२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

तेस्रो किरात राई अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

कान्तिपुर संवाददाता

काठमाडौँ — किरात राई जातिको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा कात्तिक २७ गतेबाट तीन दिनसम्म हुने सम्मेलनमा १८ मुलुकका प्रतिनिधि सहभागी हुनेछन् ।

तेस्रो किरात राई अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

‘संसारभर छरिएर रहेका किरात राई जातिको इतिहास, मुन्दुम संस्कृति, परम्परा खोजी र संरक्षणका निम्ति प्राज्ञिक बहस गर्न सम्मेलनलाई निरन्तरता दिइएको हो,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा समन्वय समिति तथा किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले भने, ‘आसन्न राष्ट्रिय जनगणनामा राई जाति, राई जातिभित्रका २६ भाषाहरूको अवस्था, किरात सिरिजंगा लिपिको प्रयोग, किरात धर्म र माङखिम, मुन्दुममा सुप्तुलुङको स्थान र प्रयोग, किरात प्रदेश अभियान विषय केन्द्रित भएर बहस गरिनेछ ।’

यायोक्खाका विदेश विभाग प्रमुख जीवन हाताचो राईका अनुसार सम्मेलनमा विभिन्न मुलुकबाट प्रतिनिधि चयन गर्ने क्रम जारी रहेको छ । ‘विश्वमा रहेका किरात राईहरूको साझा सरोकारको विषय बुझेका प्रतिनिधिहरू सहभागी हुनेछन्,’ समन्वय समितिका सचिवालय सदस्यसमेत रहेका राईले भने, ‘किरात राईहरूलाई अनन्तकालसम्म एकताको सूत्रमा बाँध्न समन्वय समिति गठन भएको हुँदा सम्मेलनले मुन्दुम, भाषा, संस्कृति, साहित्य, कलाप्रति साझा धारणा निर्माण गर्न सम्मेलनमा टेवा पुर्‍याउनेछ ।’

समितिका महासचिव जनक राईका अनुसार सम्मेलनमा भारत, बेलायत, हङकङ, मकाउ, अमेरिका, कतार, यूएई, इजरायल, मलेसिया लगायत देशका प्रतिनिधि सहभागी रहनेछन् । यसैगरी यायोक्खाको २३ जिल्ला कार्यसमितिका प्रतिनिधि, २६ वटा भाषिक संस्थाका प्रतिनिधि, विषयविज्ञ, अभियन्ता गरी ३ सय ५० जनाभन्दा बढी सहभागिता रहने बताइएको छ ।

प्रकाशित : कार्तिक १०, २०७८ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?