नगरकोट सडक निर्माण : ठेकेदारविरुद्ध आन्दोलन घोषणा

समयमै काम नसक्ने शैलुङ–एआईपीएल जेभीसँगको ठेक्का रद्द गर्न दबाब दिन चाँगुनारायण नगरपालिका नै सडकमा उत्रिने
लिला श्रेष्ठ

भक्तपुर — ७ वर्षसम्म पनि नगरकोट निर्माण नभएपछि चाँगुनारायण नगरपालिकाले निर्माण कम्पनीविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार चाँगुनारायण नगरपालिकाले पत्रकार सम्मेलन नै गरेर पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

नगरकोट सडक निर्माण : ठेकेदारविरुद्ध आन्दोलन घोषणा

‘थपिएको म्यादभित्र पनि सडक बनिसक्नेमा विश्वास लाग्दैन । ठेकेदारले दबाब हुँदा मात्र काम गरेजस्तो गरिरहेको छ,’ चाँगुनारायण नगर प्रमुख सोमप्रसाद मिश्रले भने, ‘नगरपालिकाकै नेतृत्वमा आन्दोलनका कार्यक्रम तय गरेका छौं । ठेक्का रद्द गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

भक्तपुर–नगरकोट–सिपाघाट सडक निर्माणको जिम्मा शैलुङ कन्स्ट्रक्सन–एआईपीएल (आरामाली इन्फ्रा पावर लिमिटेड) जेभीले ०७१ जेठ २२ मा पाएको थियो । ०७३ कात्तिक ४ मा काम सक्ने गरी जिम्मा पाए पनि हालसम्म करिब ७८ प्रतिशत मात्रै काम सकिएको छ । हालसम्म ७ पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक गत भदौ ३ मा मन्त्रिपरिषद् बैठकबाटै आगामी चैत मसान्तसम्मको समयसीमा दिइएको छ । आयोजनाको लागतसमेत साढे ४ करोड रुपैयाँ बढेको छ । भ्याटसहित ३१ करोड ५२ लाख ९२ हजार रुपैयाँमा सम्झौता भए पनि अहिले लागत ३५ करोड ८७ लाख १८ हजार रुपैयाँ कायम गरिएको छ ।

लामो समयसम्म निर्माण कार्य अलपत्र पार्ने कम्पनीलाई कारबाही गर्नुको साटो राजनीतिक संरक्षण र शक्तिका भरमा पटक–पटक म्याद थप गरिएको भन्दै स्थानीय, व्यवसायी, जनप्रतिनिधिलगायतले ठेक्का नै रद्द गर्नुपर्ने माग गर्दै आएका छन् । यसअघि विभिन्न कार्यक्रम र माध्यमबाट दबाब दिँदै आए पनि निर्माण कम्पनीले अटेरी गरेको नगर प्रमुख मिश्रको भनाइ थियो । ‘हामीलाई दिएको सास्तीस्वरूप सरकारले उसैलाई म्याद थपिदिएर पुरस्कृत गर्दै आएको छ,’ उनले भने ।

उनका अनुसार अनुसार पुस ७ मा सडक निर्माण कार्य अलपत्र पर्नुको कारणबारे सरोकारवालासँग अन्तरक्रिया, पुस ११ मा जिल्ला प्रशासन कार्यालय घेराउ, पुस १५ मा सडक सुधार तथा विकास आयोजना कार्यालय घेराउ गरिनेछ । यसैगरी, ठेकेदार कम्पनीको कार्यालय तथा निवास घेराउ, माइतिघर मण्डलमा धर्ना र अरनिको राजमार्गमा चक्काजामको कार्यक्रमसमेत तय गरिएको छ । नगरकोटवासीले गतवर्ष सडक किनारमा शैलुङ कन्स्ट्रक्सनका अध्यक्ष शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध गरेका थिए । अधिकारी पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटीसमेत हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, संसदीय समिति र तत्कालीन भौतिकमन्त्रीहरूलाई पटक–पटक समस्या अवगत गराउँदा पनि तत्काल काम हुने आश्वासन मात्रै पाएको मिश्र बताउँछन् । तर निर्माण कम्पनीले काममा आलटाल गर्दै आएको छ । ‘काम भइरहेको जस्तो देखिन्छ तर खासै प्रगति भएको छैन,’ भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजना प्रमुख गौतम श्रेष्ठले भने, ‘तापक्रम घट्दै गइरहेको छ, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र कालोपत्रको काम भइरहेको छ ।’ नाली, पर्खाल बनाउने, बेस स्केलिङ गर्ने कार्य पनि भइरहेको उनले बताए ।

