घरदैलोमै नर्सिङ सेवा

लिला श्रेष्ठ

भक्तपुर — तपाईंको रक्तचाप र सुगरको अवस्था कस्तो छ ? चोटपटक लागेर पनि स्वास्थ्य संस्था नगई बेवास्ता गरिरहनुभएको त छैन ? नियमित स्वास्थ्य परीक्षण गराइरहनुभएको छ नि ? यी र यस्तै प्रश्नहरू लिएर नर्स, स्वास्थ्य स्वयंसेविका स्थानीयको घरदैलोमै पुगिरहेका छन् ।

घरदैलोमै नर्सिङ सेवा

भक्तपुर नगरपालिकाले नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन भन्दै १० वटै वडामा घरदैलो नर्सिङ सेवा सुरु गरेको हो । जसका लागि १० जना नर्स र ९० जना स्वास्थ्य स्वयंसेविका खटाइएको छ । प्रत्येक वडामा दैनिक बिहान ७ देखि साढे ९ बजेसम्म स्वास्थ्य स्वयंसेविकासहित एक–एक जना नर्स खटिइएका नगरपालिकाका स्वास्थ्य संयोजक एवं ख्वपः अस्पतालका डा. रत्नसुन्दर लासिवाले बताए ।

उनका अनुसार कोरोना महामारीका कारण डेढ वर्षयता रोकिएको घरदैलो नर्सिङ सेवा गत मंसिर १६ बाट नगरका १० वटै वडामा पुनः सञ्चालनमा ल्याइएको हो । टोलीले गर्भवती, सुत्केरी आमालगायतलाई सरसफाइ, खोपबारे जानकारी दिने, अशक्त अपांगता भएका व्यक्ति एवं ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सेवा सुविधा कहाँबाट कसरी लिन सकिन्छ भन्ने जानकारी तथा परिचयपत्र बनाउने र पाउने सुविधाबारे पनि जानकारी गराइरहेको छ ।

‘टोलीले बिहान ७ देखि साढे ९ बजेसम्म घरदैलो स्वास्थ्य सेवा प्रदान गर्ने र त्यसपछि वडास्थित स्वास्थ्य संस्थामा दिउँसो २ बजेसम्म सेवा दिने गरेको छ,’ उनले भने, ‘किशोर–किशोरीलाई स्वास्थ्यसम्बन्धी परामर्श दिने, मुधमेहको परीक्षण, उच्च रक्तचाप भएकालाई सेवा, बालबालिकाको पोषणबारे जानकारी तथा तौल नाप्ने, अस्थायी परिवार नियोजनको सेवा प्रदान गर्ने, सामान्य घाउ, चोटपटकको ड्रेसिङ गर्ने, स्थायी परिवार नियोजनको बारेमा परामर्श दिने गरेको छ । ओछ्यान परेका बिरामीहरूलाई समेत सेवा दिइरहेको छ ।’ कोरोना महामारीका समयमा घरदैलो नगरे पनि स्वास्थ्य संस्थाबाटै नागरिकलाई सेवा पुर्‍याइएको उनले बताए ।

नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै चुनावी घोषणापत्रअनुसार नै ‘पाइलट प्रोजेक्ट’ का रूपमा घरदैलो नर्सिङ सेवा थालिएको नगर प्रमुख सुनिल प्रजापतिले बताए । ‘जनप्रतिनिधिले नेतृत्व लिएपछि नागरिकलाई स्वस्थ राख्न व्यायाम केन्द्र खोल्ने, नर्सिङ सेवा प्रदान गर्नेजस्ता कार्य गरेका छौं,’ उनले भने, ‘नागरिकलाई स्वस्थ राख्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने अवधारणासहित नर्सिङ सेवाको थालनी गरेका हौं ।’ वातावरणीय स्वास्थ्य सम्बन्धित सरसफाइका विषय, व्यक्तिगत स्वास्थ्य सुरक्षाको विषयमा जनचेतना दिने कार्य घरदैलोमा खटिएका स्वास्थ्य स्वयंसेविका र नर्सले गर्दै आएका छन् ।

स्वास्थ्य मन्त्रालयले पनि भक्तपुरमा प्रजनन स्वास्थ्य, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन र सर्ने–नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि समुदायस्तरमा सामुदायिक स्वास्थ्य तथा घरदैलो नर्सिङ सेवा कार्यक्रम सुरु गरेको छ । यसका लागि ५० लाख बजेट छुट्याएर भक्तपुर नगरपालिकासँग समन्वय गरेको मन्त्रालयले जनाएको छ । एक अधिकृतसहित १० स्टाफ नर्ससमेत खटाइएको छ । भक्तपुर मोडलका रूपमा विस्तार गर्न महोत्तरीको बर्दिबासमा समेत घरदैलो नर्सिङ सेवा सुरु गरिएको छ ।

स्वास्थ्य सेवासँगै नागरिकहरूको आधारभूत तथ्यांक संकलनका लागि खटिने नर्सहरूलाई ट्याबको व्यवस्था पनि गर्न लागिएको छ । ट्याब नेपाल सरकारले उपलब्ध गराउने निर्णय भएको डा. लासिवाले बताए । उनका अनुसार घरदैलोमा जानुअघि नर्सहरूलाई तीनदिने तालिम दिइएको थियो । तालिममा नागरिकसँग कसरी कुरा गर्ने, कसरी सूचनाहरू लिने र ट्याबमा कसरी फारम भर्ने, प्राप्त तथ्यांकलाई कसरी सुरक्षित गर्ने भन्नेबारे जानकारी गराइएको थियो ।

प्रकाशित : मंसिर २१, २०७८ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?