बालबालिका तस्करी आरोपमा पक्राउ- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालबालिका तस्करी आरोपमा पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — भिक्षुको भेषमा बालबालिका तस्करीको आरोपमा पक्राउ परेका नवलपरासी देवचुली–१७ का ३६ वर्षीय सन्तवीर लामालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोले कात्तिक २९ मा लामालाई पक्राउ गरेको थियो । 

काठमाडौं बौद्धस्थित सेतो गुम्बामा लामा पढाइ गरिरहेका दुई बालकलाई सन्तवीरले आफू भारतको कर्नाटकस्थित सर गाडेन मोनास्ट्रीमा अध्ययन गरेको लामा गुरु भनी प्रलोभनमा पारेर भारत लैजान खोजेका थिए ।

उनले कर्नाटकस्थित गुम्बामा गई लामा अध्ययन गर्‍यो भने राम्रो सुविधा पाइने, नेपालको गुम्बामा पढाउने लामा (शिक्षक) पनि हुन पाइनेजस्ता विभिन्न प्रलोभन देखाई ती बालकलाई सिन्धुलीको वडा कार्यालयमा लगेर ‘सर गाडेन बुद्धिस्ट कल्चर एसोसिएसन’ को लेटरप्याडमा भारतको कर्नाटकमा लैजाने सिफारिस दिलाई पाऊँ भनी निवेदन दिएका थिए । तर, जन्मदर्ता बनाउने क्रममा शंका लागेपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए ।

उनले विभिन्न जिल्लाका बालकलाई लामा अध्ययनको बहानामा भारत लगिसकेको र लैजानैका लागि आरुबारीस्थित झुगो कदम्पा गुम्बामा १० देखि १४ वर्षका अन्य तीन बालकलाई राखेको प्रारम्भिक अनुसन्धानमा खुलेको ब्युरोले जनाएको छ ।

प्रकाशित : मंसिर ९, २०७८ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्

चिया निर्यातमा नियोजित अवरोध हटाऊ 

सम्पादकीय

नेपालबाट निरन्तर निर्यात बढिरहेको नेपाली चियालाई प्रतिबन्ध लगाउन भारतीय निकायहरूले फेरि विभिन्न अवरोध खडा गरेर अन्तर्राष्ट्रिय व्यापारका नीति–नियममाथि धज्जी उडाएका छन् । नेपालले यस्तो गतिविधिमाथि भारतसँग गम्भीर प्रश्न उठाउनुको सट्टा एउटा शिष्टाचारपत्र मात्रै लेखेर आफ्ना उत्पादकहरूको समस्यामा मूकदर्शक बनेको छ ।

भारतले पछिल्लो समय चिया बोकेका कन्टेनर नाकामा रोकिदिने, निर्यात गर्न ठिक्क पारिएको चियाको पुनः प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) गर्नेजस्ता कार्य गरेर अवरोध खडा गरेको छ । समयमै समस्या समाधानको उपाय ननिकाले यसबाट नेपाललाई वार्षिक साढे ३ अर्ब रुपैयाँको निर्यात गुम्ने जोखिम छ । बदनियत राखेरै भारतीय भन्सार प्रशासनले गरिरहेको यस्तो व्यवहारले दुई मुलुकबीचको सम्बन्धमै आँच ल्याउने देखिन्छ । त्यसैले द्विपक्षीय व्यापार मामिलामा भारतले अन्तर्राष्ट्रिय नियमसम्मत हिसाबले व्यवहार गर्न आवश्यक छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आर्थिक वर्षमा मात्रै ३ अर्ब ६९ करोड रुपैयाँको चिया निर्यात भएको थियो भने त्यसअघि २०७६/७७ मा २ अर्ब ७८ करोड रुपैयाँको । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा मात्रै १ अर्ब १ करोड रुपैयाँको निर्यात भएको छ । नेपालबाट निर्यात हुने चियामध्ये करिब ८० प्रतिशत भारतमा जाने गरेको छ । बाँकी २० प्रतिशत चीन, जापान, जर्मनी, अमेरिका, अस्ट्रेलिया लगायतमा निर्यात हुन्छ । पछिल्लो समय रुस र खाडी मुलुकमा समेत निर्यात वृद्धि भइरहेको छ । निर्यातमा भएको उत्साहजनक वृद्धिलाई थप बढाउन भारतीय अवरोध फुकाउनका निम्ति नेपालले पनि ठोस पहल थाल्नुपर्छ ।

झापा र इलामका विभिन्न कारखानाबाट निर्यात हुन लागेको २ करोडभन्दा बढी मूल्यको चिया मेची भन्सार कार्यालयको गोदाममा थन्किएको छ । दुई गाडी चिया विकास निगमको छ । बाँकी अन्य कारखानाका छन् । कागजी प्रक्रिया पूरा भएको करिब ६० टन चिया गोदाममा थन्किएको भन्सार कार्यालयले जनाएको छ । नेपालमा मुख्यतः सीटीसी र अर्थोडक्स चिया उत्पादन हुन्छ । हावापानी, चियाको बोटको उमेरका कारण नेपाली चिया भारतसहित विश्व बजारमा गुणस्तरीय मानिन्छ । यसको माग बिस्तारै बढ्दै गए पनि हालसम्मको मुख्य बजार भने भारत नै हो । भारत निर्यात भएपछि भने त्यहाँका उद्योगी–व्यवसायीले आफ्नो ब्रान्ड बनाएर निर्यात तथा स्थानीय बजारमा बिक्री गरिरहेका विवरण सार्वजनिक भएका छन् ।

