५ दिनमा करिब ६ लाखले काठमाडौं उपत्यका छाडे- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ दिनमा करिब ६ लाखले काठमाडौं उपत्यका छाडे

नुमा थाम्सुहाङ

काठमाडौँ — घटस्थापनादेखि आइतबारसम्म करिब ६ लाख ५ हजार ५ सय ८५ जना उपत्यकाबाट बाहिरिएका छन् । महानगरिय ट्राफिक प्रहरी महाशाखाका सूचना अधिकारी एसपी सञ्जीव शर्मा दासले पाँच दिनमा उक्त संख्यामा यात्रु बाहिरिएको जानकारी दिए ।


अग्रिम टिकट बुकिङ गरेकाहरु बिहीबार (घटस्थापना) देखि काठमाडौंबाट बाहिरिन्छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले असोज १ देखि २४ गतेसम्म ९ लाख यात्रु बाहिरिसकेको जानकारी दिए ।

‘टीकाको अघिल्लो दिनसम्म यात्रुहरु उपत्यकाबाट बाहिरिन्छन्,’ उनले भने, ‘सोमबार, मंगलबार र बुधबार दिनमा करिब ३/४ लाख यात्रु बाहिरिन्छन् ।’

कोभिड–१९ अघिको दसैंमा २४/२५ लाख यात्रु बाहिरिने गरेको उनले बताए । गएको वर्ष कोभिडका कारण दसैं र तिहारमा निषेधाज्ञ जारी गरिएको थियो । यसपाली भने आधा यात्रुले दसैंमा उपत्यका छाड्ने अनुमान गरिएको उनले सुनाए ।

प्रकाशित : आश्विन २५, २०७८ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्

उद्योगलाई मात्रै प्लास्टिक आयात खुला

देशभित्रै ३० माइक्रोनका झोला उत्पादन गर्न दिन उद्योगीको माग
नुमा थाम्सुहाङ

काठमाडौँ — वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य कच्चा पदार्थ आयात बन्द गरेको महिनापछि औद्योगिक प्रयोजनका लागि भन्दै अर्को निर्णय गरेको छ । गत भदौ २८ मा राजपत्रमा सूचना प्रकाशित गर्दै मन्त्रालयले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको थियो । सोही निर्णयलाई संशोधन गर्दै यही असोज १८ मा राजपत्रमा सूचना प्रकाशित गरी औद्योगिक प्रयोजनका लागि आयात खुला गरेको मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले बताए ।

‘औद्योगिक प्रयोजनका लागि प्लास्टिकजन्य कच्चा पदार्थको आयातमा रोक लगाइएको छैन,’ उनले भने, ‘यसबाहेक ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला वा अन्य प्लास्टिकमा रोक लगाउने निर्णय भएको छ ।’ सरकारको यसअघिको निर्णयले प्लास्टिक प्रयोग हुने औद्योगिक वस्तुहरूको उत्पादनसमेत रोकिएको थियो । आवश्यक कच्चा पदार्थ रोकिँदा उत्पादनमा असर परेको भन्दै व्यवसायीले आयात खुलाउन पहल गरेका थिए । उद्योगीहरूको दबाबपछि सरकारले उक्त निर्णय सच्चाएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका प्रमुख भरतराज आचार्यले प्लास्टिक आयातमा प्रतिबन्धले निम्त्याएको समस्याबारे सरकारलाई जानकारी गराएको बताए । ‘सरकारले पनि यसको गम्भीरतालाई महसुस गर्‍यो । औद्योगिक प्रयोगका लागि तयारी र अर्ध तयारी कच्चा पदार्थ आयात गर्न पाइने निर्णय हाम्रा लागि सकारात्मक हो,’ उनले भने, ‘पहिलेको निर्णयले कच्चा पदार्थसहितको १ सय वटा गाडीहरू नाकामा १०/१५ दिनसम्म रोकिए । यसले उद्योगहरूको उत्पादनमै असर पुग्यो ।’

उनका अनुसार चाउचाउ, दूध, कापीको लेमिनेसन, कस्मेटिक्स, फुड प्याकेजिङ, एयरपोर्टमा ब्याग प्याकिङ, पानीका बोतल, औषधिजन्य उत्पादन, विभिन्न लेयर लगायतमा प्लास्टिकको सिट प्रयोग हुन्छ । यसका लागि चाहिने कच्चा पदार्थ रोकिए उपभोग्य वस्तुको उत्पादनमै असर पुग्ने उनले बताए । पूर्वअर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेटले प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिक साउन १ देखि पूर्णरूपमा प्रतिबन्ध गर्ने व्यवस्था गरेको थियो ।

प्लास्टिक आयातमा लगाइएको रोक खुलाइए पनि मुलुकभित्र उत्पादन हुने ४० माइक्रोनभन्दा कमका झोलामा भने निर्णय यथावत् रहेको प्लास्टिक उत्पादक संघका अध्यक्ष शरद शर्माले बताए । यसले सरकारले उद्योगीहरूसँग गर्ने व्यवहार एकैनासको नभएको स्पष्ट पारेको शर्माको भनाइ छ । अन्य उद्योगहरूको सन्दर्भमा सरकारले गरेको निर्णय राम्रो भए पनि प्लास्टिक उत्पादन गर्ने उद्योगहरूको विषयमा सरकारले पक्षपाती व्यवहार गरेको उनले आरोप लगाए ।

‘हाम्रो माग प्लास्टिकका झोलाको मापदण्ड ४० बाट घटाएर ३० माइक्रोन पुर्‍याउनुपर्छ भन्ने हो,’ उनले भने, ‘पहिलेको ३० माइक्रोनको निर्णय छ, त्यही कार्यान्वयन गर्नुपर्‍यो । पहिले सरकारले २० र पछि बढाएर ३० माइक्रोन पुर्‍यायो । पछि झन् ५० माइक्रोन पुर्‍याउला । बढाउनु मात्र समस्याको समाधान होइन । यसको व्यवस्थापन गर्न सक्नुपर्‍यो ।’ महासंघका उद्योग समितिका प्रमुख आचार्यले औद्योगिक नीति ल्याउनुभन्दा अगाडि व्यवसायीहरूसँग छलफल गर्नुपर्ने बताए ।

प्रकाशित : आश्विन २४, २०७८ ०७:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×