ललितपुर र काठमाडौंमा कहाँ लगाउने बुस्टर खोप ?- उपत्यका - कान्तिपुर समाचार

ललितपुर र काठमाडौंमा कहाँ लगाउने बुस्टर खोप ?

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकाको ललितपुर महानगरपालिकाका ८ र काठमाडौं महानगरपालिकाका १९ स्थानबाट कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सुरु गरिएको छ ।

माघ ४ गतेदेखि माघ ६ गतेसम्म ललितपुर महानगरपालिकाभित्रका अस्पतालहरूबाट अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक फोहोर संकलन सरसफाइकर्मी लगायत फ्रन्टलाइनमा खटिनेहरूलाई बुस्टर डोज दिन थालिएको हो ।

खोप बिहान १० बजेदेखि ४ बजेसम्म दिइने सूचनामा उल्लेख छ । त्यस्तै काठमाडौंका पनि विभिन्न १९ स्थानबाट बुस्टर डोज दिइँदै छ । बुस्टर डोज खोप लगाउनका लागि यसअघि लगाएको खोपको कार्ड पनि साथमै लिएर जानुपर्ने छ ।

ललितपुर महानगरमा बुस्टर डोजका लागि तोकिएका केन्द्रहरू:
१. सर्वांग अस्पताल,कामदेवस्थान

२. स्टार अस्पताल, सानेपा

३. सुमेरु सिटि अस्पताल, पुल्चोक

४. अल्का अस्पताल, खरिबोट

५. निदान अस्पताल, पुल्चोक

६. बि एण्ड बि अस्पताल, ग्वार्को

७. मेडिसिटी अस्पताल, नख्खु

८. सुमेरु अस्पताल, धापाखेल

काठमाडौंमा बुस्टर डोजका लागि तोकिएका केन्द्रहरू:
१. सशस्त्र प्रहरी बल अस्पताल‚ बलम्बु

२. सहिद मेमोरियल अस्पताल‚ कलंकी

३. वीरेन्द्र सैनिक अस्पताल‚ छाउनी

४. लोट्से भवन‚ नयाँ बसपार्क

५. नेपाल प्रहरी अस्पताल‚ महाराजगन्ज

६. त्रिवि शिक्षण अस्पताल

७. वीर अस्पताल

८. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल‚ टेकु

९. बयोधा अस्पताल‚ बल्खु

१०. प्रसूति तथा स्त्रीरोग अस्पताल‚ थापाथली

११. निजामती अस्पताल‚ नयाँ बानेश्वर

१२. एपेक्स पोलिक्लिनक‚ जडिबुटी

१३. काठमाडौं मोडल अस्पताल‚ प्रदर्शनीमार्ग

१४. पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल‚ सामाखुसी

१५. जनमैत्री अस्पताल‚ बालाजु

१६. नर्भिक अस्पताल‚ थापाथली

१७. शुभेच्छा अस्पताल‚ सीतापाइला

१८. नोबेल अस्पताल‚ सिनामंगल

१९. ग्रान्डी अस्पताल

प्रकाशित : माघ ४, २०७८ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्

बास खोज्दै पहिरोपीडित

केदार सिवाकोटी

दोलखा — पहिराले घर तान्न लागेपछि सुनिता पाण्डलेलाई बास खाज्दै कहाँ जाने भन्ने पिरलो छ । कालिञ्चोक गाउँपालिका—५ रानीवनकी उनी चैतसम्ममा कतै बासको व्यवस्था गर्ने तयारी थालेकी हुन् । रानीवनको पहिरो वर्षामा सबैको आँखामा पर्ने तर हिउँदमा रोकथामका लागि पहल नहुँदा उनीजस्तै अधिकांशले बास व्यवस्थापनको तयारी थालेका हुन् ।

२०७६ साल असार पहिलो साता रानीवनमा सुरु भएको पहिरो अझै रोकिएको छैन् । पहिलो वर्ष ९ घर पहिराले पुरिएर विस्थापित भएका थिए । गतवर्ष २४ घर पहिराले क्षतिग्रस्त भए । ९० भन्दा बढी परिवार सुकुम्बासी भएका छन् । पहिराले घर तानेर चर्किएको घरमा हिउँदमा आश्रय लिइरहेको पाण्डले बताइन् । ‘पहिरोले चर्किएकै घरमा बसेकी छु,’ उनले भनिन्, ‘यो वर्ष मेरो घरजग्गा पनि पहिरोमा पुरिन्छ, अहिलेदेखि नै बासको खोजीमा छु ।’ रानीवनको पहिरो धेरैलाई फोटो खिचेर रमिता हेर्ने थलो वनेकोमा उनले चित्तसमेत दुखाइन् ।

‘वर्षा लाग्ने बेलामा पहिरोले उग्र रूप लिन्छ,’ उनले भनिन्, ‘नेतादेखि सबै संघसस्था फोटो खिच्न र रमिता हेर्न आउँछन् तर पहिरो नियन्त्रणमा कसैले चासो दिँदैनन् ।’ आफ्नो घर पहिराले तानिसके पनि अन्यको घर जोगाइदिन उनले बिन्तीसमेत गरिन् । रानीवनको मुख्य बजार क्षेत्रका घर पहिराले पुरिसकेको छ । बजारक्षेत्रमा चर्किएका अब ५/६ घर मात्रै बाँकी छन् । यो बजारमा २० भन्दा बढी घर थिए । वडा कार्यालयकै छेउमा घर भएका रत्नबहादुर खड्काका घरहरू पहिरोले ताने भासिएका छन् ।

