उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू- उपत्यका - कान्तिपुर समाचार

उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू

रासस

काठमाडौँ — कोभिड–१९ संक्रमण तीव्र भएपछि त्यसलाई रोक्न काठमाडौं उपत्यकामा आज बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

स्थानीय प्रशासन (काठमाडौं, ललितपुर र भक्तपुर)को संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो । काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने गरी उक्त प्रणाली लागू गरिएको हो ।

प्रशासनले सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी स्यानिटाइजरको व्यवस्था गर्न आदेश दिएको छ ।

यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालोमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने आदेशमा भनिएको छ । उक्त आदेश कार्यान्वयनका लागि आज बिहानैदेखि सुरक्षाकर्मीलाई ठाउँठाउँमा परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जोरबिजोर प्रणाली लागू नहुने सवारी साधन

आदेशानुसार अत्यावश्यक सेवामा प्रयोग हुने र तोकिएका सवारीलाई भने जोरबिजोर प्रणाली लागू हुने छैन । आदेशमा औषधि एवं स्वास्थ्य सामग्री बोकेका, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने छैन ।

खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपन्छी, दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधन पनि निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ । यस्तै निर्माण सामग्री बोक्ने सवारी साधन (चालक सहचालक मात्र) सञ्चालन गर्न पाइने छ ।

परिचयपत्रका आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ । यस्तै सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी र कूटनीतिक नियोगका सवारी साधन सञ्चालन गर्न पाइने काठमाडौंका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलद्वारा जारी आदेशमा उल्लेख छ ।

प्रकाशित : माघ ८, २०७८ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्

चेपाङ बस्तीमा एकै दिन हजार बढीलाई खोप

कान्तिपुर संवाददाता

मकवानपुर — मकवानपुरको चेपाङ बाहुल्य राक्सिराङ र कैलाश गाउँपालिकामा शुक्रबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको छ । अभियानको पहिलो दिनमै एक हजारभन्दा धेरैले खोप लगाएका छन् ।

राक्सिराङका ४ वडामा खटिएको स्वास्थ्यकर्मीको १० वटा टोलीले कुल ५ सय ८७ जनालाई खोप लगाएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले बताए । उनका अनुसार हालसम्म गाउँपालिकाका ४० प्रतिशत स्थानीयले पहिलो मात्रा र २७ प्रतिशतले मात्र दोस्रो मात्रा खोप लगाएका छन् । स्थानीय खोप लगाउन स्वास्थ्यचौकीमा नआएकाले अहिले घरदैलो गर्दै खोप अभियान सञ्चालन गरिएको हो ।

यसैगरी, कैलाशका ८ स्थानमा ४ सय ५२ जनालाई खोप लगाइएको छ । जसमध्ये पहिलो मात्रा लगाउनेको संख्या २ सय ८९ र दोस्रो मात्रा लगाउनेको संख्या १ सय ६३ रहेको स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर महतोले बताए । अभियान एक साताभरि सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

‘घरघरमै गएर खोप लगाउने लक्ष्य लिएका छौं,’ राक्सिराङ अध्यक्ष राजकुमार मल्लले भने । माघ १५ सम्म खोप नलगाउने स्थानीयलाई कुनै पनि सेवासुविधा उपलब्ध नगराउने निर्णय दुवै पालिकाले गरेका छन् ।

प्रकाशित : माघ ८, २०७८ ०८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×