१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘युद्ध स्मारक पार्क’ निर्माण अलपत्र

कीर्तिपुर नगरपालिकाले मूर्तिको कार्यशालासहित पार्क बनाउन १ करोड ६७ लाख २० हजार ३ सय रूपैयाँ खर्च गरिसकेको छ तर दुई दर्जनभन्दा बढी मूर्ति संरक्षणविहीन अवस्थामा छन् ।

काठमाडौँ — बजेट अभावले कीर्तिपुर नगरपालिका–१, २ र १० को करिब ५५ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको ‘युद्ध स्मारक पार्क’ को काम रोकिएको छ । घेरा, पर्खाल, सत्तल, मनोरञ्जनस्थल, हरियाली उद्यानसमेतको योजना बनाएर दुई वर्षअघि सुरु गरिएको पार्क निर्माण बजेट अभावका कारण रोक्नुपरेको पार्क उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीकुमार महर्जनले बताए । उनका अनुसार हरियाली उद्यानका लागि केही संरचना बनिरहेको भए पनि मुख्य काम रोकिएको हो । 

‘युद्ध स्मारक पार्क’ निर्माण अलपत्र

‘पार्कको काम रोकिएको छ,’ उनले भने, ‘वन कार्यालयसँग अनुमति लिएर पार्कस्थलमा भएका ठूला–ठूला रूख काटेर नयाँ बिरुवा रोपेपछि मात्र पार्कमा मूर्ति स्थापना गरिने छ ।’ नगरपालिकाले पार्कमा राख्ने मूर्ति बनाउन मूर्ति कार्यशाला नै सञ्चालन गरेको थियो । महर्जनका अनुसार बाघ भैरव उत्पत्तिको कथासमेत समावेश गरी ‘कीर्तिपुर स्मारक पार्क’ बनाउने नगरपालिकाको योजना छ ।

मूर्तिको कार्यशालासहित पार्क निर्माणमा १ करोड ६७ लाख २० हजार ३ सय रुपैयाँ खर्चिएको नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता सरस्वती खड्काले बताइन् । ‘मूर्ति स्थापना गर्न बाँकी नै छ, संरक्षण पनि गरेका नै छौं,’ उनले भनिन्, ‘महानगरले दिएको बजेटको मात्र काम भएको हो, पार्कको काम अझै बाँकी नै छ ।’ पार्कको डीपीआर अनुसार धेरै खर्च लाग्ने भएकाले बजेट हेरेर मात्र चरणबद्ध काम गरेको उनले सुनाइन् । काठमाडौं महानगरले ‘नगर–नगर साझेदारी’ कार्यक्रमअन्तर्गत पार्क बनाउन बजेट सहयोग गरेको थियो । महानगरले आर्थिक वर्ष ०७५/०७६ र ०७७/०७८ गरी दुई करोड रुपैयाँ उपलब्ध गराएको हो ।

मूर्ति बनाउन नेपाल ललितकला प्रतिष्ठानसँगको सहकार्यमा २५ जना कलाकार खटिएका थिए । प्रतिष्ठानका कलाकारहरूले झन्डै दुई/तीन वर्षअघि नै दुई दर्जनभन्दा ढुंगाका मूर्तिहरू सिर्जना कार्य सक्काएर नगरपालिकालाई हस्तान्तरण गरिसकेका प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले बताए । पार्कका लागि ‘मूर्ति कार्यशाला कीर्ति २०७५’ नाम दिएर मूर्ति निर्माणको काम सुरु गरिएको थियो । लामाका अनुसार परम्परागत तथा आधुनिकता र समकालीन समाज झल्कने मूर्ति सिर्जना गरिएको हो । मूर्ति प्रतिस्थापना स्थान र व्यवस्थापनका लागि केही समयअघि नगरपालिकाले लामासँग समन्वयको कुरा अगाडि बढाएको थियो । तर, पार्क समयमै सम्पन्न नहुँदा ती मूर्तिहरू सरंक्षणबिनै अलपत्र छाडिएका छन् ।

स्थानीय मात्र नभएर मूर्ति सिर्जनामा सहभागी मूर्तिकारलाई पनि निर्माणाधीन पार्कमा सिर्जना असरल्ल परेको देख्दा चिन्ता लागेको छ । मूर्तिकार दीपक लामा भन्छन्, ‘मूर्तिहरू पार्कमा प्रतिस्थापन भयो कि भनेर म तीन पटक जति पार्कस्थलतिर पुगिसकेँ । त्यता भएका मूर्तिहरूको अवस्था देख्दा साह्रै दुःख लागेको छ । नगरपालिकाले कलालाई संरक्षणचाहिँ गरेको भए हुने थियो ।’ केही काम भएको पार्कमा पनि सिर्जना भएका कलाकृतिहरूभन्दा भौतिक संरचनालाई बढी जोड दिइएको उनको गुनासो छ ।

मूर्तिकार लामाको भनाइलाई समर्थन गर्दै मूर्तिकला विभाग प्रमुख लामा पनि नगरपालिकाले पार्कमा मूर्ति प्रतिस्थापना गर्ने टुंगो नलागेसम्म कलाकृतिलाई निश्चित ठाउँमा संरक्षण गर्नुपर्ने धारणा राख्छन् । उनका अनुसार मूर्ति निर्माणमा उत्तम शाक्य, चन्द्रश्याम डंगोललगायतका मूर्तिकारहरूले परम्परागत बेसमा उत्कृष्ट कलाकृति सिर्जना गरेका छन् । ती मूर्ति संरक्षण तथा प्रतिस्थापनाका लागि छिट्टै नै नगरपालिकासँग कुरा राख्ने लामाले बताए ।

नगरपालिकाले पहिले फोहोर फाल्ने भिरालो ठाउँमा नै पार्कको विस्तार गर्ने योजनाअनुसार काम अगाडि बढाएको थियो । योजनाअनुरूप पार्कमा अहिले पर्खाल लगाई हरियाली बनाउन दुबो लगाइएको छ । समितिका अध्यक्ष महर्जन भन्छन्, ‘सडकसँगै जोडिएको भिरालो जग्गामा पर्खाल लगाउने र घाँसको मात्र काम पूरा भएको छ । अब हामी मूर्ति प्रतिस्थापनाका लागि पनि काम सुरु गर्ने योजनामा छौं ।’

नगरपालिकाले पार्कका लागि बनाएका केही मूर्तिहरू मात्र स्थापना गरिएका छन् । बाँकी अहिले घाँसैघाँसले ढाकिएका छन् । व्यवस्थापन गर्न सकिने मूर्ति सकेसम्म संरक्षण गरिएको महर्जनको दाबी छ । झुल्किने सत्तल तथा पर्खाल र मूर्तिको सौन्दर्यले कीर्तिपुरको मुहार फेरिने कुराले नगरवासीमा उत्साह थियो । अहिले पार्कका लागि सिर्जना गरिएका मूर्ति संरक्षणविहीन हुँदा स्थानीयहरू चिन्तित छन् । ‘दुबो लगाउनु अगावै मूर्ति स्थापना भइसक्नुपर्ने थियो । तर, काम नै रोकिएकाले अब मूर्ति स्थापना नै नहोला भन्ने चिन्ता लागेको छ,’ एक स्थानीयले भने ।

प्रकाशित : मंसिर २०, २०७८ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?