२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पर्यटकलाई दोहोरो टिकट

महानगरसँगै हनुमानढोका दरबार हेरचाह अड्डाले पनि थप शुल्क लिँदै
सीमा तामाङ

काठमाडौँ — काठमाडौं महानगरपालिका र हनुमानढोका दरबार हेरचाह अड्डाबीच समन्वय नहुँदा विदेशी पर्यटक दोहोरो टिकटको मारमा परेका छन् । दुवै निकायले संग्रहालय प्रवेशमा छुट्टाछुट्टै शुल्क लिइरहेका हुन् । 

पर्यटकलाई दोहोरो टिकट

२०६८ सालमै एकद्वार टिकट प्रणाली लागू गरी विदेशी पर्यटकको टिकटको २५ प्रतिशत महानगरले हेरचाह अड्डालाई उपलब्ध गराउने सम्झौता भएको थियो । तर, महानगरले कोभिड महामारीका कारण लकडाउन भएको आर्थिक वर्ष २०७५/७६ देखि नै अड्डालाई रकम उपलब्ध गराएको छैन ।

महानगर हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम प्रमुख रोशनमान शाक्यले आर्थिक अभावका कारण उपलब्ध गराउन नसकेको स्विकारे । ‘हाम्रो आर्थिक स्रोत टिकट नै हो, त्यसैको पैसाले नै विभिन्न जात्रापर्व सञ्चालन गर्नुपर्छ,’ उनले भने, ‘कोभिडले पर्यटक नआएपछि केन्द्रबाट ऋण लिएर काम गरिरहेका छौं ।’

महानगरले रकम नदिएपछि अड्डाले पर्यटकबाट छुट्टै शुल्क लिन थालेको छ । अड्डाले असोज १ देखि संग्रहालय भ्रमणबापत विदेशीबाट तीन सय रुपैयाँ लिने गरेको छ । महानगरले करिब ४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको अड्डा प्रमुख सन्दिप खनालले बताए । महानगरले रकम उपलब्ध गराए अड्डाले छुट्टै टिकट काट्न बन्द गर्ने उनको भनाइ छ । ‘महानगरलाई पटकपटक पत्राचार गर्‍यौं, मेयरसाबलाई भेटेरै आग्रह गर्‍यौं, तर केही भएन,’ उनले भने ।

२०६८ सालमा अड्डा र महानगरबीच सम्झौता हुँदा दक्षिण एसियाली (सार्क) पर्यटकका लागि एक सय ५० रुपैयाँ र विदेशी पर्यटकका लागि सात सय ५० रुपैयाँ टिकट थियो । तर, भूकम्पपछि महानगरले एकलौटी रूपमा निर्णय गरी १ हजार रुपैयाँ पुर्‍याए पनि अड्डाले २५ प्रतिशतका दरले मात्र रकम उपलब्ध गराउँदै आएको खनालले जानकारी दिए । छुट्टै टिकट सुरु गरेसँगै अड्डामा गुनासो बढ्नुका साथै पर्यटकको संख्यामा पनि उल्लेख्य कमी आएको छ ।

असोजसम्म दैनिक एक सय पर्यटकले संग्रहालय घुम्ने गरेका थिए, हिजोआज यो संख्या २० देखि २५ मा झरेको अड्डा प्रमुख खनालले बताए । संग्रहालयको आर्थिक स्रोत पर्यटक शुल्कसँगै र पसलको भाडा पनि हो ।

प्रकाशित : पुस २२, २०७८ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?