कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जनप्रतिनिधिको विदेश भ्रमण घुमघाममै सीमित

विदेशी सहर र नगरसँगको भगिनी सम्बन्ध स्थापना जनप्रतिनिधिहरूका लागि विदेश भ्रमणको गतिलो बहाना बनेको छ
जनप्रतिनिधिको विदेश भ्रमण सरकारको पूर्वस्वीकृतिबिनै गरिएको भन्दै महालेखाले उठायो प्रश्न
महानगरबाट भएका अधिकांश विदेश भ्रमणको प्रतिवेदन नै बुझाइएको छैन भने बुझाएकोमा पनि तिनको कार्यान्वयनमा चासो दिइएको छैन
सीमा तामाङ

काठमाडौँ — २०७६ साउन १२ मा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य श्रीमतीसहित १० जनाको टोली लिएर भगिनी सम्बन्ध रहेको चीनस्थित ल्हासा सहर पुगे । टोलीले भ्रमणमा एक साता बितायो । शाक्यकै नेतृत्वमा उपप्रमुख हरिप्रभा खड्गीसहितको ३ सदस्यीय टोली ०७६ भदौ १६ मा वर्ल्ड टुरिज्म सिटिज फेडेरेसनको ‘फ्राग्रन्ट हिल्स टुरिज्म समिट २०१९’ मा सहभागी हुन फिनल्यान्ड पुग्यो ।

जनप्रतिनिधिको विदेश भ्रमण घुमघाममै सीमित

महानगरका जनप्रतिनिधि, पदाधिकारी र कर्मचारीको विदेश भ्रमणको सिलसिला यतिमै टुंगिँदैन । महानगरका कर्मचारी तथा जनप्रतिनिधि ०७६/७७ मा मात्र ७ पटक विदेश भ्रमणमा गएका थिए । जसअनुसार २२ जना चीन, जापान, फिनल्यान्ड र भारत भ्रमणमा गएको देखिन्छ । अधिकांश भ्रमणको खर्च महानगरले नै व्यहोरेको थियो । उक्त रकम ३ लाख ६६ हजार ४ सय ३५ रुपैयाँ छ । महानगरबाट भएका अधिकांश विदेश भ्रमणको प्रतिवेदन नै बुझाइएको छैन भने बुझाएकोमा पनि तिनको कार्यान्वयनमा महानगरले चासो दिएको छैन ।

नेपाल सरकारको वैदेशिक भ्रमण व्यवस्थापिका निर्देशिका २०७५ को दफा १४ (१) मा भने विदेश भ्रमणबाट फर्केको १५ दिनभित्रै भ्रमणको उद्देश्य, उपलब्धि र सिकाइ उपयोग गर्ने कार्ययोजनालाई समेटेर प्रतिवेदन तयार पार्नुपर्ने उल्लेख छ । ‘भ्रमण सम्पन्न भएको १५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने नियमअनुसार गर्‍यौं,’ प्रमुख शाक्यको टोलीसँगै ल्हासा गएका एक कर्मचारीले भने, ‘तर प्रतिवेदन त्यत्तिकै थन्कियो । अरू केही काम भएन ।’

तर भ्रमण भत्ता लिन भने ढिलाइ गरिएन । टोलीमा सहभागी निर्देशक गणेश थपलिया, फाइन आर्ट्स विज्ञ धर्मराज शाक्य, सुष्मा राजभण्डारीबाहेक ७ जनाले भ्रमण भत्ता लिएको महानगरकै तथ्यांकले देखाउँछ । प्रमुख शाक्यले ल्हासा भ्रमणको भत्ताबापत १७ हजार ७ सय ३२ रुपैयाँ बुझेका थिए । उक्त टोलीमा सहभागी वडाध्यक्षद्वय भरतलाल श्रेष्ठ, भाइराम खड्गी, कार्यपालिका सदस्य रश्मी खड्गी, वडा सदस्य हीरादेवी पोखरेल प्रत्येकले ११ हजार ३ सय ४९ रुपैयाँका दरले भत्ता बुझेका छन् । महानगरको तथ्यांमा नदेखिए पनि निर्देशक थपलियाले १४ हजार १ सय ८६ रुपैयाँ बुझेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, वर्ल्ड टुरिज्म सिटिज फेडेरेसनको ‘फ्राग्रन्ट हिल्स टुरिज्म समिट २०१९’ कार्यक्रममा सहभागी भएबापत पनि महानगरले भ्रमण खर्च व्यहोरेको थियो । त्यसबापत प्रमुख शाक्य र उपप्रमुख खड्गीले समान ४३ हजार ३९ रुपैयाँका दरले भत्ता बुझेका छन् । त्यस्तै, महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका तत्कालीन प्रमुख यमप्रसाद बसेलले चीन र फिनल्यान्ड भ्रमणबापत एकमुष्ट ६० हजार ९५ रुपैयाँ बुझेको देखिन्छ ।