बेला–बेलामा भारतले नेपाली चिया निर्यातमा अवरोध गर्नुको मुख्य कारण नै दार्जिलिङको चिया बजार सुरक्षित गर्नु हो । इलाम र दार्जिलिङको भौगोलिक बनावट उस्तै छ । हावा, पानी, भू–बनोट उस्तै–उस्तै छ । उस्तै ठाउँमा उत्पादन हुने वस्तुको स्वाद र गुणस्तर पनि लगभग उस्तै हुने नै भयो । अर्कोतर्फ दार्जिलिङका चियाको बोटको उमेर धेरै भइसक्यो, जसबाट कम गुणस्तरको चिया उत्पादन हुन्छ । एकातिर स्थानीयस्तरको गुणस्तर कमजोर भएको र अर्कातिर नेपाली चियाले बजार थप विस्तार गर्दै गएकाले भारतका व्यवसायीले जोखिम देखेका हुन् । अनि नेपाली चियाले कतै दार्जिलिङको पहिचान त नामेट पार्दैन भन्ने भयले नेपाली चिया निर्यातमा नियोजित अवरोध गरेका हुन् । ‘टी बोर्ड अफ इन्डिया’ ले नेपाली चियाको आयात रोक्न माग गर्दै भारतको वाणिज्य तथा उद्योग मन्त्रालयसँग माग गरेको छ, जुन पत्रसमेत सार्वजनिक भइसकेको छ ।

एकातिर नेपाली चियालाई दार्जिलिङका व्यापारीले आफ्नो ब्रान्ड बनाएर पठाउनु, अर्कोतिर रोक्न माग गर्दै सरकारसँग ‘लबिइङ’ जारी राख्नु नै दुराशयपूर्ण छ । यस्तो अवरोध पहिलो पटक होइन । जबकि यस्तो कार्य विश्व व्यापार संगठन (डब्लूटीओ), दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) सम्झौता, नेपाल–भारत व्यापार सन्धिको विपरीत हो । यी सम्झौता तथा सन्धिको व्यवस्थाअनुसार व्यापार, त्यसमाथि कृषि उत्पादनमा अवरोध गर्न मिल्दैन । तर, सामान्य अवस्थामा समेत नेपाली उत्पादन निर्यातका क्रममा व्यवसायीहरूले दुःख पाएका छन् । सहजै निर्यात गर्न सकेका छैनन् । तसर्थ, निर्यातमा भएको अवरोध तत्काल हटाउनु अनिवार्य छ ।

भारतीय पक्षले नेपाली प्रयोगशालामा समस्या भएको र भारतले मागेअनुसार गुणस्तर दिन नसकेको आरोप लगाउने गरेको छ, जुन बहाना मात्रै रहेको नेपाली व्यवसायीको बुझाइ छ । यो समस्याको दीर्घकालीन समाधान गर्न सीमा क्षेत्रमा तत्काल अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला स्थापना गर्न पनि सकिन्छ । अर्कोतर्फ नेपाली व्यवसायीले समेत यसमा पहल लिन सक्छन् । त्यसैले समस्या समाधानका लागि नेपालबाट पनि चौतर्फी प्रयास गरिनुपर्छ । भारतका पश्चिम बंगाल, बिहार सरकार र त्यहाँका सांसदसँग पहुँच भएका नेपाली व्यवसायीहरूले त्यहाँका सरोकारवालासँग छलफल/बहस चलाउनुपर्छ । र, खास गरी नेपाल सरकारले नै पनि गम्भीर पहल लिनुपर्छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चिया रोक्नकै लागि भारत सरकारले आधिकारिक पत्र पठाएको छैन । भारतीय व्यवसायीको चलखेलका कारण भने समस्या देखिएको बुझाइ छ । वाणिज्यले काँकडभिट्टालगायत नाकामा रोकिएका कन्टेनर छुटाउन कूटनीतिक पहल गर्न आग्रह गरिरहेको जनाएको छ । सहजीकरण गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्रमार्फत आग्रह गरेको र दिल्लीस्थित नेपाली दूतावासलाई पनि परिचालन गरिएको जनाइएको छ । तर पनि निर्यातमा भइरहेको अवरोध अन्त्य भएको छैन । त्यसैले नेपाल सरकारको उच्च तहबाटै अवरोध हटाउन गृहकार्य गर्नुपर्छ । नेपालका लागि चुलिँदो व्यापार घाटा, नेपालबाट थोरै उत्पादन मात्रै निर्यात, विदेशी विनिमय सञ्चितिमा परिरहेको दबाबदेखि चिया उत्पादकलाई प्रोत्साहन गर्नका लागि समेत यो कार्य सरकारको प्राथमिकतामा पर्नुपर्छ ।

प्रकाशित : मंसिर ९, २०७८ ०८:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×