मेडिकल परीक्षामा संलग्न भारतीय नक्कली परीक्षार्थी पक्राउ- उपत्यका - कान्तिपुर समाचार

मेडिकल परीक्षामा संलग्न भारतीय नक्कली परीक्षार्थी पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — चिकित्सा शिक्षा आयोगद्वारा शनिबार संचालित एमडी/एमएस प्रवेश परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले भारतीय नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

भारतको उत्तर प्रदेश गोण्डाका ३० वर्षीय जितेन्द्र कुमार मिश्रासहित बिचौलियाको रुपमा उनका सहयोगी भारतको बिहार सिक्टाका ३४ वर्षीय शशि भूषण सिंह र परीक्षामा अमर्यादित कार्यमा संलग्नको अभियोगमा भारतको बिहारस्थित खगरियाका ३२ वर्षीय कृष्ण मुरारीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मिश्रा नक्कली परीक्षार्थी हुन् । प्रहरीले मिश्रा र भुषणलाई काठमाडौं महानगरपालिका–८ एलआरआई स्कुल कलंकीबाट र मुरारीलाई नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान सानोभर्‍याङबाट पक्राउ गरेको ब्यूरोले जनाएको छ । पक्राउ परेका तीन जना विरुद्ध शिक्षा ऐन, २०२८ बमोजिम कानुनी कारबाही हुने जनाएको छ ।

प्रकाशित : माघ ९, २०७८ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्

नोबेल कलेजविरुद्धको आन्दोलन रोक्न विद्यार्थी संगठनलाई प्रशासनको निर्देशन

देवनारायण साह

मोरङ — नोबेल मेडिकल कलेज विराटनगरले एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी संगठनहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार पत्राचार गरेर आन्दोलन स्थगित गर्न निर्देशन दिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कोरोनाको ओमिक्रोन भेरिएन्ट समुदायस्तरमा फैलिसकेको अवस्थामा आन्दोलन गर्दा संक्रमण फैलिने जोखिम बढेकाले स्थगित गर्न निर्देशन दिएको हो ।

प्रजिअ दाहालले पठाएको पत्रमा नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्कको विषयमा अनुसन्धान गरी कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढिसकेकोले पनि आन्दोलनको औचित्य नभएको भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले एक साताभित्र अनुसन्धान गरेर विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको पाइए कलेज सञ्चालकलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार आन्दोलनरत विद्यार्थी संगठनहरूसँग छलफल गरेर जिल्ला प्रहरी कार्यालयलाई अतिरिक्त शुल्क असुलेको विषयमा छानबिन गरी कारबाहीको दायरामा ल्याउने निर्णय गरी पत्राचार गरेको थियो ।

जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले एक साताभित्र अनुसन्धान गरेर अतिरिक्त असुली लिएको पाइए कारबाहीको दायरामा ल्याउने बताए । कलेज प्रशासनले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा विपरीत पठनपाठन सुरु नै नगरी चार लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीदेखि जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएर मंसिर १९ गतेदेखि न्यायका लागि संघर्ष गर्दै आएका छन् ।

पीडित विद्यार्थीहरूको आन्दोलनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठन अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन मोरङ र चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियान समर्थन जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाएको भन्दै पुस १४ गतेदेखि पठनपाठनमा रोक लगाएको छ । पठनपाठनमा रोक लगाएपछि विद्यार्थी संगठनको सहयोगमा पीडित विद्यार्थीहरूले कलेज प्रशासनमा पुस २१ गते तालाबन्दी गरेर रिले अनसन बस्दैआएका छन् ।

चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क बाहेकको काठमाडौं विश्वविद्यालयको रजिष्ट्रेशन शुल्क २५ हजार, एफिलिएसन शुल्क ९८ हजार ५७९, परीक्षा शुल्क ११ हजार र नेपाल मेडिकल काउन्सिल रजिष्ट्रेशन शुल्क वापत ५ हजार र एक वर्षको होस्टेल शुल्क १ लाख २३ हजार कलेजले असुलिरहेको पीडित विद्यार्थीहरूले बताए ।

उक्त शुल्क विद्यार्थीहरूलाई आफैं विश्वविद्यालयको नेपाल बैंक लिमिटेल र इन्भेष्टमेन्ट बैंक र काउन्सिलको एसबीआई बैंकको खातामा र होस्टेल शुल्क कलेजको बैंक खातामा जम्मा गर्न लगाएको हो ।

आन्दोलनरत विद्यार्थी संगठनहरूले तोकेभन्दा एक रुपैयाँ पनि बढी विद्यार्थीसँग असुल्न नपाउने र छात्रावास ऐच्छिक हुनुपर्ने माग गर्दै आए पनि कलेजले विद्यार्थीका अभिभावकलाई डर, त्रास देखाएर उक्त शुल्क असुलेर विद्यार्थी भर्ना गराइरहेको गुनासो आउने गरेको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि कुल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

प्रकाशित : माघ ९, २०७८ २१:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×