लकडाउन र निषेधाज्ञाले निर्माण सामग्री ढुवानीमा परेको असर र कामदार अभावको कारण देखाउँदै निर्माण कम्पनीले सातौं पटकसमेत म्याद थप गराएको उनी बताउँछन् । उनका अनुसार एक्जिम बैंक इन्डियाबाट ठेक्का सहमति प्राप्त गर्न प्रक्रियागत ढिलाई भन्दै पहिलोपल्ट २०७३ कार्त्तिक ४ सम्म काम सक्ने गरी १२५ दिन म्याद थप भएको थियो । दोस्रोपल्ट भूकम्पको बहानामा २०७४ कात्तिक १८ सम्म ३८० दिन, तेस्रोपल्ट सडकमा रहेको भौतिक संरचना स्थानान्तरण र रुख कटानमा ढिलाइ, स्थानीयको अवरोध, चुनावको बाहानामा २०७५ जेठ ३० मा सक्ने गरी २२१ दिन म्याद थप भयो ।

चौथोपल्ट चिसो तथा वर्षाको कारण कालोपत्र गर्न नसकिएको तथा खरिद नियमावली, २०६४ आठौं संशोधन अनुसार २०७७ वैशाख ७ मा निर्माण सक्ने गरी ६७६ दिन, पाचौंपल्ट खरिद नियमावली नवौं संशोधनअनुसार म्याद थप सम्बन्धी पूर्वनिर्णयहरू यथावत कायम भन्दै २०७७ पुस १५ सम्मका लागि २५५ दिन, छैटौंपल्ट कोरोनाका कारण भएको लकडाउनको बाहनामा २०७८ असार १४ सम्म १८१ दिनका लागि म्याद थप भएको थियो । तर हरेकपटक विभिन्न बहानामा म्याद थप भए पनि कामको रफ्तार बढेन ।

शैलुङ कन्स्ट्रक्सनका साइट इन्चार्ज प्रकाश लामिछाने भने पर्खाल, नाली, कटिङलगायत संरचनाको काम ९० प्रतिशत सकिएको दाबी गर्छन् । ‘कालोपत्र सुरु गर्ने समयमा लकडाउन भयो, लकडाउन खुकुलो हुँदा वर्षा, वर्षा सकिँदा चाडपर्व आयो,’ उनले भने, ‘यो वर्ष चिसो सुरु भइसकेको छ, म्याद सकिनु अगावै काम सक्ने लक्ष्यसहित निर्माण सामग्री ल्याइसकिएको छ ।’ कुल १६ किमि सडकमध्ये हालसम्म कमलविनायकदेखि बास्तोलागाउँसम्मको करिब ८ किमि मात्रै सडक कालोपत्र भएको छ । तर उक्त कालोपत्र ठाउँठाउँमा क्षतविक्षत भइसकेको छ ।

कमलविनायक–नगरकोट सडक निर्माण दबाब समिति संयोजक राजकुमार लामिछाने भन्छन्, ‘सडककै दुरवस्थाका कारण यहाँको पर्यटन व्यवसायसमेत धरासायी बनेको छ । दुर्घटनाको जोखिम मोल्दै यात्रा गर्न बाध्य छौं ।’

प्रकाशित : पुस ३, २०७८ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?