हाब्रेको छालासहित ५ जना पक्राउ- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हाब्रेको छालासहित ५ जना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — संरक्षित वन्यजन्तुको सूचीमा रहेको हाब्रेको छालासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सत्कार क्याफेबाट करिब ९० सेन्टिमिटर लम्बाई र १५ सेन्टिमिटर चौडाई भएको हाब्रे को छाला र ६ थान मोबाइलसहित महानगरीय अपराध महाशाखाले ५ जनालाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ घरभई काठमाडौं–६ बस्ने २६ वर्षीय युवक लामा, नुवाकोट पञ्चकन्या गाउँपालिका–४ घरका २१ वर्षीय रुपेश अधिकारी, संखुवासभा सिलिचुङ गाउँपालिका–२ का २२ वर्षीय अरुण राई, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ घरभई जोरपाटीका २० वर्षीय सुभाष गिरी र रसुवा गोसाइकुण्ड गाउँपालिका–६ घरभई गोकर्ण बस्ने २० वर्षीय दावा घले छन् ।

काठमाडौं चाबहिल क्षेत्रमा हाब्रेको छाला अवैध रुपमा बिक्री गर्न राखेको सूचनाको आधारमा महाशाखाले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई उक्त छालासहित आवश्यक कारबाहीका लागि सोमबार जिल्ला वन कार्यालय काठमाडौं पठाइएको महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

प्रकाशित : कार्तिक ८, २०७८ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्

वरिष्ठ अधिवक्ताहरूले मागे प्रधानन्यायाधीश जबराको राजीनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा । फाइल तस्बिर ।

वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, कृष्णप्रसाद भण्डारी र सुरेन्द्रकुमार महतोले न्यायालयलाई धेरै विवादमा तान्ने काम गरेको उल्लेख गर्दै प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता श्रेष्ठले न्यायपालिकालाई जोगाउन र प्रधानन्यायाधीश जबरा आफैलाई बढी क्षति हुन नदिन पनि तत्काल राजीनामा दिन उपयुक्त हुने तर्क गरे । उनले न्यायालयलई यतिधेरै विवादमा ल्याउने प्रधानन्यायाधीश जबरालाई पदमा बसिरहन नैतिकताले समेत नदिने बताए ।

उनले भने, ‘जरुरी के छ भने छिटोभन्दा छिटो उहाँले राजीनामा दिन जरुरी छ । अब उहाँ जति प्रधानन्यायाधीश भएर बस्नु भो, त्यति उहाँको व्यक्तित्वको क्षय हुन्छ । अहिले जति कुरा सतहमा आएको छ, त्यो भन्दा बढी कुरा आउँछ । उहाँको व्यक्तित्वको पनि थप क्षति हुन्छ । न्यायपालिकाको त क्षति भएकै छ । त्यसैले न्यायपालिकालाई जोगाउने हो भने उहाँको व्यक्तिको क्षति कम गराउने हो भने उहाँले २/४ घण्टामा राजीनामा दिन जरुरी छ । यदि राजीनामा दिनुभएन भने न्यायालयलाई यति धेरै विवादित बनाएर पदमा बस्ने नैतिक अधिकार उहाँलाई छैन ।’

अर्का वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानन्यायाधीश जबराले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरे । उनले न्यायालयमाथि देखिएको जोखिम टार्न पनि प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने र उनको विकल्प खोजी गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे । वरिष्ठ अधिवक्ता भण्डारीले भने, ‘अहिले न्यायिक जगत जलिरहेको छ । निभाउने मान्छे अपांग भइसकेको छ । त्यसैले प्रधानन्यायाधीश नै प्रमुख व्यक्ति हो । उनले अहिले तुरुन्तै राजीनामा दिएर यो जो जोखिमलाई सुधार्नु पर्दछ । प्रधानन्यायाधीशले अहिले तुरुन्त राजीनामा दिनु र अनि नयाँ विकल्प तत्काल खोज्नुपर्ने हुन्छ ।’

न्यायालयमाथि अति गरेकाले प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त गर्नुपर्ने अवस्था आएको वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतोले बताए । उनले नेपालको इतिहासमै न्यायपालिकाले कार्यपालिकासँग समेत लेनदेनको काम काम गर्नु दु:खद भएको उल्लेख गर्दै त्यस कामको नेतृत्वकर्ताको हैसियतमा प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

प्रकाशित : कार्तिक ८, २०७८ १८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×