२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

लोपोन्मुख पोखरीले धमाधम पुनर्जन्म पाउँदै

भूमाफियाको कब्जामा पुगेका जग्गालाई स्थानीयले फिर्ता ल्याएपछि भक्तपुरको ऐतिहासिक पलिस्वाँ पुखुः पुरानै स्वरुपमा, मध्यपुर थिमिमा मात्रै १५ पोखरीको पुनर्निर्माण
लिला श्रेष्ठ

भक्तपुर — संरक्षण अभावमा चौरमा परिणत भएका ऐतिहासिक पलिस्वाँ पुखुः (कमल पोखरी) को संरक्षण र पुनर्निर्माण कार्य थालिएको छ । भूमाफियाको कब्जामा पुगेका जग्गालाई स्थानीयले फिर्ता ल्याएपछि ऐतिहासिक पलिस्वाँ पुखुःले पुनर्जन्म पाएको हो ।

लोपोन्मुख पोखरीले धमाधम पुनर्जन्म पाउँदै

तत्कालीन बोडे गाउँ पञ्चायत वडा नं. ६ कित्ता नम्बर १ को १५ रोपनी ९ आना सार्वजनिक जग्गा २०४२ मा व्यक्तिको नाममा दर्ता भई बिक्रीवितरण भएको थियो । व्यक्तिको नाममा किनबेच हुँदै आएको जग्गा २०२१ को नापीको अभिलेखमा भने सार्वजनिक पुखुः कै रूपमा रहेको उल्लेख छ । तर २०४२ असार ३१ गते कमल पोखरी कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ माघ २२ मा अधिकृत वारेसनामा बकसपत्र गरी मनाङ घर भई काठमाडौं ठमेल बस्ने ग्ल्याल्पो गुरुङको नाममा पास भएको स्थानीय बताउँछन् । जसमध्ये १३ रोपनी ९ आना ग्ल्याल्पोको नाममा, १ रोपनी तेन्जी शेर्पिणीको नाममा, १ रोपनी कर्सी जद्योना गुरुङ गरी हाल ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिलाई जग्गा बिक्री गरिएको देखिन्छ । सार्वजनिक पोखरी भएको जग्गा खरिद बिक्री हुँदै आए पनि स्थानीयको विरोधका कारण कसैले उपभोग भने गर्न सकेका थिएनन् । केही वर्षअघि उक्त पोखरीमा माटो पुर्न आएका केही व्यक्तिलाई स्थानीयले लखेटेका थिए ।

जिल्ला अदालत भक्तपुरले २०७५ असार २० मा विभिन्न व्यक्तिको नाममा बिक्री हुँदै आएको ऐतिहासिक पलेस्वाँ पुखुः लाई सार्वजनिक पोखरीका रूपमा कायम गर्ने फैसला गर्‍यो । अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको एकल इजलासले २०३५ देखि व्यक्तिको नाममा गएको पोखरीको १५ रोपनी ९ आना जग्गा मध्यपुर थिमिवासीको सार्वजनिक सम्पत्ति रहेकाले त्यसको संरक्षण गर्न आदेशसहितको फैसला सुनाएको थियो । फैसलालगत्तै नगरपालिकाले संरक्षण अभियान थालेको मध्यपुर थिमि नगर प्रमुख श्रेष्ठले बताए । नगरपालिकाले पलिस्वाँ पुखुः संरक्षणका लागि गुरुयोजना नै तयार पारेको थियो । नगरपालिकाले पुखुः पुनर्निर्माणका लागि करिब ३ करोड रुपैयाँ खर्च भएको जनाएको छ ।


मध्यपुर थिमि नगरपालिका–८ बोडेस्थित नगरपालिकाले संरक्षण गरेको पलिस्वाँ पुखु: । तस्बिर : लिला श्रेष्ठ

चार वर्षअघिसम्म ऐतिहासिक, सांस्कृतिक महत्त्वको विष्णुकुण्डको अवस्था पनि त्यस्तै थियो । करिब दुई दशकपछिको स्थानीय जनप्रतिनिधि र युवाको पहलमा मध्यपुर थिमि–४ स्थित ऐतिहासिक विष्णुकुण्ड पुखुः (पोखरी) ले पनि पुनर्जीवन पाएको छ । घाँसे झाडीमा परिणत भएको विष्णुकुण्डलाई मध्यपुर थिमि नगरपालिकाले जीर्णोद्धार गरी मुहार फेरिदिएको छ । संरक्षणको अभावमा उक्त पोखरी भासिएर लोप हुने अवस्थामा पुगेको थियो । स्थानीयको समेत श्रमदानमा विष्णुकुण्ड वरिपरि इँटाको पर्खाल लगाएर बत्ती जडान गरी आकर्षक बनाइएको छ ।

