कर्मचारीकै मिलेमतोमा बैंकको रकम चोरी, चार पक्राउ

रासस

काठमाडौँ — कर्मचारीकै मिलेमतोमा एनआइसी एसिया बैंकको लाखौं रुपैयाँ चोरी भएको पाइएको छ । महानगरीय प्रहरी परिसरका अनुसार उक्त बैंकको नगद सङ्कलक काठमाडौंको काँडाघारी बस्ने प्रदीप खत्रीसहितका चार व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।

उनले काठमाडौं महानगरपाकिला–१० को कार्यालयबाट १२ लाख ४५ हजार रुपैयाँ र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट तीन लाख २५ हजार गरी १६ लाख ३० हजार बैंक दाखिला गर्न जाने क्रममा लुटपाट भएको भनी प्रहरीमा सूचना प्राप्त भएको थियो ।

पुस १८ गतेको उक्त घटनाबारे प्रहरी वृत्त बानेश्वर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीबाट अनुसन्धान गर्दा खत्रीमाथि शङ्का लागेपछि पक्राउ परेका थिए । उनीमाथिको अनुसन्धानमा मिलेमतोमा उक्त नगद चोरी गरी भागबण्डा गरेको फेला परेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

प्रहरीले चोरीमा सङ्लग्न खत्रीसहित ललितपुर धापाखेल बस्ने २४ वर्षीय विमल तामाङ, रामेछाप घर भई ललितपुर बस्ने राज पौडेल र अनिश खड्कालाई पक्राउ गरेको शुक्रबार एक सूचना जारी गरी जनाएको छ ।

उनीहरूले सबै पैसा भागबण्डा लगाएर बाँडेको फेला परेको जानकरी दिँदै प्रहरीले अहिलेसम्म १३ लाख ४६ हजार फेला परेको र दुई लाख ८२ हजार भने खर्च गरेको खुलेको छ ।

प्रकाशित : पुस २३, २०७८ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?