कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भाडा बढाउन आन्दोलनले सास्ती

विमल खतिवडा

काठमाडौँ — चाबहिलबाट सहिदगेटसम्मको गाडी भाडा शुक्रबार २० रुपैयाँ तिरेका सुमन अधिकारीले शनिबार सहचालकले २५ रुपैयाँ मागेपछि प्रतिवाद गरे । तर सरकारले नै भाडा बढाएको भन्दै सहचालकले लिस्ट थमाइदिएपछि उनी अक्क न बक्क बने । ‘हालसालै भाडा बढेको कुरा सुनिएको थिएन,’ उनले भने, ‘यातायात व्यवसायीले आफूखुसी बढाए जस्तो देखिन्छ ।’ अरू यात्रुले पनि भाडा बढेको थाहा नभएको भन्दै प्रतिवाद गरे । तर सहचालकले सबैलाई थर्काउँदै बढी भाडा असुलि छाडे ।

भाडा बढाउन आन्दोलनले सास्ती

यात्रुलाई देखाइएको लिस्टमा सरकारले असोज १५ मा गरेको निर्णय भनिएको छ । यो लिस्टमा काठमाडौं संयुक्त यातायात सञ्चालन प्रालिअन्तर्गतका सवारीको भाडा बढेको उल्लेख थियो । यसअघि पनि सार्वजनिक सवारीले भाडा बढेको भन्दै यात्रुसँग आफूखुसी बढी रकम असुल्दै आएका थिए । अहिले भने सरकारले नै निर्णय गरेको भन्दै केहीले लिस्ट बोकेर त केहीले यात्रुसँग जबर्जस्ती बढी भाडा लिन थालेका छन् ।

दसैंको मुखमा सार्वजनिक सवारीमा यात्रुको चाप बढेको छ । व्यवसायीले यही मौका छोप्दै बढी भाडा असुल्न थालेका हुन् । शनिबार र आइतबार गरेर ट्राफिक प्रहरीले बढी भाडा असुलेको भन्दै ११९ सवारीलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । तर पनि बढी भाडा असुल्ने क्रम भने रोकिएको छैन ।

भाडा बढाइएको विषयमा आफूहरूलाई कुनै जानकारी नभएको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘सरकारी पक्षबाट भाडा बढाउने निर्णय गरियो भनेर कुनै जानकारी पाएका छैनौं,’ उनले भने, ‘यस्तो निर्णय वाग्मती सरकारले गर्ने हो तर उसले अहिलेसम्म निर्णय गरेको छैन ।’ प्रदेश १ मा मात्र भाडा बढाइएको उनको भनाइ छ । ‘निर्णय नभई बढी भाडा लिनु कानुनविपरीत हो, यस्तो काम नगर्न सबैलाई आग्रह गर्छु,’ सिटौलाले भने । महासंघले अविलम्ब भाडा समायोजन गर्न सरकारलाई माग गर्दै आएको छ ।

यातायात व्यवस्था विभागले यसअघि असार २९ बाट लामा तथा मध्यम दूरीमा भाडा २८ प्रतिशतले बढाएको थियो । जिल्लामा भने बढाइएको छैन । स्थानीय रुटमा चल्ने सवारीमा भाडा बढाउनेबारे कुनै निर्णय नभएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले बताए । ‘निर्णय नै नभई सार्वजनिक सवारीले यात्रुसँग बढी भाडा असुल्न पाउँदैनन्, असुलेको पाइए कानुनअनुसार कारबाही गरिनेछ,’ उनले भने ।

प्रकाशित : आश्विन १९, २०७८ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?