हिउँदमा यही घरमा बसे पनि वर्षाका लागि गोठ हाल्ने तयारीमा जग्गा खोज्दै भौंतारिएका छन् । ‘घट्टे खोलाले घर तानिसक्यो, भएको सम्पत्ति यही नै हो,’ खड्काले भने ‘खोलाको छेउमा तारजाली हालेर बहाव रोकिन्छ कि भनेर धाए कसैले वास्ता गरेनन् ।’ रानीवनको पहिरो धेरैलाई फोटो खिचेर रमिता हेर्ने थलो वनेको उनले गुनासो गरे । ‘दुवैतिरबाट पहिराले घेरिएका छौं, हाम्रो पीडा धेरैलाई फोटो खिचेर रमिता हेर्ने ठाउँ बन्यो,’ उनले भने ‘वर्षार्मा सुरक्षित बासको कुरा उठ्छ हिउँद लागेपछि सबैले बिर्सन्छन् ।’ समयमा पहिरो नियन्त्रण नगरिए ४ सयभन्दा बढी परिवार विस्थापित भएर सुकुम्बासी हुने उनले बताए ।

घट्टे खोलाले गहिरो कटान गरेर बस्ती नै पहिरोको उच्च जोखिममा परेको छ । सयौं रोपनी खेत पहिरोले बगाएको छ । वर्षार्मा दिनभरि पहिरो हेरेर दिन कटाउने स्थानीय रात परेपछि गाउँ छोडेर जंगलतर्फ जाने गरेका छन् । रानीवनका पहिरो पीडितको वर्षामा ४ महिना जंगल, विद्यालयलगायतमा बास हुने गरेको छ । माथिल्लो क्षेत्रका पहिरो पीडित हिउँदमा ६ महिना थातथलोमै बसे पनि बाँकी ६ महिना जंगलमा गोठ बनाएर बस्ने गरेका छन् ।

माथिल्लो क्षेत्रबाटै ठूलो पहिरो गएकाले गाउँ नै वर्षामा विस्थापित हुने गरेको छ । पहिरो गरिखाने बारीसमेत बगरमा परिणत भएपछि रामकुमार थामी यो वर्षर् चैतबाट जंगल नजिकैको चौरमा गोठ बनाउने सोचमा पुगेका छन् । भएको घर पहिराले तानिसकेको उनले बताए । छिमेकीका ९ वटा घर पहिराले परिएर पारि टहरो बनाएर बसेका छन्,’ उनले भने, ‘यो वर्ष मेरो पनि घर रहँदैन ।’ सरकारले वर्षामा आएर राहतका नाममा चामल बाँड्न बन्द गरेर बासको टुंगो लगाइदिन आग्रह गरे ।

‘पहिरोले जग्गा खाएर सुकम्बासी भइसक्यौं, घर पनि पहिराले खाने भयो,’ उनले भने, ‘अभिभावक भनेको सरकारको हो तर हेरेन हामी टुहुरा भयौं ।’ प्रदेश सरकारले तत्काल दिने भनेको २५ हजार राहतसमेत अहिलेसम्म पहिरो पीडितले पाएका छैनन् । गएको साउन २२ गते तामझामका साथ वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेत र आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले स्थलगत अनुगमन गरेका थिए । पहिरो पीडितलाई तत्काल अस्थायी आवासका लागि २५ हजार दिने बताएका थिए । तर उक्त रकम अझै पनि पीडितले पाएका छैनन् ।

रानीवनको पहिरोले ९० भन्दा बढी परिवार सुकुम्बासी बनिसकेको वडा अध्यक्ष सुवास थामीले बताए । उनले प्रदेश सरकारका सबैजसो मन्त्री आएर हेरर गए तर कतैबाट पनि सहयोग नपाएको गुनासो गरे । ‘पहिरो रोकथामका लागि रोई कराई गर्‍यौं तर कतैबाट सहयोग पाएनौं,’ उनले भने, ‘यो वर्ष कति क्षति हुने आंकलन गर्न गाह्रो छ ।’

रानीवनको पहिरो अनियन्त्रित भइसकेकाले कम्तीमा ४ सय परिवार सुकुम्बासी हुने उनले बताए । सबै क्षेत्रमा पहिरो नियन्त्रण गर्न नसकिए पनि घट्टे खोला पारि माथिल्लो क्षेत्रका बासिन्दालाई तार जाली हालेर भए पनि जोगाउन सकिने उनले भने । तर स्थानीय तहसँग ठूलो मात्रामा तारजाली हाल्ने रकमसमेत नभएका विवश भएर घर पहिरोमा पुरिएको हेरेर बस्नुपर्ने बाध्यता छ ।

प्रकाशित : माघ ४, २०७८ १२:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×