पर्यटन बोर्डलाई अमेरिकी दूतावासको सम्मान 

काठमाडौँ — कोभिड–१९ संक्रमणको पहिलो चरणमा नेपालमा लगाइएको लकडाउनमा अलपत्र परेका आफ्नो देशका नागरिकहरुको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै अमेरिकी दूतावासले नेपाल पर्यटन बोर्डलाई सम्मान गरेको छ । 

पर्यटन बोर्डलाई अमेरिकी दूतावासको सम्मान 

काठमाडौंस्थित दूतावासको टाउन हलमा आयोजित भर्चुअल कार्यक्रममा बुधबार दूतावासले बोर्डलाई सम्मान गरेको सिइओ धनञ्जय रेग्मीले बताए । ०७६ चैतमा सरकारले लगाएको लडाउनको कठिन समयमा बोर्डले नेपालमा अलपत्र परेका अमेरिकी नागरिकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेकोमा सम्मान प्रदान गरेको हो । ‘त्यो कार्यको अमेरिकी जनता र दूतावासले उच्च मूल्यांकन गरेको उल्लेख गर्दै बोर्डलाई सम्मान प्रदान गरिएको हो,’ बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा राजदूत र्‍यान्डी बेरीले नेपाल र अमेरिकाबीच लामो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको आर्थिक सामाजिक विकासमा अमेरिकाले सधै सहयोग गर्ने बताएका थिए ।

यस्तै अमेरिकन सिटिजन सर्भिसका चिफ डेमार्क स्चुल्जले कोभिड १९ को समयमा बोर्डले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताउँदै त्यसका लागि अमेरिकन नागरिकको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

सन् २०१९ बाट विश्वव्यापी रुपमा सुरु भएको कोभिड–१९ ले नेपालमा सन् २०२०–२०२१ मा बढी प्रभाव पारेको समयमा नेपाल पर्यटन बोर्डले स्ट्रयान्डेड इन नेपाल अन लाइन अभियान सञ्चालन गरी नेपालका विभिन्न ३३ वटा गन्तव्यमा अलपत्र परेका १ हजार ७ सय २१ जना विदेशी पर्यटकलाई उद्धार गर्ने अभियानको संयोजन गरेको थियो ।

बोर्डले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी),जिल्ला प्रशासन कार्यालय, पर्यटक प्रहरी, स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुको समन्वयमा करिब ५ हजार विदेशी पर्यटकलाई स्वदेश पठाउन मद्दत गरेको थियो ।

बोर्डलाई यसअघि विदेशी पर्यटकहरूको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै लन्डनमा आयोजित वर्ल्ड ट्राभल मार्ट (डब्लूटिएम) मा ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्डसमेत प्रदान गरिएको थियो ।


प्रकाशित : माघ ७, २०७८ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?