कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

केयूले ल्यायो ‘मास्टर्स इन बिजनेस एन्ड इकोनोमिक्स’

काठमाडौँ — काठमाडौं विश्वविद्यालयले ‘मास्टर्स इन बिजनेस एन्ड इकोनोमिक्स’ विषयको पठनपाठन सुरु गरेको छ । विश्वका चर्चित हार्वर्ड, सिकागो, मिसिगन युनिभर्सिटीमा पठनपाठन हुँदै आएको विषय नेपालमा पहिलो पटक लागू गर्न लागेको जनाइएको छ । केयूले २०५० सालयता स्नातकोत्तर तहमा एमबीए, ईएमबीए र एमपीपीएम विषय पठनपाठन गर्दै आएको छ ।

केयूले ल्यायो ‘मास्टर्स इन बिजनेस एन्ड इकोनोमिक्स’

‘यस कार्यक्रमको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय जगतमा अर्थशास्त्र विधामा भएका नवीन खोज तथा अनुसन्धानलाई व्यवस्थापन शिक्षासँग समायोजन गरी भविष्यमा मुलुकलाई चाहिने बिजनेस इकोनोमिक्सका विज्ञहरूको उत्पादन गर्नु हो,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा केयू स्कुल अफ म्यानेजमेन्टका प्राध्यापक अच्युत वाग्लेले भने, ‘हाम्रा विश्वविद्यालयमा अहिलेसम्म बिजनेस र इकोनोमिक्स विषय फरक–फरक विषयका रूपमा पढाइन्थ्यो । अन्तर्राष्ट्रियस्तरमा गुणात्मक अनुसन्धान निम्ति यो कोर्स कामयाबी छ ।’

देशको नीतिगत तहमा अध्ययन अनुसन्धान गर्न आवश्यक जनशक्ति उत्पादनमा लक्षित गरिएको वाग्लेले बताए । दुईवर्षे अर्थात् चार सेमेस्टरको कार्यक्रम ६६ क्रेडिटको छ । अर्थशास्त्र, व्यवस्थापन, विज्ञान र इन्जिनियरिङमा स्नातक गरेकाले पढ्न पाउने जनाइएको छ ।

केयू स्कुल अफ म्यानेजमेन्टका डिन प्रा. देवीप्रसाद बिडारीले बृहत् रूपमा छरिएको विषयलाई एउटै बनाइएको बताए । ‘अहिले केयूले मात्र सञ्चालन गर्दै छ र यदि अन्य विश्वविद्यालय तथा क्याम्पसले आवश्यक ठानेमा सञ्चालन अनुमति दिइनेछ,’ सामाजिक उत्तरदायित्वसहितको विषय रहेको उनले जनाए । कोर्सबारे विषयविज्ञ दीपेश कार्कीले चर्चा गरेका थिए ।

प्रकाशित : माघ ४, २०७८ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?