बैंकिङ कसुर मुद्दाका फरार लिम्बु पक्राउ

काठमाडौँ — नेपाल प्रहरीले बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैङ्किङ कसुर मुद्दामा फरार ताप्लेजुङ फुङलिङ नगरपालिका–११ घर भई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ चपली बस्दै आएका ४६ वर्षीय आन्दीराम इजम लिम्बुलाई शुक्रबार पक्राउ गरेको हो । 

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७६ मङ्सिर १० को फैसलापछि पाँच दिन कैद सजाय र बिगोबमोजिम ३० लाख रुपैयाँ जरिवना हुने फैसला गरेपछि फरार लिम्बुलाई भक्तपुरको नयाँठिमीबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका लिम्बुले आफ्नो सिद्धार्थ बैँक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्याउँदै चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार उक्त फैसला सुनाएको थियो । पक्राउ परेका लिम्बुलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।

प्रकाशित : मंसिर ३, २०७८ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?