मुद्दा नटुंगिँदै खुल्यो काष्ठमण्डप

दामोदर न्यौपाने

काठमाडौँ — सर्वोच्च अदालतमा दायर रिट निवेदन किनारा नलाग्दै राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपको उद्घाटन गरेकी छन् । अन्तरिम आदेश कायम रहेको र सत्तलमा पुरानै मूर्ति पुनःस्थापना गर्नुपर्ने माग राख्दै सम्पदा र संस्कृतीप्रेमीले विरोध गरिरहेका भए पनि सोमबार राष्ट्रपतिले काष्ठमण्डपको उद्घाटन गरेकी हुन् । उद्घाटनलगत्तै काष्ठमण्डप सर्वसाधारणका लागि समेत खुला गरिएको छ ।

मुद्दा नटुंगिँदै खुल्यो काष्ठमण्डप

२०७२ साल वैशाख १२ को भुइँचालोले काष्ठमण्डप (मरु सत्तल) जगैसम्म भत्किएको थियो । काष्ठमण्डपको पूर्वतर्फको गेटमा दियो बालेर राष्ट्रपति भण्डारीले सर्वसाधारणका लागि खुला भएको घोषणा गरिन् । यो धरोहर मौलिक र आकर्षक शैलीमा पुनर्निर्माण हुनु राष्ट्रकै लागि गौरवको विषय भएको बताउँदै उनले भनिन्, ‘भुइँचालोले बस्ती मात्र नभई सांस्कृतिक सम्पदा पनि नष्ट गरेको थियो । हामी एकआपसमा मिलेर निर्माण गर्न सक्छौं भनेर संकल्प गरेका थियौं । पूरा गर्‍यौं ।’

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले विवादमा रहेको सत्तलको मूर्तिलाई नछोईकन काष्ठमण्डपको मात्र उद्घाटन गरिएको बताए । ‘मूर्तिको विवाद सर्वोच्च अदालतमा छ । अदालतले जे आदेश दिन्छ त्यहीअनुसार मूर्ति राख्छौं,’ मेयर शाक्यले भने, ‘विवाद भएको विषयमा बोलेका छैनौं ।’

उद्घाटनलगत्तै काष्ठमण्डप पुनर्निर्माण समितिले सोमबारै काष्ठमण्डप काठमाडौं महानगरपालिकाका हस्तान्तरण गरेको छ । समितिका अध्यक्ष राजेश शाक्यले मेयर शाक्यलाई काष्ठमण्डपको साँचो हस्तान्तरण गरेका थिए । काठमाडौं महानगरको अनुदानमा पुनर्निर्माण समितिले ११ करोड ५० लाख रुपैयाँ खर्चेर पुनर्निर्माण सकेको हो ।

पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले २०७२ को भूकम्पले क्षति पुर्‍याउनुअघि काष्ठमण्डपको जीर्णोद्धार २०२३ सालतिर भएको बताए । काष्ठमण्डपको मुख्य टेको भनेकै यसको थाम हो । चारवटा थाम उठाएर बनाइएको छ । यो थाममा २०२३ सालमा गल्ती गर्दा जगैदेखि भत्किएको योजनाकार तथा वास्तुविद् काइवाई जेले बताए । थामको चुकुल ढुंगामा खोपिएको प्वालमा छिराएर अड्याइन्छ । जीर्णोद्धार गर्दा एउटा थामको चाहिंँ चुकुल ढुंगामा अड्याइएको रहेनछ । ‘त्यही एउटा थाममा त्रुटि भएकाले काष्ठमण्डप जगैदेखि भत्कियो,’ योजनाकार तथा वास्तुविद् काई वाइजेले भने, ‘किन भत्कियो भनेर हामीले अध्ययन नै गरेका छैनौं । जीर्णोद्धार गर्दा कतै आधुनिक सामग्री प्रयोग गरियो । त्यही भएर पनि भत्किए । गलत निर्माणको कारण सम्पदा भत्किए । काष्ठमण्डपमा पनि भएको यही हो ।’ वास्तुकलाविद् काइवाइ जेका अनुसार काष्ठमण्डप १९९० सालको भुइँचालोमा समेत भत्किएको थिएन ।

प्रकाशित : चैत्र २२, २०७८ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?