू ललितपुरको हरिसिद्धितर्फ लागे । २९ जना देवगण, प्रत्येक देवगणका दुई सहयोगीसहितको टोलीको नेतृत्व गरिरहेका छन् ८८ वर्षीय धनबहादुर महर्जनले । ‘अब हरिसिद्धिमा आजको रात बसेर भोलि पनौतीतिर लाग्छौं,’ महर्जनले भने, ‘त्यसपछि यसपटकको १२ वर्षे हरिसिद्धि नाच सकिन्छ ।’

बलि दिनासाथ देवगण सवारीसाधनमा दौडिहालेका थिए । ‘काम सकिएपछि एक मिनेट पनि बस्दा रहेनछन्,’ जयबागेश्वरी टोल सुधार समितिका अध्यक्ष छत्रानन्द वैद्यले भने, ‘दौडिहाल्दा रहेछन् । दौडधुप छ देवगणको ।’ दोलखामा चार दिन नाचेर सिधै पशुपति आएका थिए देवगण । पशुपतिमा २०१८ सालदेखि रोकिएको नाच २०६६ मा स्थानीयवासीले नै ब्युँताएका थिए । यो वर्ष पनि निरन्तरता दिएको थियो । खर्चको व्यवस्थापन स्थानीय जयबागेश्वरी क्लबले गरेको थियो । ‘देवगण आएर हाम्रो परम्परालाई निरन्तरता दिनुभयो,’ क्लबका अध्यक्ष दिलीप वैद्यले भने, ‘हराएको नाच निरन्तरता दिएर भव्य रूपमा सफल पार्न पाउँदा गौरव लागेको छ ।’

यो वर्षको १२ वर्षे नाच हरिसिद्धि देवगणले हरिसिद्धिको मूल मन्दिर भएको स्थान ललितपुर हरिसिद्धिबाट सुरु गरेका हुन् । महर्जनका अनुसार योमरी पुन्ही, फागु पुन्ही र दसैंमा गरी वर्षमा तीन पटक देखाइन्छ यो नाच । अन्य ठाउँमा भने १२ वर्षमा नचाउन लगिन्छ । ‘जहाँबाट बोलाए त्यहीं नाच्न जाने हो,’ सहायक पुजारी साधुराम महर्जनले भने, ‘तर हरिसिद्धिको डबली र मन्दिर भएकै ठाउँचाहिँ हुनुपर्छ । नभएको ठाउँमा जाँदैनौं ।’

नेपाल र भारतका विभिन्न स्थानमा छन् हरिसिद्धि मन्दिर । ती स्थानैपिच्छे विभिन्न नामले पुकारिने महर्जनले जानकारी दिए । भारतको उज्वैन नगर, द्वारकामा पनि हरिसिद्धि मन्दिर छन् । देवपुराणका अनुसार उज्वैन नगरमा सेतीदेवीको नामले र द्वारकामा वैष्णवी देवीका नामले पुज्ने गरिन्छ । काभ्रेको धुलिखेलमा १९२३ सालमा स्थानीयवासी हीरालाल माकजुले बनाएको हरिसिद्धि मन्दिरमा यो नाच नाच्न देवगण पुग्ने गर्छन् । ललितपुरको क्वालखुमा जोशी खलकले कुल देवताको रूपमा हरिसिद्धि मन्दिर स्थापना गरेका छन् । ललितपुरकै बकनिम्ह पनि हरिसिद्धि मन्दिर छ । यहाँ त्रिशक्तिको नामले पुजिन्छ । यीमध्ये मुख्य मन्दिरचाहिँ हरिसिद्धि नै हो । भवानीको नामबाटै यो ठाउँको नामै हरिसिद्धि रहेको महर्जनले बताए ।

हरिसिद्धि नाचमा देवता पात्रका रूपमा नाच्ने समूह नै देवगण हुन् । देवगण हुने मौलिक परम्परा छ । १२ वर्षमा कुनै देवगणको मृत्यु भएमा देवगण परिवारका जेठो छोरा छानिन्छ । अपांगता वा शरीरमा कुनै खोट भए देवगण हुन योग्य हुँदैनन् । जेठो छोरा अयोग्य भए अन्य छोरा, नातिसमेत छान्ने परम्परा छ । यसरी देवगण हुने परम्परा छ । देवगण छानिएपछि यिनीहरू जीवनभर कपाल काट्दैनन् । देवी नाच्ने समयमा रातो कपडा लगाउँछन् । त्यसबाहेक अघिपछि सधैं सेतै कपडा लगाउने गर्छन् ।

नाच सुरु हुनु साताअघिबाट सबै पुजारी बेलुका मन्दिरमा भेला हुन्छन् । तालिम लिन्छन् । दुई बालकले प्रत्येकको घरमा गएर नियमको उर्दी जारी गर्छन् । ‘उर्दी जारी भएको दिनदेखि नाच समाप्त नभएसम्म कोदालो नचलाउनू, बन्चरो नसमाउनू र सहवास नगर्नू भनेर सम्झाइएको हुन्छ,’ महर्जनले भने, ‘यो पुजारीलाई पुनर्ताजगी गराउने संस्कार हो ।’