महानगरका अनुसार २०७६ साउन १६ गते इलेक्ट्रिक मोबिलिटी प्रोग्राममा वडाध्यक्ष मोहन विष्ट र मेकानिकल इन्जिनियर पुरुषोत्तम शाक्य तथा चीन इन्टरनेसनल इम्पोर्ट एक्स्पोमा वडाध्यक्षद्वय शुद्धकुमार डंगोल, रमेश डंगोल र सम्पदा तथा पर्यटन विभागका तत्कालीन निर्देशक रामबहादुर थापा सहभागी भएका थिए । महानगरका इन्जिनियर निर्मलराज बराल त्यही वर्षको कात्तिक २४–३० सम्म फोहोर व्यवस्थापनसम्बन्धी अध्ययन भ्रमणमा जापान गए । भ्रमणमा के–के भयो, सिकियो भन्ने कुरा अहिले उनलाई नै सम्झना छैन । जबकि महानगरका लागि फोहोर व्यवस्थापन विगत लामो समयदेखि टाउको दुखाइ बनेको छ । गत भदौमा त महानगरले फोहोर नै उठाउन सकेन । ‘टुरबाट फर्किसकेपछि प्रतिवेदन पनि बुझाइनँ, न अरूलाई नै सिकाउनुपर्‍यो,’ उनले भने, ‘गइयो, घुमियो, सकियो । फर्केपछि कार्यालयको नियमित काममा व्यस्त भइयो ।’ बरालको भनाइले पनि जनप्रतिनिधि तथाकर्मचारीको विदेश भ्रमण घुमघाममा मात्रै सीमित हुने गरेको पुष्टि गर्छ ।

प्रमुख शाक्यको नेतृत्वमा भएको फिनल्यान्ड भ्रमण पनि सामान्य घुमफिरमै सीमित भएको महानगर स्रोतले बतायो । स्रोतका अनुसार वर्ल्ड टुरिज्म सिटिज फेडेरेसनको ‘फ्राग्रन्ट हिल्स टुरिज्म समिट २०१९’ मा शाक्यले मूर्तअमूर्त सम्पदालाई अर्थतन्त्रसँग जोड्ने विषयमा आधारित भएर सामान्य प्रस्तुति दिएका थिए । ‘समिटसँगै फिनल्यान्डका मेयरसँग वान टु वान वार्ता गरेर भगिनी सम्बन्ध स्थापित गर्न छलफल भएको थियो, त्यसपछि फिनल्यान्डका मेयरले आन्तरिक नीति हेरेर छलफल गरेर रिप्लाई गर्ने भनेका थिए,’ स्रोतले भन्यो, ‘त्यसको ४/५ महिनामा कोभिड महामारी सुरु भयो । त्यहाँदेखि केही पनि भएको छैन ।’

