योगी नरहरिनाथका कृति सूचीकरण हुँदै- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

योगी नरहरिनाथका कृति सूचीकरण हुँदै

लामो समयदेखि बन्द रहेको आश्रम भूकम्पले भत्काएपछि इतिहास र संस्कृतिका लागि महफ्वका कृति हराउने अवस्थामा पुगेका थिए 
दामोदर न्यौपाने

काठमाडौँ — योगी नरहरिनाथका कृतिहरूको सूचीकरण सुरु भएको छ । मृगस्थलीस्थित आश्रम भत्किएपछि हराउने अवस्थामा पुगेका योगीका प्रकाशित र पाण्डुलिपिमै रहेका कृति राष्ट्रिय अभिलेखालयले सूचीकरण गरिरहेको हो । 

तीन सय कृतिको सूचीकरण सकिएको अभिलेखालयले जनाएको छ । योगीको आश्रम क्षतिग्रस्त भएपछि भित्र रहेका कृति असरल्ल थिए । २०५९ मा नरहरिनाथको निधनपछि १३ वर्षसम्म उनको आश्रम बन्द थियो । लामो समय बन्द रहेको आश्रमलाई २०७२ वैशाखको भूकम्पले भत्काएको पनि थियो । भित्र रहेका कतिपय कृति सडेका छन् भने कतिपय धुजाधुजा छन् । योगीले वेद, वेदान्त, पुराण, पुरातत्त्व, इतिहास, कला, साहित्यजस्ता विषयको अन्वेषण गरेर पुस्तकहरू लेखेका थिए ।

योगीले लेखेका ५ सय ७१ पुस्तकमध्ये ३ सय ९५ छापिएका थिए । १ सय ७६ पाण्डुलिपिमै छन् । ती पुस्तक लेख्दा जम्मा भएका प्रमाणसमेत गरेर ८ सय कृति पत्ता लागेको अभिलेखालयले जनाएको छ । ‘कुन अभिलेखालयमा राख्न हुने हो, कुन नहुने हो भनेर सूचीकृत गर्ने काम भइरहेको छ,’ अभिलेखालय प्रमुख सौभाग्य प्रधानांगले भनिन् ।

अभिलेखालय ऐनले व्यक्तिसँग भएका केही कागजात अभिलेखालयमा पठाउन सक्ने व्यवस्था गरेको छ । ऐनअनुसार कसैले पनि आफूसँग रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, साहित्यिक, आर्थिक वा अन्य दृष्टिकोणले राष्ट्रिय महत्त्वको कागजात राष्ट्रिय सम्पत्तिका रूपमा संरक्षण गर्न राष्ट्रिय संग्रहालयमा पठाउन सक्छन् । यसरी बुझाएको कागजात अभिलेखालयबाट फिर्ता लिन भने पाइँदैन ।

मृगस्थलीमा धुजाधुजा भएको अवस्थामा योगीका कृतिहरू रहेको देखेपछि तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले तत्काल राष्ट्रिय संग्रहालयमा पठाउन भनेका थिए । तर, सरोकारवालाले विरोध गरे । योगीका उत्तराधिकारी शेषनाथ योगी पनि राजी भएनन्, गुठी संस्थानले पनि टेरेन । केही पछि भने शेषनाथ डिजिटल प्रति दिन मानेपछि अभिलेखालयले आश्रममा रहेका ऐतिहासिक र महत्त्वपूर्ण दस्तावेज एवं कृतिको सूचीकरण प्रक्रिया अघि बढाएको हो । ‘हामीले अभिलेखालयमा कसरी सुरक्षित राख्छौं भनेर योगीलाई यहीँ ल्याएर देखाइदियौं,’ प्रधानांगले भनिन्, ‘सुरक्षित गर्ने तरिका बुझेपछि योगी अभिलेखालयलाई कृति दिन राजी हुनुभयो ।’

