चोक-चोकमा माटाका भाँडा फुटाएर कलश जात्रा मनाइयो- उपत्यका - कान्तिपुर समाचार

चोक-चोकमा माटाका भाँडा फुटाएर कलश जात्रा मनाइयो

रासस

काठमाडौँ — पौष शुक्ल पूर्णिमा अर्थात् मिला पुन्हीको दिन सोमबार चाँगुनारायण मन्दिरबाट सुरु भएको कलश जात्रा हनुमानढोका दरबारमा भित्र्याइएको छ । पौष शुक्ल पूर्णिमाको दिन र साउन शुक्ल द्वादशीको दिन मनाइने चाँगुनारायणको कलश जात्रा अर्थात ‘क्वातिद्य : जात्रा’ सोमबार मनाइएको हो ।

चाँगुनारायण, लक्ष्मी र सरस्वतीको प्रतीकका रूपमा तीनवटा चाँदीको कलश जात्रा चाँगुनारायणबाट सुरु भएको थियो । चाँगुनारायणबाट लगिएको कलश जात्रालाई रानीपोखरी पुगेपछि राजप्रतिनिधिका रूपमा खड्गसहित गुर्जुको पल्टनले स्वागत गर्ने परम्परा रहेको छ ।

कलश जात्रा लैजाँदा दोबाटोमा पुराना माटाका भाँडाकुँडा फुटाउने परम्परा रहेको छ । यसो गर्दा अपसगुन हुने र सहरबाट चाँगुनारायण देवता नफर्किउन् भन्ने जनविश्वास छ । कलश जात्रालाई हनुमानढोका पुर्‍याएपछि कुमारीलाई पनि ल्याएर मूलचोकमा राखी पूजा गर्ने प्रचलन रहँदैआएको चाँगुनारायण–४ चाँगुका वडाध्यक्ष बुद्धिलाल महर्जनले जानकारी दिए ।

उनका अनुसार परापूर्वकालमा कान्तिपुरका एक राजा हरेक दिन चाँगुनारायणको दर्शन गरेर मात्र भोजन गर्थे तर एकदिन मनोहरा नदीमा ठूलो बाढी आएपछि नदी तर्न नसक्दा चाँगुनारायणको दर्शन गर्न पाएनन् र भोकै बसे । अर्को दिन पनि नदी तर्न नसकेर भोकै बसेर राजाले नारायणको ध्यान गरिरहेको किम्बदन्ती छ ।

'आफ्नो भक्तले दुःख पाएको देखेर नारायणले सपनामा राजालाई तिम्रो भक्तिदेखि म साह्रै खुसी भएँ अबदेखि दिनदिनै दुःख गरेर मेरो दर्शन गर्न आउनुपर्दैन, वर्षको दुईपटक श्रावण शुक्ल द्वादशी र पौष शुक्ल पूर्णिमाको दिनमा म आफैँ हनुमानढोका दरबारमा आएर तिमीलाई दर्शन दिन्छु भनेपछि त्यही समयदेखि चाँगुनारायणबाट हनुमानढोकासम्म कलश जात्रा सुरु भएको किम्बदन्ती छ,' वडाध्यक्ष महर्जनले बताए ।

यस अवसरमा भक्तपुरका विभिन्न चोकचोक तथा फोहर फाल्ने दोबाटोमा माटाका पुराना भाँडा फुटाएर छ्याला पुन्ही मनाइएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाका दिन नेपाल भाषामा छ्याला पुन्ही भनिने यो पर्वमा स्थानीयवासीले घरमा भएका पुराना काम नलाग्ने चर्किएका माटाका भाँडा नजिकको चोकमा फुटाउने प्रचलन रहँदै आएको छ ।

नेवार समुदायमा दसैंमा माटोको भाँडा भित्र्याउने परम्परा रहेको र छ्याला पुन्ही अर्थात् यस दिन चोकचोकमा फाल्ने परम्परा रहेको स्थानीय संस्कृतकर्मी कमलकृष्ण श्रेष्ठ बताउँछन् । पुराना काम नलाग्ने माटाको भाँडा घरमा राख्दा अशुभ हुने जनविश्वासका साथ यसै दिन वर्षमा एकपटक माटाको भाँडा चोकचोकमा फाल्ने परम्परा रहेको उनको भनाइ छ ।

प्रकाशित : माघ ३, २०७८ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्

प्रहरी बढुवामा तक्माको अंक कटौती, ७ वटा दर्जा थपिए

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले नेपाल प्रहरीका कर्मचारीको बढुवा हुँदा विभूषण (तक्मा) बापत पाउने २ नम्बर अंक कटौती गरेको छ । विभूषण बापत पाउने अंक कटौती गरेर त्यसलाई जेष्ठ सदस्यले पाउने नम्बरमा थप गरिएको छ।

यससँगै अब 'भनसुन'का आधारमा विभूषण पाउने र त्यसकै आडमा वरिष्ठतम सदस्यलाई पनि उछिनेर बढुवा हुने चलखेलमा लगाम लागेको छ । तक्माको अंक कटाएर जेष्ठ सदस्यले पाउने २० नम्बरमा जोडिएको छ । अब जेष्ठ सदस्यको बढुवा बापत २२ नम्बर कायम हुने छ ।

