जाडो बिर्साउन चर्खाको सहारा

ललितपुरको खोकनामा मात्रै ५० जनाभन्दा बढी महिलाले ऊनबाट धागो निकाल्ने काम गर्छन् । उनीहरुले बनाएको धागो गलैंचा बुन्न प्रयोग गरिन्छ । 
सीमा तामाङ

काठमाडौँ — घरको मूलढोकाअघि एक हातमा चर्खा घुमाउने ‘डन्डी’, अर्को हातमा ऊनको लच्छा । चर्खा घुमाउँदै धागो कात्दै थिइन्, ६५ वर्षीया रत्नमाया महर्जन । जाडो महिना सुरु भएसँगै खेतीपातीको काम सकेर ललितपुरको खोकनास्थित गाँबु टोलका महिला ऊनबाट धागो कात्न व्यस्त हुन्छन् । घर खर्च टार्नकै लागि रत्नमायाले पनि बाह्रै महिना धागो कात्ने गरेको सुनाइन् । 

जाडो बिर्साउन चर्खाको सहारा

‘एकल महिला हुँ, छोराबुहारीलाई यसो खर्चपानीमा सहयोग होस् भनेर धागो कात्छु,’ उनले भने, ‘यसैमा लागेको पनि १० वर्षभन्दा बढी भइसक्यो ।’ छोराबुहारी दुवै जना मजदुरी गर्ने उनले सुनाइन् । दुई नातिनीमध्ये एक जना विदेशमा छिन् । अर्की स्कुल जान्छिन् । चर्खा चलाउन सुरु गरेको विगत सम्झँदै उनी भन्छिन्, ‘पहिला हातखुट्टा धेरै दुख्थ्यो । राति तेल लगाई मालिस गर्थें । अहिले त बानी परिसक्यो ।’

पहिला खानका लागि समस्या नभए पनि सरकारले सुरु गरेको काठमाडौं–तराई (मधेस) द्रुत मार्गमा जग्गा परेपछि समस्या भएको उनले सुनाइन् । ‘आजकाल त खानेकुरा पनि किन्नुपर्छ,’ उनले भनिन्, ‘न खेती गर्न जग्गा छ । न जग्गाको मूल्य पायौं ।’ बाँकी अलिकति जमिनमा लगाएको खेती पनि छ महिना पनि नपुग्ने उनले सुनाइन् । चर्खाबाट धागो बनाउने काम पनि कोही रहरले त कोही बाध्यताले गर्छन् ।

सोही ठाउँकी ५५ वर्षीया ज्ञानी महर्जन आफ्नै रहरले धागो काटिरहेकी छन् । खेतीपातीको काम नभएकाले अहिले ऊनबाट धागो बनाइरहेकी उनले सुनाइन् । ‘एक जना लामाले घरघरमै ऊन ल्याइदिन्छन् । हरेक सोमबार धागो दिने, ऊन लिने र पैसा लिन्छौं,’ उनी हाँस्दै भन्छिन्, ‘छोराबुहारीले त नगर्नु भन्छन्, म चैं गर्छु । एकैचोटि कसरी छोड्नु ।’

आमाबाट सिकेको काम छोड्न पनि मन नलाग्ने उनी सुनाउँछिन् । वर्षौंअघि पाँच सय रुपैयाँमा किनेको चर्खाबाटै हालसम्म चलाउँदै छिन् । ‘पहिला घरमै भेडा पाल्थ्यो । त्यही भेडाको ऊन काटेर बनाउनुपर्थ्यो,’ उनले सुनाइन्, ‘अहिले त ऊन ल्याइदिन्छन्, हामीले धागो बनाउने मात्र हो, पहिलाभन्दा सजिलो छ ।’

खोकना र बुङमतीका अधिकांश महिला खेतीपातीको काम सकाएर जाडो महिनामा घाम ताप्दै भेडाको ऊनबाट धागो बनाउने गर्छन् । जाडो महिनामा अधिकांश महिलाहरू खुला ठाउँमा बसेर धागो निकाल्छन् भने कोही घरमै बसेर गर्छन् । खोकनामा मात्रै ५० जनाभन्दा बढी महिलाले ऊनबाट धागो निकाल्ने काम गर्छन् । उनीहरूले बनाएको धागो गलैंचा बुन्न प्रयोग गरिन्छ ।

खेतीपाती सकाएर नै जाडो महिनामा ऊनबाट धागो निकाल्ने काम गर्छिन्, ६७ वर्षीया मैयाँ महर्जन पनि । उनको समूहमै छन् नन्दमाया र श्रीमाया महर्जन पनि । उनीहरू सधैं एकै ठाउँमा बसेर धागो निकाल्ने गर्छन् । ‘एकआपसमा गफ गर्दै सधैं धागो निकाल्छौं,’ मैयाँले भनिन्, ‘जाडो महिना भएकाले घाम ताप्नकै लागि बाहिर बस्छौं । पानी पर्‍यो भने आ–आफ्नो घरमै गर्ने हो ।’ आफ्नो फुर्सदअनुसार धागो निकाल्ने काम गर्ने उनले सुनाइन् । मैयाँको समूहले विशेषगरी जाडो महिनामा मात्र चर्खा चलाउँछन् । अन्य बेला खेतीपातीको काम हुने भएकाले चर्खा चलाउनेतर्फ ध्यान नजाने उनले सुनाइन् ।

उनीहरूले एक किलो ऊनको धागो निकालेबापत २ सय १० रुपैयाँ पाउँछन् । आफूले समय दिएअनुसार ऊनबाट धागो निकालिने उनीहरू बताउँछन् । ‘कोहीले ३ दिनमा कोहीले एक हप्तामा सकाउँछन्, जसले धेरै समय दियो उसैले छिटो सकाउँछन्,’ मैयाँले सुनाइन् । आमा/सासूको पालादेखि नै यो काम गर्दै आएकाले कहिलेदेखि चर्खा चलाउन सुरु गरियो भन्ने यकिन नभएको उनी सुनाउँछिन् ।

प्रकाशित : माघ ४, २०७८ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?