कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जगतनारायण मन्दिरको संरक्षण न पुनर्निर्माण

 ६ वर्षमा निर्माणकार्य ४५ प्रतिशत मात्रै, ऐतिहासिक मूर्ति, घण्टा, गरूड, टुँडाल परिसरमै असरल्ल
सीमा तामाङ

काठमाडौँ — २०७२ वैशाख को भूकम्पबाट क्षतिग्रस्त मठमन्दिरलगायत सम्पदा, सार्वजनिक भवन तथा निजी घरहरूमध्ये धेरैको पुनर्निर्माण भइसकेको छ । केही पुनर्निर्माणको चरणमा छन् । तर ललितपुरको शंखमूलस्थित जगतनारायण मन्दिर भने उस्तै छ । भूकम्पमा समेत जोगिएका मन्दिर परिसरमा रहेका गणेश, कुमार, रातो हनुमानका मूर्ति संरक्षण अभावमा अलपत्र छन् ।

जगतनारायण मन्दिरको संरक्षण न पुनर्निर्माण

मूर्तिहरू झारले पुरिएका छन् भने प्राचीन घण्टीको आधा भाग माटोमा पुरिएको छ । मन्दिरको उत्तरतर्फ अग्लो गरुडको स्तम्भ छ । झारले पुरिएकोले स्तम्भको अहिले गरुड मात्र देख्न सकिन्छ । पूर्वतर्फ रहेको सेतो हनुमानको मूर्तिको अवस्था पनि उस्तै छ । ढुंगाका कलात्मक थाम, काठका सामग्री पनि असरल्ल छन् । पूर्व, पश्चिम र दक्षिणतर्फ तीनवटा सत्तल छन् ।

दक्षिणतर्फको सत्तल नयाँ निर्माण भए पनि संरक्षण हुन नसक्दा जीर्ण देखिन्छ । मुख्य मन्दिर निर्माण गर्न भन्दै तीन वटा पेटी बनाइएको छ । तर पेटी पनि झारले ढाकेको छ । मन्दिरको अवस्था यति जर्जर छ कि परिसरमा प्रवेश गरेपछि पुरातात्त्विक सामग्रीहरू खुट्टाले कुल्चिइने हो कि भन्ने लाग्छ । पश्चिमतर्फको सत्तलमा भने जगद्गुरु आश्रमका ३५ जना विद्यार्थी अस्थायी रूपमा बसिरहेका छन् ।

स्थानीयका अनुसार मन्दिर ध्वस्त भए पनि मूर्ति रहेको स्थानलाई बाहिर देखाउन मिल्दैन । तर पुनर्निर्माणले गति नलिँदा मुख्य मन्दिरको जग नै खुला छाडिएको छ । मूर्तिदेखि प्राचीन काठ, इँटा, ढुंगालगायत असरल्ल छन् । केही मूर्तिलाई भने छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको छ । ‘उठाउन सकिने र ऐतिहासिक मूर्ति संग्रहालयमा छन्,’ पुरातत्त्व विभागका प्रवक्ता रामकुमार कुवँरले भने, ‘तर एक ठाउँदेखि अर्को ठाउँमा सार्न नसकिने वस्तु परिसरमै छन् ।’ पुनर्निर्माण सकिएपछि विस्तारै त्यसको व्यवस्थापन हुने उनी बताउँछन् । तर पुनर्निर्माण कहिले सकिन्छ, त्यसको जवाफ उनीसँग पनि छैन । पुनर्निर्माण समयमै नसकिँदा ऐतिहासिक मूर्ति र अन्य सामग्री संरक्षणविहीन बनेका हुन् ।

पुरातत्त्व विभागले ९ करोड २० लाख रुपैयाँमा राजेन्द्र/रफिना/राम जेभीलाई पुनर्निर्माणको जिम्मा दिएको थियो । निर्माण सम्झौताअनुसार २०७६ असारमै पुनर्निर्माण सम्पन्न हुनुपर्ने थियो । तर काम पूरा नभएपछि विभागले ६ महिना बढाएर पुससम्मको म्याद दियो । थपिएको समयमा पनि कामले गति लिएन । तर कोरोना महामारी सुरु भएपछि सरकारले चैतमा देशव्यापी लकडाउन गर्‍यो । केन्द्र सरकारले लकडाउनका कारण निर्माण प्रभावित भएको भन्दै सबै ठेक्काको म्याद दुई पटक गरी एक वर्ष थप्ने निर्णय गर्‍यो । तर विभागले २०७६ पुसपछि म्याद थपेन । बरु समयमा काम सम्पन्न नगरेको भन्दै निर्माण कम्पनीविरुद्ध कारबाही प्रक्रिया अगाडि बढायो । विभागको उक्त निर्णयविरुद्ध कम्पनीले अदालतमा मुद्दा दायर गरेको छ ।

सरकारको निर्णयपछि पनि विभागले म्याद नथपेकोले अदालत जान बाध्य भएको ठेकेदार रविनकुमार जोशी बताउँछन् । २०७७ असार मसान्तसम्म म्याद थप्नुको सट्टा कारबाही प्रक्रिया अगाडि बढाएपछि विभागविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको उनले जनाए । मुद्दा अझै विचाराधीन छ । ‘कम्पनीसँग छलफल नै नगरी विभागले बैंक धरौटी जफत गर्ने र ठेक्का तोड्ने भन्दै निर्णय गरेको रहेछ,’ उनले भने, ‘मुद्दापछि कामसँगै बैंक धरौटी जफत पनि रोकिएको छ । फैसला भने भएको छैन ।’

सम्झौतादेखि नै मन्दिरको पुनर्निर्माण निकै सुस्त रहेकोमा विगत १ वर्षदेखि त ठप्पै छ । विभागले कम्पनीलाई ४ करोड रुपैयाँ भुक्तानी दिइसकेको बताएको छ । विभागका प्रवक्ता कुँवरले सार्वजनिक खरिद ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाउँदा निर्माण कम्पनीले नै मुद्दा हालेको बताए । अदालतबाट फैसला भएपछि मात्रै मन्दिरको पुनर्निर्माण हुने उनले जनाए । अहिलेसम्म मन्दिरको ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको विभागका इन्जिनियर पूर्णबहादुर श्रेष्ठले बताए । ‘कम्पनीले विभिन्न बहाना देखाई काममा ढिलासुस्ती गरेपछि विभागले कारबाही प्रक्रिया अघि बढाएको थियो,’ उनले भने, ‘तर कम्पनीले विभागमाथि नै मुद्दा हालेपछि कुनै काम भएको छैन ।’

यो मन्दिर पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाका भाइ जगतशमशेर राणाले १ सय ७० वर्ष पहिले निर्माण गरेको बताइन्छ । सरकारले शंखमूलधाममा रहेको जगतनारायण मन्दिर परिसरको केही भाग भने प्रथम जगद्गुरुको सम्मानमा २०६८ मा जगद्गुरु आश्रमलाई प्रदान गरेको थियो । ५ रोपनी जग्गामा मन्दिर निर्माण भइरहेको जगद्गुरु आश्रमका गुरु दीपक पोखरेलले बताए । निर्माण कम्पनी र विभागबीच समन्वय हुन नसक्दा काम रोकिएको उनको भनाइ छ । ‘पहिला ढिलासुस्ती भयो । चासो दिइएन । अहिले काम नै रोकियो,’ उनले भने ।

प्रकाशित : मंसिर १५, २०७८ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?