मध्यपुर थिमि–४ स्थित अन्य ऐतिहासिक दुईपोखरी (निगु पुखुः) को संरक्षण तथा पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको छ । संरक्षण अभावमा पानी सुकेर वर्षौंदेखि खेल मैदानमा परिणत दुईपोखरी उपभोक्तामार्फत संरक्षण थालेको नगर प्रमुख श्रेष्ठले बताए । नगरपालिकाले दुई चरणमा दुईपोखरी संरक्षण सम्पन्न गर्ने भएको छ । पोखरीको चारैतिर इँटाको पर्खाल लगाई, कालीमाटी र इँटा छापेर पानी भरिएको छ । सुरुमा ६ इन्च कालीमाटी, ३ इन्च पाँगो माटो र पुनः ६ इन्च कालीमाटी गरी १५ इन्च माटो बिछ्याएपछि इँटा सोलिङ गरिएको हो । मध्यपुर थिमि इनाय टोलको राजगणेशदेखि दिगुभैरव मन्दिरसम्मको पानी संकलन गर्ने र संकलित पानी दुई स्थानमा प्रशोधन गरेपछि मात्र पोखरीमा खसाल्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।


भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित भक्तपुर नगरले संरक्षण थालेको निर्माणाधीन भाज्या पुखु: ।

नगरपालिकाका अनुसार दुईपोखरी संरक्षण, पुनर्निर्माणका लागि करिब १५ करोड रुपैयाँ खर्च हुने अनुमान छ । तीन वर्षमा सक्ने गरी सुरु गरिएको पुनर्निर्माणमा पैदलमार्ग र ८ वटा फल्चा (पाटी) निर्माण गरी दुईपोखरीलाई नगरको मुख्य सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको नगर प्रमुख श्रेष्ठले बताए ।

नगर प्रमुख श्रेष्ठका अनुसार मध्यपुर थिमि नगरक्षेत्रभित्रका बालकुमारी पुखुः, दक्षिण बाराही पुखुः, शिवा पुखुः, भुलांखेल पुखुः, कंयकुता पुखुः, नगदेशको गुंला पुखुः, कुमारी पोखरी, खपला पुखुः, देवु पुखुः र वामुने पुखुःलगायत १५ वटा पोखरी पुनर्निर्माण भइसकेका छन् । त्यसका साथै बप्पा महादेव पोखरी र याता पुखुः पनि उत्खनन गर्ने योजनामा रहेको उनले बताए । पोखरी संरक्षणका लागि मात्र करिब १३ करोड रुपैयाँ खर्च भइसकेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

छिमेकी भक्तपुर नगरपालिकाले पनि ऐतिहासिक पोखरीहरूको संरक्षणलाई प्राथमिकतामा राखेको देखिन्छ । झाडीले झन्डै पुरिइसकेको भक्तपुर नगरपालिका–१ स्थित भाज्या पुखुः लाई पनि केही महिनाभित्रै पुरानै स्वरूपमा ल्याउने गरी काम थालिएको छ । नगरपालिकाले दुई दशकअघि नै भाज्या पुखुःको संरक्षणको प्रयास गरे पनि ठोस काम हुन सकेको थिएन । दुई वर्षअघि सुरु भएको पुनर्निर्माण अन्तिम चरणमा छ । तर भक्तपुर नगरपालिका–१ स्थित ऐतिहासिक भाज्या पुखुः जीर्णोद्धार समितिका संयोजक इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले पुखुः को इतिहाससहितको प्रतिवेदन तयार गरेपछि पुनर्निर्माण अघि बढेको हो । प्रतिवेदनकै आधारमा भाज्या पुखुःको पुनर्निर्माण थालेको नगर प्रमुख सुनील प्रजापतिले बताए ।


मध्यपुर थिमि नगरपालिका–४ स्थित पुनर्निर्माण भएपछिको ऐतिहासिक विष्णुकुण्ड ।

भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणमा आफ्नो बेग्लै परिचय दिन सफल भएको उल्लेख गर्दै भाज्या पुखुः लाई मौलिक शैलीमा पुनर्निर्माण थालिएको प्रजापतिले बताए । इतिहासविद् श्रेष्ठका अनुसार भाज्या पुखुः काठमाडौंको रानीपोखरीभन्दा करिब पाँच सय वर्ष पुरानो र पोखरीको मध्यभागमा अवस्थित शिखर शैलीको मन्दिरमा जलेश्वरको मूर्ति रहेको अनुसन्धानले पुष्टि गरेपछि त्यसैका आधारमा नगरपालिकाले भाज्या पुखुः को पुनर्निर्माण र शिखर शैलीको जलेश्वर मन्दिर निर्माण थालेको हो । पुनर्निर्माणको कार्य अन्तिम चरणमा पुगेको भक्तपुर नगरपालिकाका योजना तथा सम्पदा शाखा प्रमुख इन्जिनियर रामगोविन्द श्रेष्ठले बताए ।

