कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

धमाधम बन्दै ‘आउटडोर जिम’

उपत्यकाका अधिकांश स्थानीय तहले बनाए व्यायाम स्थल
शुल्क नलाग्ने भएपछि बढ्यो आकर्षण
सीमा तामाङ

काठमाडौँ — काठमाडौंको तीनकुनेस्थित वाग्मती किनारमा सञ्चालित खुला व्यायाम स्थलमा शनिबार बिहान कपिलवस्तुका ६१ वर्षे महेन्द्रमानसिंह शाक्य साइक्लिङ गर्न व्यस्त थिए । पहिले नियमित मर्निङवाक गर्ने शाक्य घुँडा दुख्ने समस्याका कारण विगत ३ वर्षअघिदेखि हिँड्न सक्दैनन् । आफ्नै वडामा खुला व्यायाम स्थल (आउटडोर जिम) निर्माण भएदेखि उनको दैनिकी त्यहीँबाट सुरु हुन्छ ।

धमाधम बन्दै ‘आउटडोर जिम’

‘यो पार्क बनेदेखि यहीँ आउँछु, मर्निङ वाकको साटो बिहान २ घण्टा साइक्लिङ र सिटअप गर्छु,’ उनले भने । शखंमूल बस्ने शाक्य थोरै हिँडेरै नै पार्क आइपुग्ने र शारीरिक व्यायाम पनि गर्न पाउने भएपछि मख्ख छन् । खाली जग्गामा फोहोर थुपार्नुको सट्टा यस्तै पार्क बनाएर प्रयोग गर्नुपर्ने उनको सुझाव छ । ‘बिहान पहिलो चरणमा त महिलाहरू मात्र हुन्छन्, पालो कुर्नुपर्ने अवस्था हुन्छ,’ उनले भने ।

आलोकनगर कमिटीद्वारा सञ्चालित पार्क सांसद कोष र स्थानीय समुदाय मिलेर निर्माण गरेका हुन् । तीनकुनेस्थित भीएस निकेतन स्कुलअगाडि वाग्मती किनारमा पीपलबोट चौतारीदेखि शंखमूलतर्फ रहेको मन्दिरसम्म पार्क बनाइएको छ । ‘पहिला पीपलबोट परिसरमा चौतारी, त्यसपछि खुला व्यायाम स्थल, पार्क र मन्दिर छ,’ आलोकनगर कमिटीका अध्यक्ष ध्रुव पोखरेलले भने । उनका अनुसार खुला व्यायामस्थल बिहान ६ देखि ८ र साँझ ५ देखि ७ बजेसम्म खोलिन्छ । ‘खुला व्यायाम स्थलमा इक्वुपमेन्ट राख्न करिब ५ लाख रुपैयाँ लाग्यो,’ उनले भने, ‘पीपलबोटको चौतारीेदेखि मन्दिरसम्म बस्ने ठाउँ र पार्क बनाउन र व्यायाम स्थलमा ढलानलगायत संरचनाका लागि ६० लाख रुपैयाँ खर्च भयो ।’

तीनकुने खुला व्यायामस्थलका अर्का प्रयोगकर्ता हुन्, कोटेश्वर बस्ने विश्व सापकोटा । सापकोटा २२ वर्षको उमेरदेखि नै दैनिक दुई घण्टा मर्निङवाक गर्छन् । तर, खुला व्यायाम स्थल बनेपछि उनको मर्निङवाक एक घण्टामा सीमित भएको छ । ‘अहिले १ घण्टा मर्निङवाक र १ घण्टा पार्कमै एक्सरसाइज गर्छु,’ उनले भने, ‘पार्क बनाएपछि झन सजिलो भयो ।’ जिम जान चाहने तर पैसा नहुने र मर्निङवाक मात्र गर्ने सबै प्रकारका मान्छेलाई यो पार्कले सजिलो भएको उनी बताउँछन् ।

