कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अलपत्र बसपार्क, उदासीन महानगर

गत साउनमै बनिसकेर सञ्चालनमा ल्याउनुपर्ने बसपार्क अझै अलपत्र, निर्माणको काम बल्ल ७० प्रतिशत
सीमा तामाङ

काठमाडौँ — पुरानो बसपार्कबाट सञ्चालन हुने बसपार्क खुलामञ्च हुँदै उपत्यकाका विभिन्न ठाउँमा छरिएका छन् । नयाँ व्यवस्था नभएसम्मका लागि मध्यम दूरीको सवारीसाधनलाई उपत्यकाका विभिन्न ठाउँमा अस्थायी बसपार्कको व्यवस्था मिलाइएको छ भने उपत्यकाभित्र चल्ने सवारीसाधनलाई चढाउने र ओराल्ने व्यवस्था छ । तर, अपायक ठाउँमा राखिएका बसपार्कका कारण यात्रुलाई हैरानी छ । अस्थायी बसपार्कमा लामो समयसम्म रोक्न नपाउँदा चालकलाई पनि उत्तिकै समस्या छ ।

अलपत्र बसपार्क, उदासीन महानगर

२०७३ मा बहुतल्ले सपिङ कम्प्लेक्ससहितको बस टर्मिनलका लागि ‘काठमाडौं टावर परियोजना’ निर्माण गर्न भन्दै राष्ट्रिय सभागृह पछाडिको पुरानो बसपार्क खुलामञ्चमा सारिएको थियो । खुलामञ्चमा करिब ६ वर्षसम्म सञ्चालनमा रहेको आएको अस्थायी बसपार्क पनि महानगरले गत वैशाखमा हटाएपछि भने समस्या ज्यूँका त्यूँ छ ।

सम्झौताअनुसार काम भएको भए गत साउनमै टावर बनेर नयाँ बसपार्क सञ्चालनमा आउनुपर्ने हो । हालसम्म टावरको काम ७० प्रतिशतमात्र सकिएको छ । महानगरपालिका पदाधिकारीहरू ठेकेदार कम्पनीले बुझाइरहेको रोयल्टीबाटै सन्तुष्ट देखिन्छन् । कम्पनीले हालसम्म ७ करोड ७७ लाख ५३ हजार ३ सय ३२ रुपैयाँ तिरिसकेको छ । कम्पनीले हरेक आर्थिक वर्षको पहिलो महिनामा रोयल्टी बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ । रोयल्टी पाए पनि नयाँ बसपार्क सम्पन्न नहुँदा सिर्जित समस्याका बारेमा भने महानगर गम्भीर देखिँदैन ।

महानगरले बहुतल्ले भवन समयमा सम्पन्न गर्न ताकेता गर्नुको सट्टा खुलामञ्चबाट हटाई सडकमा पुर्‍याइएको बसपार्कका लागि अन्य नगरपालिकासँग समन्वयमा अन्य स्थानमा अस्थायी रूपमा सञ्चालन गर्नका लागि प्रक्रिया थालेको छ । त्यसमा पनि सन्तोषजनक प्रगति नभएको महानगरका कर्मचारीहरू नै स्विकार्छन् । उपत्यकाभित्रकै छोटो दूरीका सवारीलाई पिक एन्ड ड्रपको व्यवस्था गरिएको छ । स्थायी बसपार्क नहुँदा कहिले कता कहिले कताबाट टेम्पो चलाउन बाध्य रहेको अन्तरे लामाले सुनाए ।

पुरानो बसपार्कबाट हटाइएसँगै बसपार्कको समस्या सुरु भएको महानगर यातायात समितिका अध्यक्ष धर्म रिमाल बताउँछन् । ‘पुरानो बसपार्कमा संरचना बनाउन्जेलसम्मका लागि भन्दै खुलामञ्चमा सारियो,’ उनले भने । मध्यम दूरीको सवारीसाधनका लागि लोकन्थली पेट्रोलपम्प पछाडि र तीनकुनेमा व्यवस्था गरेपछि छोटो दूरीका सवारीसाधन सडकमै रहेको उनी बताउँछन् । ‘पिक एन्ड ड्रप भन्छन्, ट्राफिकले चिट काट्छन्, समस्या नै समस्या छ,’ उनले भने । रिमालका अनुसार महानगरभित्र मात्र ८६ वटा कम्पनीका ८ हजारभन्दा बढी सवारीसाधन सडकमा छन् ।

महानगरको सार्वजनिक निजी साझेदारी एकाइअन्तर्गत पुरानो बसपार्कको करिब ११ हजार ८ सय ९० वर्ग मिटर जग्गामा जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स कम्पनीले काठमाडौं टावर निर्माण गरिरहेको छ । भूमिगत दुई तल्लासहित १४ तल्लाको काठमाडौं टावर बन्दै छ । कम्पनीले साढे ३ अर्बको लागतमा काम सुरु गरेको थियो । महानगरले कम्पनीलाई ३० वर्षका लागि लिजमा दिएको हो । कम्पनीले ५ वर्षमा टावर निर्माण गरी २५ वर्ष सञ्चालन गरेपश्चात् महानगरलाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार २०७३ साउन मसान्तदेखि ५ वर्षभित्र कम्पनीले टावर निर्माण सम्पन्न गरी बसपार्क सञ्चालनमा ल्याउनुपर्ने थियो । हालसम्म टावरको ८ तल्लाको काम सकेर नवौं तल्लाका लागि पिल्लरको काम भइरहेको विभागीय प्रमुख नूरनिधि न्यौपानेले बताए ।

सम्झौतामा निर्माण अनुगमन गर्न महानगरले स्वतन्त्र इन्जिनियर र प्राविधिक समिति खटाउन सक्ने उल्लेख भए पनि स्वतन्त्र इन्जिनियर नियुक्त गरिएको छैन । सार्वजनिक निजी साझेदारी इकाईका प्रमुख नूरनिधि न्यौपानेले स्वतन्त्र इन्जिनियरबाट अनुगमन गराउने सम्बन्धमा प्रस्ताव तयार पारेर पेससमेत गरेको बताए । तर, त्यसको कार्यप्रगतिबारे आफूलाई थाहा नभएको उनले बताए ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले स्वतन्त्र इन्जिनियर नियुक्त नभएसम्म महानगरकै प्राविधिकबाट अनुगमन गर्ने गरी नक्सा विभागका निवर्तमान प्रमुख इन्जिनियर सुरज शाक्यको संयोजकत्वमा वीरबहादुर खड्का, घनश्याम पौडेलसहित तीन सदस्य कार्यदलसमेत बनाए । स्रोतका अनुसार अनुगमनका क्रममा कम्पनीले सहयोग नगरेका कारण कार्यदलले प्रतिवेदनमा कुनै ठोस सुझाव दिन सकेन ।

प्रकाशित : मंसिर ८, २०७८ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?