कीर्तिपुरमा 'कालो दिन' को रुपमा मनाइयो पृथ्वी जयन्ती- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कीर्तिपुरमा 'कालो दिन' को रुपमा मनाइयो पृथ्वी जयन्ती

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगोल नेशनल अर्गनाइजेसनले पृथ्वी जयन्तीलाई 'कालो दिन'को रुपमा मनाएको छ । नेपाल एकीकरणको नाममा पृथ्वीनारायण शाहले नरसंहार गरेको भन्दै अर्गनाइजेनसमा अबद्ध अभियन्ताहरूले कीर्तिपुरस्थित छ्याःक ल्वहँ परिसरमा मंगलबार 'कालो दिन' को रुपमा प्रदर्शन तथा सभा गरेका हुन् ।

सहभागीले 'पृथ्वीनारायण शाहले गरेको एकीकरण होइन अतिक्रमण हो', 'हत्याराको जन्मदिन राष्ट्रिय एकताको आधार हुन सक्दैन' जस्ता नारा लेखिएका प्लेकार्ड तथा व्यानर लिएका थिए ।

मंगलबार देशका विभिन्न स्थानमा पृथ्वीजयन्ती मनाइरहँदा मंगोल नेशनल अर्गनाइजेसनका अभियन्ताहरूले भने केही वर्षयता पृथ्वीनारायण शाहमाथि रिस पोख्नका लागि छ्याःक ल्वहँमा थुक्ने गर्दथे । तर यसपटक उक्त सभालाई लक्षित गर्दै सुरक्षाकर्मीहरू तैनाथ गरिएको थियो ।

पृथ्वीनारायण शाहले तत्कालीन कान्तिपुर राज्य जितेपछि वसन्तपुर दरबारमा बस्न थालेको इतिहास छ । ‘छ्याक ल्वहँ’बाट ठ्याक्कै शाहको दरबार देखिन्थ्यो। शाहले त्यतिबेला कीर्तिपुर पनि जितिसकेका थिए। तर कीर्तिपुरवासीको मन जित्न भने उनी असमर्थ रहे भन्दै शाहको आलोचना हुने गर्छ ।

स्थानीयहरूका अनुसार पृथ्वीनारायणमाथि कीर्तिपुरवासीको रिस कायमै थियो। तर कीर्तिपुरसहित काठमाडौं उपत्यकामा बसिरहेका शाहलाई कीर्तिपुरेले प्रत्यक्ष हानी गर्न सक्ने उपाय केही नभएपछि उक्त ढुंगामाथि बसेर बसन्तपुरमा रहेका शाहलाई थुक्दा थुक्दा ढुंगालाई नै थुक्ने चलन बसेको स्थानीय बताउँछन् ।

प्रकाशित : पुस २७, २०७८ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्

नेपालको भौगोलिक इकाइ पृथ्वीनारायणकै अभियानको परिणाम हो : महामन्त्री थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले नेपालको वर्तमान भौगोलिक इकाइ पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानकै परिणाम भएको बताएका छन् । ३०० औँ पृथ्वी जन्मजयन्तीको सन्दर्भमा मंगलबार महामन्त्री थापाले शाहलाई सम्झिँदै वर्तमान संविधानको जगमा अब नेपाल भित्रका सबै नेपालीलाई एकीकृत र संगठित गर्दै जाने प्रण गर्नुपर्ने बताएका छन् ।

फाइल तस्बिर

‘पृथ्वीनारायण शाहको अभियानको मुख्य उद्देश्य गोर्खा राज्यको विस्तार थियो वा नेपाल एकीकरण भन्ने सन्दर्भमा जुन कोणबाट पनि बहस गर्न सकिन्छ । तर, जे गर्न चाहेको भए तापनि त्यो अभियानले आधुनिक राज्यका लागि आवश्यक बृहत्तर भौगोलिक इकाइ दिएको कुरा कसैले इन्कार गर्न मिल्दैन,’ उनले भनेका छन्, ‘किनकी सत्य यही हो, आज हामीसँग नेपालको जुन भौगोलिक इकाइ प्राप्त छ, यो पृथ्वीनारायण शाहको अभियानको परिणाम नै हो ।’

महामन्त्री थापाले नेपाल राष्ट्र निर्माणको पहिलो चरणका निर्माणकर्ता पृथ्वीनारायण नै भएकोमा दोधार हुन नपर्ने बताएका छन् । ‘कुनै पनि राष्ट्र निर्माणका विभिन्न चरण हुन्छन्, पहिलो चरण भौगोलिक एकीकरण नै हो, भौगोलिक एकीकरण पश्चात् प्रजातान्त्रिक अधिकारहरूको विस्तार र समुन्नतिको चरण आउँछन्,’ उनले भनेका छन्, ‘यसरी हेर्दा पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता हुन् ।’

उनले शाहको त्यो भूमिकालाई स्वीकारे पनि उनका सन्ततिले गरेका जनघातको स्वीकारोक्ति नहुने समेत प्रष्ट्याएका छन् ।

प्रकाशित : पुस २७, २०७८ १८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×