ञँलाले गुन्जाउने ब्याँचुली धुन

वर्षाका देवता इन्द्रलाई पुकारिने महिना पानी पर्छ, हुस्सु लाग्न सुरू हुन्छ । वर्षाले खेतीलाई फाइदा गर्छ । कृषि र पितृलाई भलो गर्ने महिना हो ञँला ।
दामोदर न्यौपाने

काठमाडौँ — चाबहिलको चारुमति बिहारबाट हरेक बिहान ञँला बाजा घन्कन सुरु हुन्छ । बिहारमा जम्मा भएर बाजा बजाउँदै एउटा समूह टोलको मुख्यमुख्य मठमन्दिरको परिक्रमा गर्छ । चारुमतीबाट मात्र नभई टोलका अरू नेवा खलःबाट पनि यसैगरी बाजा बजाउँदै मठमन्दिर परिक्रमा गर्छन् ।

ञँलाले गुन्जाउने ब्याँचुली धुन

ञँला बाजा बजाउँदै हिँडेको समूह गणेश मन्दिर, पिंगलास्थान, ध्वन्दो चैत्यमा बिहान ६ नबज्दै पुगिसकेको हुन्छ । सबैभन्दा अगाडि धिमे बाजा समूह, बाँसुरी र त्यसपछि छलीमुहली बाजा समूह हुन्छ । चाबहिल मात्र नभई काठमाडौं उपत्यकाका नेवारी बस्तीहरूमा एक महिनासम्म यसरी ञँला बाजा बजाएर टोलका मठ मन्दिर घुम्ने प्रचलन छ । ञँला बाजामा धुनचाहिँ ब्याँचुली गीतको हुन्छ । बासुरीले झन् मिठो धुन निकाल्छ । ‘ब्याँ भनेको नेपाल भाषामा बिहान हो । चुली भनेको कोपिलाजस्तै हो,’ नेवारी लोकसाहित्यका ज्ञाता शरद कसाले भने, ‘बिहानै गाइने भएकाले यसको नामै ब्याँचुली रहन गयो ।’

नेवारी पात्रोअनुसार ञँला वर्षको एघारौं महिना पनि हो । यसलाई खुसी र उमंगको महिनाको रूपमा लिइने संस्कृतिविद् यज्ञमानपति बज्राचार्यले बताए । गुँला महिना सकिनासाथ ञँला सुरु हुन्छ । गुँला पर्वको अन्तिम दिन भाद्र औंसी हो । गुँला महिनामा चरम अवस्थामा रहेको रोगव्याधि, अन्धकार, नराम्रा दिन हट्दै गएपछि खुसीको महिना सुरु हुने विश्वास गरिन्छ । खुसीको महिना भनेको ञँला हो । यही महिनामा सबैभन्दा इन्द्रजात्रा सुरु हुन्छ, दसैंतिहार आउँछ । नयाँ वर्ष सुरु हुन्छ । नेपाल सम्वत्को पहिलो महिना कक्षला हो । कक्षलापछि छिंला, पयँला, सिल्ला, दिल्ला, गुँला, ञँला र अन्तिम महिनाचाहिँ कौला हो । उत्साहको महिना ञँलामा बिहानै ब्याँचुली गाउँदै मठमन्दिर जानु नै उत्साहको सञ्चार गराउनुभएको कसाले बताए । ‘ब्याँचुली गाउँदा शरीरमा ऊर्जा प्राप्त हुन्छ,’ कसाले भने, ‘काम गरेर थाकेको शरीरमा उत्साहको लहर ल्याइदिन्छ ।’

कसाका अनुसार ञँला महिना यमराज र इन्द्रसँग जोडिएको विश्वास गरिन्छ । यमराजसँग जोडिनु भनेको पितृसँग जोडिनु हो । यो महिनामा पितृलाई उज्यालो दिन उमाकु मार्ग परिक्रमा गरिन्छ । इन्द्रजात्राको छेको पारेर बाँसको दियोमा बत्ती बालेर परिक्रमा गरिन्छ । इन्द्रसँग जोडिनुको अर्थचाहिँ कृषिसँग जोडिनु हो । ‘इन्द्र वर्षाका देवताका रूपमा पुकारिन्छ,’ कसाले भने, ‘यही बेला हुस्सु लाग्छ । पानी पर्छ । यसले खेतीलाई फाइदा गर्छ । यसरी कृषिलाई पनि पितृलाई पनि भलो गर्ने महिना हो ञँला ।’

बाजाको धुनमा ब्याँचुली बजे पनि गीतै गाउन भने छाडिएको छ ञँलामा ।

प्रकाशित : आश्विन १४, २०७८ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?