वीरबहादुरलाई अस्ट्रेलियाबाट सहयोग- उपत्यका - कान्तिपुर समाचार

वीरबहादुरलाई अस्ट्रेलियाबाट सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — ९० वर्षको उमेरमा सिंहदरबार रंग्याउने काम खोज्दै असोज पहिलो साता सिंहदरबार पुगेका दोलाखाका वीरबहादुर सुनुवारबारे कान्तिपुर दैनिकमा प्रकाशित समाचारमाथि लेखिएको कवितामार्फत नगद सहयोग जुटेको छ ।

असोज २ गते कान्तिपुर दैनिकमा ‘सिहदरबार रंग्याउन आएका ९० वर्षीय वृद्ध’ शीर्षकमा दोलाखा तामाकोसीका वीरबहादुर सुनुवारबारे समाचार छापिएको थियो । उक्त समाचार पढेपछि कवि भोजराज न्यौपानेले सुनुवारलाई पात्र बनाई साहित्य पोष्ट अनलाइनमा ३ असोजमा ‘सिंहदरबारको रंग’ कविता लेखेका थिए । कविता पढेरे अस्ट्रेलियामा बसिरहेका दोलखाका व्यवसायी रामजी बस्नेतले ५० हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।

‘कविता पढेपछी अस्ट्रेलियामा रहेका भाइ रामजीले केही सहयोग पठाउँछु भनी खबर पठाउनु भयो,’ काठमाडौं शान्तिनगरमा सहयोग हस्तान्तरण गर्नुअघि कवि न्यौपानेले भने, ‘सम्भवत: कविता पढेर, कवितामा उल्लेख गरिएको पात्रलाई सहयोग जुटेको यो पहिलो घटना होला ।’

प्रवासबाट आएको सहयोग लिइसकेपछि वृद्ध सुनुवारले अपांगता भएकी पत्नी र आफ्ना लागि औषधि खर्च भएको बताए । ४ वर्षदेखि मुत्रथैलीमा समस्या आइपरेपछि पाइप लगाउँदै अइरहेका उनले हरेक हप्ता ६ सय रुपैयाँमा थैली बदल्न भक्तपुर दुवाकोटस्थित छोरीको घरबाट वीर अस्पताल जाने गरेको बताए । ‘मागेर खानु चोरेर नखाउनु भन्ने पहिलेदेखिको मान्यता हो,’ उनले भने, ‘मैले जीवनमा थुप्रै काम गरे । द्वन्द्वपीडित हुँदा काठमाडौंमा ३/४ वर्ष बिताउँदा रंगको काम गरेको थिए ।’ उनले त्यही अनुभवका आधारमा आफू सिंहदरबार श्रीमती र आफ्नो उपचार खर्च जोहो गर्न रंगको काम खोज्दै सिंहदरबार पुगेको बताए ।

सुनुवारलाई यसअघि कान्तिपुर दैनिकको समाचार पढेर साहित्यकार गणेश रसिकले उनकै डेरामा पुगेर २० हजार नगदसहित सहयोग प्रदान गरेका थिए ।

प्रकाशित : आश्विन १७, २०७८ २२:४९
प्रतिक्रिया
पठाउनुहोस्

नवराज सिलवाल भन्छन्- मैले रन्जित रेलाई कहिल्यै भेटेको छैन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरीका पूर्वडिआईजी तथा नेकपा एमालेका नेता नवराज सिलवालले नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेसँग आफूले कहिल्यै नभेटेको बताएका छन् । अफिसियल मिटिङ र समारोहभन्दा वाहेक व्यक्तिगत विषयलाई लिएर आफूले कहिल्यै नभेटेको उनको स्पष्टोक्ति छ । सिलवालले ट्वीटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

सिलवालले लेखेका छन्, "पूर्वभारतीय राजदूत रन्जित रेको किताब, 'काठमाडौं डिलेमा रिसेटिङ इन्डिया-नेपाल टाइज' मा गलत तथ्य उल्लेख भएकोमा दु:ख व्यक्त गर्न चाहन्छु । अफिसियल मिटिङ र समारोह वाहेक व्यक्तिगत विषयलाई लिएर मैले भारतीय राजदूतलाई कहिल्यै नभेटेको तथ्य सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गर्दछु ।"

आइतबार इकान्तिपुरमा प्रकाशित रेको नयाँ पुस्तक ‘काठमाडौं डिलेमा रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा सिलवालबारे सूचना समाचारका रुपमा सार्वजनिक भएपछि सिलवालले असहमति जनाएका हुन् । यसअघि कांग्रेस उपभासपति विमलेन्द्र निधिले पनि आफू गृहमन्त्री हुँदा तत्कालीन भारतीय राजदूत रञ्जित रेलाई आईजीपी बनाउने भन्नेबारे कुनै राय नमागेको बताएका छन् ।

प्रकाशित : आश्विन १७, २०७८ २२:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×