त्यस्तै चर्चामा नरहेको भक्तपुरको ऐतिहासिक रानीपोखरीलाई पनि मौलिक शैलीमा पुनर्निर्माण गरिएको छ । पोखरीलाई मौलिक शैलीमा पुनर्निर्माण तथा संरक्षण गर्न भक्तपुर नगरका जनप्रतिनिधिले पटक/पटक पुरातत्त्वविद्, इतिहासविद्सँग छलफल र अन्तर्क्रिया गरी प्राप्त प्रमाणका आधारमा पुनर्निर्माण गरेको नगर प्रमुख प्रजापतिले बताए । भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको हाताभित्र रहेको रानीपोखरी संरक्षण अभावमा कुरूप बनेको थियो । २०४० मा सैन्य तालिम केन्द्रका लागि सरकारले पोखरी आसपासका सार्वजनिक र सर्वसाधारणको जग्गासमेत अधिग्रहण गरेको थियो । पोखरी क्षेत्र पुतली बगैंचासहित करिब ३२ रोपनीमा फैलिएको छ ।

इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरको रानीपोखरी काठमाडौंको रानीपोखरी भन्दा पुरानो हो । प्रमाणका आधारमा भक्तपुरको रानीपोखरी काठमाडौंको भन्दा ४० वर्ष पुरानो मानिन्छ । काठमाडौंको रानीपोखरी नेपाल संवत् ७९० अर्थात् १७२७ सालमा प्रताप मल्लले बनाएका हुन् । कान्तिपुरका राजा प्रताप मल्लले भक्तपुर आक्रमण गर्दा पोखरीमा आक्रमण गरेको पाइएको श्रेष्ठले बताए । ‘प्रताप मल्ल चाँगु हुँदै भक्तपुरको उत्तरतिरको महाकाली पीठसम्म आक्रमण गर्दै आए । तर भक्तपुरको पर्खालबाट भित्र छिर्न सकेनन् । त्यहाँ मजबुत गढ थियो । उत्तरबाट नसकेपछि भक्तपुरको पश्चिममा रहेको रानीपोखरीबाट आक्रमण गरेका थिए,’ श्रेष्ठले भने, ‘प्रताप मल्लले सुन्दर पोखरी बिगारे । यहाँका सुन्दर कलाकृति उठाएर हनुमानढोका दरबारमा सजाउन लगे ।’ भक्तपुरमा लगातार आक्रमण गरेका प्रताप मल्लले पोखरीका कलाकृति लैजानुले आफ्नो सहरमा त्यसपछि रानीपोखरी बनाएको सहजै अनुमान गर्न सकिने श्रेष्ठ बताउँछन् । भक्तपुरका भाजुपोखरी, सिद्धपोखरी, रानीपोखरी देखेपछि प्रताप मल्लले आफ्नो दरबारको पूर्वमा रानीपोखरी बनाएको उनको दाबी छ ।

आक्रमणबाट भताभुंग भएको रानीपोखरीलाई ललितपुर र काठमाडौंका राजालाई बोलाएर जीर्णोद्धार गरिएको इतिहास रहेको उनले बताए । जगज्योर्ति मल्लले नगरको शोभा बढाउन, राज्यको प्रतिष्ठा कायम राख्न, संस्कृति जीवन्त बनाउन र जल भण्डारण गर्न पोखरी बनाएको उनले बताए । प्रताप मल्लले आक्रमण गर्दा क्षति पुगेको पोखरीको नेपाल संवत् ७९८ मा जितामित्र मल्लले जीर्णोद्धार गरेपछि ‘न्हु पुखुः’ नामले पनि यो पोखरी चिनिन थालेको श्रेष्ठले बताए । भक्तपुर नगरले भाज्या पुखुः र रानीपोखरी जस्तै अन्य पोखरीहरूलाई समेत मर्मत तथा संरक्षण गर्दै आएको इन्जिनियर श्रेष्ठले बताए ।

प्रकाशित : कार्तिक ९, २०७८ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?