बन्दी बनाएको आरोपमा ३ पक्राउ

काठमाडौँ — वैदेशिक रोजगारीका लागि दुबई गएर फर्किएका सिरहा सखुवानन्कारकट्टी–५ का ३० वर्षीय रामेश्वर रामलाई बन्धक बनाई यातना दिएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८ का २१ वर्षीय संजोग राई, ३० वर्षीय रमेश अर्याल र काठमाडौं महानगर–१६ वसन्तनगरमा होटल व्यवसाय गर्ने मकवानपुरको मकवानपुरगढी–५ का ३१ वर्षीय गोकुल घिमिरे छन् ।

दुबईबाट गत असोज ८ मा फर्केर बल्खुस्थित होटल कन्चनजंघामा बसेका रामलाई उनीहरुले अपहरण गरी काठमाडौंको ज्याठास्थित होटल प्लेजर होममा लगेर बन्धक बनाई मार्ने यातना दिएर झोला, मोबाइललगायतका सामान लुटेको प्रहरीले जनाएको छ । दुई दिनपछि होटलबाट भाग्न सफल भएका रामले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा राई र अर्याललाई पुस ३० र घिमिरेलाई आइतबार पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । तीनै जनाविरुद्ध कारबाही अघि बढाउन प्रहरीले जिल्ला अदालतबाट ७ दिने अनुसन्धान म्याद लिएको छ ।


प्रकाशित : माघ ४, २०७८ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?