प्रहरी नियमावली २०७१ (नवौं संसोधन) गर्दै गृह मन्त्रालयले यससम्बन्धी सूचना सोमबार राजपत्रमा प्रकाशन गरेको हो । यसै साता बसेको मन्त्रीपरिषद्‍ बैठकले नियमावली संसोधन गरेको थियो । मंसिर दोस्रो साता नै यससम्बन्धी मन्त्रिपरिषद्‍बाट निर्णय गरको बताइए पनि थप विषय संशोधनका लागि पेश भएका कारण सार्वजनिक गरिएको थिएन ।

यस्तै प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी वरिष्ठ हवल्दार र सहायक हवल्दार पद सिर्जना गरिएको छ । अहिले जवानबाट हवल्दार, हवल्दारबाट सहायक निरीक्षक (असई) र असईबाट सई हुने प्रावधान रहेकोमा नियमावली संशोधनसँगै हवल्दारबाट सहायक हवल्दार, सहायक हवल्दारबाट वरिष्ठ हवल्दारमा बढुवा गरिने छ । त्यस्तै सईभन्दा माथि वरिष्ठ सई रहने गरी एक तह माथिको दर्जा थप गरिएको छ ।

थप गरिएका दर्जामध्ये वरिष्ठ सईको दर्ज्यानी चिन्ह ३ वटा तारा रहने छ। त्यस्तै वरिष्ठ हवल्दारको दर्ज्यानी चिन्ह हल्का फिक्का एल आकारको तीनवटा धर्सामा ठाडो धर्सा र सहायक हवल्दारको दुईवटा एल आकारको धर्सा रहने छ । बाँकीको यसअघिकै दर्ज्यानी कायम गरिएको छ । कार्यालय सहयोगीलाई पनि प्रथमदेखि पञ्चम श्रेणीगत रुपमा विभाजन गरिएको छ ।

हाल रहँदैआएको कार्यालय सहयोगीलाई प्रथमदेखि पञ्चमसम्म श्रेणी विभाजन गरिएको छ । २० वर्ष सेवा पूरा गरेका कार्यालय सहयोगीको श्रेणी पञ्चम हुने छ । ५ वर्ष देखि १० वर्ष सेवा गरेकालाई द्धितीय, १५ वर्षसम्म सेवा गरेमा तृतीय, १५ देखि २० वर्ष सेवा गरेमा चतुर्थ श्रेणी प्रदान गरिने छ । बढुवा श्रेणी तोकिएको अवधि पूरा गरेको भोलिपल्टैबाट गणना हुने संशोधित नियमावलीमा उल्लेख छ । यससँगै प्रहरीमा ७ वटा दर्जा थप भएको हो ।

संशोधित नियमावली अनुसार सेवा अवधिका कारण अनिवार्य अवकासमा जाने स्थिति भएमा प्रहरी नायव उपरीक्षक (डीएसपी) तहसम्मका कर्मचारीको कार्यरत पद ८ वर्ष पुगेको अवस्थामा एक तह बढुवा दिइने छ । यसो भएमा डीएसपीले एसपीसम्म हुन पाउने छन् । यस्तै कायम मुकायम जिम्मेवारी दिँदा प्रशासनतर्फ एक तहमुनिको सबैभन्दा वरिष्ठ सदस्य र प्राविधिकतर्फ प्राविधिकतर्फकै आफूभन्दा एक तहमुनिका वरिष्ठ अधिकारीलाई मात्रै जिम्मेवारी दिइनु पर्ने व्यवस्था समेटिएको छ ।

यस्तै जवानदेखि वरिष्ठ नायव निरीक्षकसम्मका कर्मचारीलाई सरुवा गर्दा घरपायक पर्ने प्रदेशभित्र सरुवामा प्राथमिकता दिइने उल्लेख गरिएको छ । यता कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई १६ अवधि वर्ष पुगेमा पेन्सनमा जान सकिने व्यवस्था राख्न प्रहरी प्रधान कार्यालयले गरेको प्रस्ताव भने फिर्ता भएको छ । प्रहरीको प्रस्ताव गृहमन्त्रालयबाट कानुन मन्त्रलयको राय लिई अर्थ मन्त्रालयको स्वीकृतिमा मन्त्रिपरिषद्‍मा पठाइएको थियो ।

तर, मन्त्रिपरिषद्‍बाट त्यो व्यवस्था तत्काल अघि नबढाउने भन्दै गृह मन्त्रालयमै फिर्ता आएको हो । २०६० अघि जवान र हवल्दारको १६ वर्ष, असई र सईको १८ तथा निरीक्षकमाथिका अधिकृतको पेन्सन पूरा हुने अवधि २० वर्ष कायम थियो । २०६० सालमा प्रहरी नियमावली संशोधन गरेर सबै तहको पेन्सन पूरा हुने अवधि समान २० वर्ष पुर्‍याइएको थियो ।

प्रकाशित : माघ ३, २०७८ २१:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×