१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बिनानम्बर प्लेटका २ सय १९ मोटरसाइकल नियन्त्रणमा

कान्तिपुर संवाददाता

काठमाडौँ — बिनानम्बर प्लेट सञ्‍चालन गरिएका २ सय १९ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट विरुद्धको कारबाही अभियानका क्रममा नम्बर प्लेट नलेखिएका १ सय ६५ वटा र नबुझिने नम्बर प्लेट भएका ५४ वटा मोटरसाइकललाई कारबाही गरेको हो । नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, अनटेस्ट वा अस्थायी नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाइकलविरुद्ध विशेष जाँच अभियान संचालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । नयाँ, अनटेस्ट र स्पष्ट नदेखिने नम्बर प्लेट नलेखिका मोटरसाइकलहरुले दुर्घटना गर्दा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने र त्यस्ता मोटरसाइकल फरार हुँदा कारबाहीको दायरामा ल्याउनसमेत समस्या हुने गरेकोले अभियान थालेको उनले बताए ।

ट्राफिक नियम उल्लंघन गर्ने, दुर्घटना गरी फरार हुने तथा चाडपर्व र भीडभाडको समयमा हुन सक्ने चोरी लुटपाटलगायतका आपराधिक क्रियाकलाप नियन्त्रण गर्न अभियानले सहयोग पुग्ने महाशाखाले जनाएको छ ।

नम्बर प्लेट नराख्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले ५ सयदेखि १५ सय रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको एसएसपी भट्टराईले बताए ।


प्रकाशित : आश्विन २०, २०७८ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?