काठमाडौं उपत्यकाका तीनै प्रशासनद्वारा कोरोनाविरुद्ध १८ बुँदे आदेश जारी- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं उपत्यकाका तीनै प्रशासनद्वारा कोरोनाविरुद्ध १८ बुँदे आदेश जारी

रासस

काठमाडौँ — कोभिड–१९ को सम्भावित तेस्रो लहरलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका तीनवटै प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर)ले मंगलबार १८ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेका छन् ।

तीनवटै प्रशासन कार्यालयका प्रमुख तथा सुरक्षा अधिकारीको मंगलबार बसेको बैठकले स्वास्थ्य सुरक्षा सावधानीसहित आदेश जारी गरेको हो । आदेश उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृहमन्त्रालयको निर्णय, सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी उक्त आदेश दिइएको प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । उक्त आदेश मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।

आदेशानुसार घर बाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न उपत्यकावासीमा आह्वान गरिएको छ ।

राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधि गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न तथा सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी कार्यक्रम गर्न रोक लगाइएको छ । अत्यावश्यक तथा नियमित कार्यका लागि स्थानीय प्रशासनको अनुमति आवश्यक पर्ने गरी आदेश जारी भएको छ ।

आदेशमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, सार्वजनिक स्थान (होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राखेको हुनुपर्ने उल्लेख छ । माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा अनिवार्य खोप कार्ड लगाएको हुनुपर्ने गरी आदेश जारी भएको छ ।

स्थानीय तहसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउने गरी कार्यतालिका बनाएर कार्यान्वयन गर्न आह्वान गरेको छ । शिक्षा मन्त्रालयको निर्देशनबमोजिम माघ १५ सम्म भौतिक उपस्थितिमा पठनपाठन नगराउने र पूर्वनिर्धारित सेमेष्टर तथा वार्षिक परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड अपनाई जेड आकारमा बसाई व्यवस्थापन गर्न आदेश दिइएको छ ।

यस्तै सार्वजनिक सेवा प्रवाहमा चाप हुने कार्यालयमा भीडभाड नहुने उपयुक्त तरिका अपनाएर काम गर्न भनिएको छ । जिल्लाभित्रका निजी स्वास्थ्य संस्था र स्थानीय तहलाई विगतमा तयार पारिएको उपचार र आइसोलेसन केन्द्रलाई सुदृढ गरी सञ्चालनमा ल्याउन आदेश दिइएको छ । अक्सिजन सिलिण्डर आपूर्ति सहज बनाउन, कोरोनाको दोस्रो लहरमा प्रयोग भएका सिलिण्डर अस्पताल, उद्योग र स्थानीय तहलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ । सार्वजनिक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्नसमेत आह्वान गरिएको छ ।

कोरोना सम्बन्धी आदेश प्रभावकारी पालना गराउन सुरक्षा निकायबाट आकस्मिक तथा नियमित अनुगमन गरिने जनाइएको छ । अनुगमनमा अवज्ञा गरेको पाइएमा सङ्क्रामक ऐन, २०२० अनुसार कारबाही गरिने चेतावनी दिइएको छ । यस्तै औषधिलगायत अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बढाउने तथा कालोबजारी गर्ने तथा आपूर्तिमा अवरोध गर्नेलाई कानुनबमोजिम कारबाही गरिने आदेशमा उल्लेख छ ।

प्रकाशित : पुस २७, २०७८ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्

अन्तर्वार्ता लिएर पत्रकार निरौलाले राखे विश्व रेकर्ड

कान्तिपुर संवाददाता

सोलुखुम्बु — १० वर्षअघि अस्ट्रेलियामा कायम भएको विश्वकै लामो रेडियो अन्तर्वार्ताको रेकर्ड नेपालका पत्रकार भानुभक्त निरौला र पर्यटनविद् आङफिन्जो शेर्पाले तोडेका छन् ।

नेपाली रेडियो इतिहासमा विश्वकै लामो रेडियो अन्तर्वार्ताको विधाबाट सोलुखुम्बुलाई आधार बनाएर पत्रकारिता क्षेत्रमा क्रियाशील निरौला र पर्यटनविद् शेर्पाले विश्व किर्तिमान कायाम गरेका हुन् ।

पत्रकार निरौला र पर्यटनविद् शेर्पाले सोलुखुम्बुमा सञ्चालित हिमाल एफएमबाट २५ घण्टा २६ मिनेट लामो रेडियो अन्तर्वार्ता लिएर यसअघि अस्ट्रेलियामा भएको २४ घण्टाको रेकर्ड ब्रेक गर्दै नेपालको तर्फबाट विश्व रेकर्ड कायम गरेका हुन् । ‘पर्यटन र जलवायु परिर्वतनका असर’ विषयमा विश्वकै लामो रेडियो अन्तर्वार्ता गत कात्तिक २२ गते सोमबार बिहान ७:३५ मा सुरु भई कात्तिक २३ गते मंगलबार बिहान ९:१ सम्म लगातार २५ घण्टा २६ मिनेट हिमाल एफएमको शाखा स्टुडियो काठमाडौंबाट प्रसारण गरिएको थियो ।

निरौला र शेर्पाले पेस गरेको दाबीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले सोमबार मान्यता दिँदै आफ्नो वेभसाईटमा अस्ट्रेलियाको अभिलेख हटाएर नेपालको राखेको छ ।

आधिकारिक मान्यता पाएपछि पत्रकार निरौलाले यो कीर्तिमानले नेपाली रेडियो प्रसारणको इतिहासमा विशेष महत्व राख्ने भन्दै देशकै लागि एउटा कीर्तिमान थप्न सकेकोमा गौरव महसुस भएको बताए । पर्यटनविद् आङफिन्जो शेर्पाले आफ्नो कोसिसले सार्थकता पाएकोमा खुसी व्यक्त गरे ।

यसअघि विश्वको लामो रेडियो अन्तर्वार्ता सन् २०११ मा अस्ट्रेलियाका पत्रकार रिचर्ड ग्लोभरको नाममा खेलविज्ञ पिटर फिट्ज्मिन्ससँग रेडियो ७०२ एबिसी सिड्नीमा खेल क्षेत्रको विषयमा २४ घण्टा समयसम्म लिइएको रेकर्ड थियो । निरौला कान्तिपुर दैनिक तथा कान्तिपुर टेलिभिजनको सोलुखुम्बु संवाददाता हुन् ।

प्रकाशित : पुस २७, २०७८ १९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×