१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
सामूहिक विष सेवन घटना

घाइतेको उपचार खर्च जुटाउनै सकस

एकै परिवारका ५ जनाले विष सेवन गरेकामा एकको मृत्यु, अन्यको चन्दा उठाएर उपचार गरिँदै
लिला श्रेष्ठ

सामूहिक विष सेवन गरी आत्महत्याको प्रयास गर्ने नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा एकै परिवारका ४ सदस्यको उपचार खर्च जुटाउन आफन्तलाई सकस परेको छ । सोमबार राति परिवारका ५ जनाले विष सेवन गरेकामा एकको सोही दिन मृत्यु भएको थियो ।

डल्लु स्थायी घर भई डाँडापौवामा डेरामा बस्ने ३८ वर्षीय भीममान प्रधान, उनकी ६२ वर्षीया आमा इन्द्रमाया प्रधान, ३५ वर्षीया श्रीमती मन्दिरा प्रधान (डंगोल) र ११ वर्षीया छोरी सुव्रिना प्रधान मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भूको भेन्टिलेटरमा उपचाररत छन् । उनीहरुसँगै विष सेवन गरेका ३३ वर्षीय भतिज सुवर्णमान प्रधानको भने मृत्यु भइसकेको छ । इन्द्रमायाकी भदैनी बुहारी स्मृति श्रेष्ठका अनुसार भीममान र मन्दिराको स्वास्थ्यमा सुधार आएको छ । मन्दिराको होस आइसकेको र प्रतिक्रिया दिन सक्ने अवस्थामा रहेको उनले जानकारी दिइन् । इन्द्रमाया र सुव्रिनाको स्वास्थ्य अवस्था भने उस्तै रहेको उनले बताइन् । ‘करिब ५ लाख रुपैयाँ खर्च भइसक्यो, अझै कति दिन अस्पताल राख्नुपर्छ थाहा छैन,’ उनले भनिन्, ‘आफन्तहरूले चन्दा उठाएर औषधि किनिरहेका छौं, अस्पतालबाहिरबाट समेत औषधि ल्याइरहेकाले रकम अभाव भएको छ ।’

अस्पतालकी मेडिकल अधिकृत डा. सुलोचन लोहनीले व्यक्तिगत रूपमा सहयोग गरेकै कारण उनीहरूको स्वास्थ्यमा सुधार आइरहेको र उपचार सम्भव भएको स्मृतिले बताइन् । ‘हामी आफन्तले आश मारिसकेका थियौं,’ उनले भनिन्, ‘डा. सुलोचनकै सहयोग र भरोसामा उपचार सम्भव भएको छ । तर, सबै जनाको स्वास्थ्यमा आशालाग्दो किसिमले सुधार भएको छैन ।’ मन्दिराका माइतीतर्फका आफन्त सम्पर्कमा नआएको बताइएको छ ।

निरन्तरको असफलता, परिवारका सदस्य सबै बिरामी, जागिरबाट समेत निकालिएको तथा गरिबीलगायतका कारण उल्लेख गर्दै औंठाछापसहितको ‘सुसाइड नोट’ लेखेर परिवारले नै विषादी सेवन गरी आत्महत्याको प्रयास गरेका थिए । भीममानको कोठामा भेटिएको सुसाइड नोटमा उनले आफू ‘दुनियाँदेखि नै दुःखी र पीडित’ भएको उल्लेख गरेका छन् । ‘दुनियाँदेखि म सारै दुःखी र पीडित छु,’ नोटमा उनले लेखेका छन् । आफूले ५/६ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको समेत नोटमा खुलाएका छन् । इन्द्रमाया क्यान्सर रोगी, सुवर्णमान छारे रोग तथा डिप्रेसनका रोगी भएको तथा आर्थिक अवस्थासमेत नाजुक रहेको उल्लेख छ । श्रीमती मन्दिरा ब्रिटिस गोर्खाली सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको बजार प्रतिनिधिका रूपमा कार्यरत थिइन् । उनले उक्त संस्थाका सदस्यहरूबाट बचतका लागि दैनिक रूपमा संकलन गरेको रकम संस्थामा जम्मा नगरी हिनामिना तथा पासबुकसमेत बेपत्ता पारेको भन्दै गत माघ १६ मा सञ्चालक समितिको निर्णयबाटै निष्काशन गरेको सूचना राष्ट्रिय दैनिक पत्रिकामै प्रकाशित भएको थियो । उक्त सहकारीले १२ जना सदस्यबाट संकलन गरेको ६ लाख ६४ हजार २ सय ५० रुपैयाँ हिनामिना गरेको र पासबुकसमेत बेपत्ता पारिएको भन्दै प्रहरीमा उजुरीसमेत दिएको देखिन्छ । सोही उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाले शुक्रबार मन्दिरालाई छलफलका लागि बोलाएको र आपसी सहमतिमै बोलाइएको समयमा उपस्थित हुने गरी जेठाजु कुमार प्रधानको जिम्मामा प्रहरीले उनलाई छोडेको थियो ।

सोही साँझ सुसाइड नोट लेखेर योजनाबद्ध रूपमै परिवारले नै विष सेवन गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ । उक्त सुसाइड नोटमा सहकारीले मानसिक यातना दिएको र संस्थाका ५/६ जना कर्मचारीको परिचय र मोबाइल नम्बर पनि उल्लेख छ । सुसाइड नोटमा भीममान र मन्दिराले हस्ताक्षर गरेका छन् भने अन्यको औंठाछाप छ । सुसाइट नोटको सम्बन्धमा प्रहरीले परीक्षणपछि मात्र यकिन हुने जनाएको छ । सुसाइड नोट भीममान र मन्दिरा दुवैको सल्लाहमा लेखिएको आकलन प्रहरीले गरेको छ । ‘डल्लुस्थित भीममानको घर केही वर्षअघि नै लिलामीमा परेको र आफ्नै घरमा भाडा तिरेर बसिरहेका थिए,’ उनका मामा कृष्णकाजी श्रेष्ठले भने, ‘चार महिनादेखि उनीहरू डाँडापौवा बस्दै आएका थिए । उनीहरूले व्यावसायिक रुपमा तरकारी खेतीको योजना पनि बनाएका थियो ।’ कुकुर पाल्न सोखिन भीममानले कुकुरका बच्चा हुर्काएर बेच्ने गरेको समेत कृष्णकाजीले बताए ।

सामूहिक विष सेवन गरी अस्पतालमा उपचाररत भीममानको परिवारलाई सहयोग गर्न नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, वाग्मती प्रदेश प्रमुख राजेन्द्र पाण्डे, माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले प्रतिबद्धता जनाएका इन्द्रमायाले जानकारी दिए । ‘अस्पतालबाट डिस्चार्ज भएपछि भीममानलाई जागिर दिने, छोरी सुव्रिनालाई पढाउने प्रतिबद्धता अनुराधा कोइरालाले दिनुभएको छ,’ उनले थपे । उपचार खर्च जुटाउन सकस परिरहेकाले सहयोग गरिदिन उनले सबैलाई आग्रहसमेत गरे ।

प्रकाशित : फाल्गुन २७, २०७८ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?