महानगरभित्रै वडा नम्बर ४ को शंखपार्कमा पनि आउट डोर जिम बनाइएको छ । त्यहाँ व्यायामका लागि करिब ८ लाख रुपैयाँ बराबरका उपकरण राखिएका छन् । जिममा एव्डोमिनल फिटनेस कम्बिनेसन, एअर वाकर, डबल सफोर्ट, सिंगल रोइङ मेसिन, डबल स्लिट्स मेसिन, लेग एक्स्टेक्सन एन्ड फिटनेस राइडर, स्टान्डिङ एन्ड सिटिङ ट्वीस्टर, पुस अप एन्ड डिपस्टेसन र लेग लिफ्टरलगायत छन् ।

काठमाडौं महानगरमा मात्र होइन्, उपत्यकाका धेरैजसो नगरपालिकामा यस्ता आउटडोर जिम बनाउने क्रम सुरु भएको छ । चन्द्रागिरि–१५ ले पनि गोल्फुथली चोकमा आउटडोर जिम बनाएको छ । जिममा शुक्रबार ६६ वर्षीया भवानी आचार्य रबर ब्यान्ड एक्सरसाइज गर्दै थिइन् । हात काम्ने समस्या भएकाले उनले रबर ब्यान्डको सहायतामा एक्सरसाइज गरिरहेकी बताइन् । वडाले सार्वजनिक जग्गामा आउटडोर जिम सञ्चालन गरेपछि उनी खुसी छिन् । ‘आफ्नै घरनजिकै बनाइदिएको छ,’ उनले भनिन्, ‘अब धेरै हिँड्नु पर्दैन, यहीँ आएर कसरत गरे पुग्छ ।’ आचार्यजस्तै रमन नकर्मी पनि खुसी छन् । ‘मर्निङवाक गरेर आएर यही एक्सरसाइज गर्न थालेको छु,’ उनले भने, ‘जिममा तिर्ने पैसा पनि बचत हुने भयो ।’ नकर्मीले टुइस्टर र साइक्लिङ गरेको बताए ।

चन्द्रागिरि–१५ गोल्फुथली चोकमा बनाइएको आउटडोर जिममा व्यायाम गर्दै स्थानीय । तस्बिर : बिजु महर्जन/कान्तिपुर

वडा नम्बर १५ का अध्यक्ष उत्तमबहादुर राउतले ६ लाख रुपैयाँ खर्च गरेर गोल्फुथली आउटडोर जिम सञ्चालनमा ल्याइएको बताए । ५ सय स्क्वायर फिट क्षेत्रमा ५ किसिमका जिम सामग्री राखिएको छ । उनका अनुसार महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी ती सामग्री राखिएको हो । ‘फिजियोथेरापी गर्नेुपर्ने तथा मर्निङवाक गर्न चाहने ज्येष्ठ नागरिकका लागि यो उपयुक्त हुन्छ,’ उनले भने । सानो ठाउँ भएकाले एक पटकमा ९ जनाले मात्र व्यायाम गर्न मिल्ने गोल्फुथली आउटडोर जिम समितिका अध्यक्ष हरिशरण कार्कीले बताए । उनका अनुसार हाल बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म जिम सञ्चालन गरिएको छ ।

चन्द्रागिरिमा जस्तै कीर्तिपुर नगरपालिका–१० ले पनि दुई स्थानमा खुला व्यायाम स्थल बनाएको छ । वडा–१० का अध्यक्ष अमन महर्जनका अनुसार तननी र जिफागलमा जिम बनाइएको हो । ‘वडा भित्रका सार्वजनिक जग्गामा जिम बनाइएको हो,’ उनले भने, ‘तननीमा ४ वटा उपकरण छन् भने जिफागलमा ७ किसिमका ।’ दुई ठाउँमा गरी ५ लाख ५० हजार रुपैयाँ खर्चेर जिम बनाइएको उनले जनाए । त्यस्तै, कीर्तिपुरका १ र २ वडामा पनि खुला व्यायाम स्थल बनाइएको छ ।

प्रकाशित : आश्विन १२, २०७८ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?