नाचको अघिल्लो दिन देवगण नुहाइ–धुवाइ गरेर शुद्ध भएर मन्दिरमा भेला हुन्छन् । देवगणले नै मन्दिरको गजुरदेखि भुइँसम्म चाँदी, फूल र कपडाका पतका फहराउँछन् । कोहीले नाच हुने डबलीमा इला टाँग्छन् । पुजारीबाहेक अन्य गुठियारले पनि पूजा गर्न सजिलो होस् भनेर ‘गोरा’ ठड्याउने गर्छन् । यही दिन स्थानीयवासीले व्छेला–भू मनाउने गर्छन् । नाच हेर्न धुइरिएकाको सुरक्षाको लागि नाच हुने लाछीभन्दा केही पर ठूला–ठूला गोसी (मुढा) बालिएका हुन्छन् ।

जुँगीबाजा, काः बाजा र दमाहा गुन्जिराखेको हुन्छ । ‘बाजाको तालमा नाचेर कथा देखाइन्छ यसमा,’ महर्जनले भने, ‘यो नृत्यमार्फत प्रस्तुत हुने नाटक हो ।’ नाचको प्रारम्भ जोडी नाचबाट हुन्छ । जोडी नाचमा अष्टमातृकाका ४ र राजा विक्रमादित्यको १ गरी ५ वटा जोडी नृत्य हुने महर्जनले जानकारी दिए । यो नृत्यमा सबैले दायाँ हातमा खड्ग र बायाँ हातमा ढाल बोकेका हुन्छन् । दमोखी र भुस्याह बाजाको तालमा नृत्य हुन्छ । एकले अर्कालाई खड्ग ट्वाक ट्वाक हान्ने र त्यसलाई अर्कोले ढालले छेक्ने गर्छन् । दृश्य १ देखि ५ सम्म एकै प्रकारको संगीत र एकै प्रकारको नृत्य हुने महर्जनले जानकारी दिए ।

दृश्य ६ बाट तमन्न ऋषिको भाग हुन्छ । भाग सातमा गुरु वाल्मीकि र शिष्य भारद्वाज, ८ मा बुद्धिसेन, ९ मा हात्ती, सिकुचा, माद्य, धिन्चो माजु, १० मा गणेश, कर्णकेशरी र सुवर्णकेशरी, ११ मा कौमारी र अग्निदेवता, १२ मा तकु तकु, १३ मा राजासिंह र मन्त्री, १४ मा चार राजा र विक्रमादित्य राजाको कथा नृत्यमा देखाइन्छ ।

त्यसैगरी, १५ भागमा मा राम र मारिच राक्षस, १६ मा बाली र तारा, १७ मा बेताल र कुवेर र १८ मा सुग्रवी र ताराको अभिनय हुन्छ । प्रत्येक भागमा बाजाका ताल र देवगणले लगाउने मुकुटको रङ फरक हुन्छ । विक्रम संवत्का प्रवर्तक राजा विक्रमादित्यले सुरु गरेको विश्वास गरिने यो पुरानो र लामो समय नाचिने नाच पनि हो ।

अन्य सहरमा १२ वर्षमा नाच्न गए पनि हरिसिद्धिमा भने प्रत्येक वर्ष योमरी पुन्ही (मंसिर पूर्णिमा) देखि फागु पुन्हीसम्म तीन महिना नचाइने चलन भएको महर्जनले बताए । अहिले भने तीन दिन मात्र मनाउन थालिएको छ । ‘तीन महिनासम्म नाचिराख्दा दैनिक कामकाजमा बाधा पर्‍यो, महर्जनले भने, ‘त्यही भएर यसलाई छोट्याइयो ।’

प्रकाशित : चैत्र २८, २०७८ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्

सल्यानमा जिप दुर्घटना, ७ जना घाइते

विप्लव महर्जन

सल्यान — सल्यानमा सोमबार बिहान जिप दुर्घटनामा परेको छ । नेपालगन्जबाट सुत्केरी बोकेर बाग्चौर नगरपालिकाको थारमारे जाँदै गरेको सु.प.प्र ०१–००१ च ३२५८ नम्बरको जिप छत्रेस्वरी गाउँपालिका ६ चैबाँज्युला नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी एकै परिवारका ६ जना र चालकसहित सात जना घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको छ । घाइते हुनेमा बाग्चौर १० निवासी ४५ वर्षीय लिलमान बस्नेत, २९ वर्षीया सरिता बस्नेत, २५ वर्षीया सिर्जना बस्नेत, ५ वर्षीया प्रकृति बस्नेत र ७ दिने शिशु लगायत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रनि अर्जुन पौडलेका अनुसार दुर्घटनामा परेर घाइते भएका सबैको अवस्था सामान्य छ । सात दिने शिशुको भने श्रीनगरस्थित परोपकार अस्पतालमा उपचार भइरहेको छ ।

जिप अनियन्त्रित भएर दुर्घटनामा परेको र सडकदेखि पाँच मिटर तल शारदा नदीमा किनारमा खसेको थियो । गाडी चालक कपुरकोट गाउँपालिका–४ गाडापानी निवासी जगतकुमार थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रनि पौडेलको भनाइ छ ।


प्रकाशित : चैत्र २८, २०७८ ०८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×