पछिल्लो समय महानगरका प्रतिनिधिहरूका लागि विभिन्न मुलुकका सहरहरूसँगको भगिनी सम्बन्ध विदेश भ्रमणको गतिलो बहाना बनेको छ । हालसम्म महानगरले अमेरिकाको युजेन, फ्रेडरिकबर्ग, रोचेस्टर, बोल्डर, जापानको मात्सुमोतो, चीनको सियान, ल्हासा, सेन्जेन, लान्जाउ, चेंगदु, नाजिङ, बेलारुसको मिन्सक, बर्माको यंगुन, भारतको वाराणसी, दक्षिण कोरियाको सोल र उत्तर कोरियाको प्योङयाङ सहरसँग भगिनी सम्बन्ध जोडेको छ । तर भगिनी सम्बन्ध गाँसिएका सहरबाट के–कति पर्यटक काठमाडौं घुम्न आए भन्ने यकिन विवरण पनि महानगरसँग छैन ।

महानगर प्रवक्ता ईश्वरमान डंगोल भने वैदेशिक भ्रमणबाट प्रत्यक्षभन्दा अप्रत्यक्ष रूपमा धेरै फाइदा पुग्ने दाबी गर्छन् । भगिनी सम्बन्ध भएको सहरमा जाने मात्र होइन, त्यहाँ जनप्रतिनिधिलाई समेत निमन्त्रणा गर्ने गरेको उनले बताए । ‘कोरोनाभन्दा पहिलाको इन्द्रजात्रामा भगिनी सम्बन्ध भएका सहरका प्रमुख, उपप्रमुखलाई बोलाएका थियौं,’ उनले भने, ‘काठमाडौं आई अवलोकन, भ्रमण गरेर फर्केपछि त्यहाँका मानिसमाझ उनीहरूले प्रचार गरे, त्यसपछि नेपालमा पर्यटक भित्रिएका छन् ।’ भगिनी सम्बन्धमार्फत संस्कृति, प्रविधिलगायत सबै विषय आदनप्रदान गरिने र एकअर्कालाई सहयोग पनि गरिने उनले दाबी गरे ।

महानगरका जनप्रतिनिधि, पदाधिकारी वा कर्मचारीको विदेश भ्रमणको उपलब्धिलाई लिएर प्रश्न उठिरहेका बेला महालेखा परीक्षकको कार्यालयले पनि यस्ता भ्रमण सरकारको पूर्वस्वीकृतिबिनै गरिएको भन्दै प्रश्न उठाएको छ । दैनिक भ्रमण भत्ता नियमावली, २०६४ को नियम ३ (५) अनुसार अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि पदाधिकारी वा कर्मचारीले विदेश भ्रमण गर्नुपर्दा नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गर्नेुपर्ने उल्लेख छ । तर काठमाडौं महानगपालिकाका जनप्रतिनिधि वा कर्मचारीले स्वीकृति नै नलिई विदेश भ्रमण गर्ने गरेका छन् । यस सम्बन्धमा महालेखाले ०७६/७७ को अन्तिमलेखापरीक्षण प्रतिवेदनमा प्रश्न उठाएको छ ।

तर महानगर प्रवक्ता डंगोल बिनास्वीकृति विदेश भ्रमणमा नगएको दाबी गर्छन् । ‘महानगरले स्वीकृतिका लागि पठाउँछ, विदेशको कार्यक्रम तोकिएको समयमै जानुपर्ने हुन्छ,’ उनले भने, ‘सरकारबाट कहिले उडिसकेपछि र कहिले उड्नुअघि नै स्वीकृति आउँछ, स्वीकृतिबिना नै भ्रमणमा चाहिँ गएको होइन ।’

सरकारको सचिव हुँदा कर्मचारीले कार्यकारी प्रमुखबाट स्वीकृति लिनुपर्छ तर महानगर प्रमुख/उपप्रमुखको हकमा मन्त्रिपरिषद्को स्वीकृति लिनुपर्ने उनले दाबी गरे ।मन्त्रिपरिषद् बैठक नबसेको अवस्थामा महानगर प्रमुखको सचिवालयबाट प्रधानमन्त्रीसम्मलाई पत्रमार्फत जानकारी गराई वैदेशिक भ्रमणमा जाने गरेको उनले जानकारी दिए । साथै उनले ल्हासाको भ्रमण गरेकै कारण कोभिड महामारीमा पीसीआर मेसिन र स्वास्थ्य सामग्री सहयोग प्राप्त गरेको बताए ।

प्रकाशित : आश्विन ८, २०७८ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?