१९७१ मा कालीकोटमा जन्मिएका नरहरिनाथ २००४ सालदेखि मृगस्थलीमा बस्दै आएका थिए । उनका लागि जुद्धशमशेरले मृगस्थलीमा चार रोपनी जग्गामा गौशालासहितको दुई अखडा बनाइदिएका थिए । २०१८ सम्म गोरखनाथ अखडाको मठाधीश भए । आफ्नै गुरु छिप्रानाथलाई अखडा सुम्पिएर उनी देश दर्शनमा निस्किएका थिए । नरहरिनाथले मुलुकका विभिन्न ठाउँ घुमेर शिलापत्र, ताम्रपत्र, राजपत्र, कनकपत्र र अन्य महत्त्वपूर्ण कागजातसमेत संकलन गरेका थिए ।

नरहरिनाथबारे अध्ययन गरेका विश्व केसीका अनुसार योगीले नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, देवघाट, गैंडाकोट, उपरदाङगढी, चितवनसम्म अध्ययन अनुसन्धान यात्रा गरेका थिए । २०११ पुस २३ बाट जनकलाल ढकाललाई लिएर यात्रा गरेपछि उनले झन्डै ७ सय थान ऐतिहासिक कृति संकलन गरेका थिए ।

त्यही कृति अध्ययन गरेर इतिहास प्रकाशन संघले २०१२ मा इतिहास प्रकाशनको पहिलो अंक निकालेको थियो । त्यसको सम्पादक योगी नै थिए । उनले नै इतिहास शिरोमणि बाबुराम आचार्यको अध्यक्षतामा संघ स्थापना गरेका थिए । संघमा नरप्रतापशमेशर थापा, मैत्रदेव पाठक, सूर्यविक्रम ज्ञवाली, केशरबहादुर केसी, चौतरीया नारायणजंग शाह, सुन्दरप्रताप साह, गोविन्दबहादुर मल्ल, सुवेदार प्रेमबहादुर लिम्बू, रामजंगबहादुर सिंह, शंकरमानसिंह बस्न्यातलगायत आबद्ध थिए ।

पहिलो चरणको अध्ययन भ्रमण सकिएपछि योगी २०१२ असार ९ मा चौतरिया नारायणजङ शाह, जिम्मुवाल हरिलाल पन्थ, मुखिया विलाखर रिमालसहित आठ जनाको टोली लिएर मध्यपश्चिमको इतिहास अध्ययनमा निस्केको केसीले बताए । यो यात्रामा संकलन गरिएका ऐतिहासिक अभिलेख र सामग्री २०१३ मा इतिहास प्रकाशनमा छापिएको थियो ।

इतिहास प्रकाशनको पहिलो अंकमा योगीले संकलन गरेका १ सय १६ वटा अभिलेख, १६ वटा वंशावली र ३ वटा लेख प्रकाशित छन् । २०१३ सालमा छापिएका इतिहास प्रकाशकका ३ वटा भागमा १ हजार ३१ वटा अभिलेख र ४७ वटा वंशावली थिए । २०२६ देखि २०२८ सालसम्म मध्य र सुदूरपश्चिमको भ्रमण गरेर ४ सयको हाराहारीमा ऐतिहासिक प्रमाण संकलन गरेका थिए । यी प्रमाण भने प्रकाशन हुन नसकेको केसीले बताए ।

योगीले आफ्नै जीवनकालमा गोरक्ष ग्रन्थमालाबाट १ सय २८ पुस्तक प्रकाशन गरिसकेका थिए । त्यसबाहेक इतिहास र पुरातत्त्वसम्बन्धी ८ वटा, पाक्षिक र त्रैमासिक पत्रिका १० वटा र अन्य विविध विधाका २ सय २ सय ६३ वटा पुस्तक छन् । केही पुस्तकका थप भागहरू प्रकाशित हुनै बाँकी पनि छन् । इतिहासमा सन्धिपत्र संग्रहको ८२ भागमध्ये ७ भाग प्रकाशित भएका छन् । इतिहास प्रकाशका ८२ भागमध्ये ४ भाग मात्र प्रकाशित छन् । शिखरिणी यात्राका १५ भागमध्ये एउटा मात्र प्रकाशित छन् । योगीको २०२२ मा प्रकाशित सन्धिपत्र संग्रह भाग १ मा ५ सय ५६ वटा अभिलेख र ३३ वटा वंशावली छन् ।

इतिहास र पुरातत्त्वको खोज अनुसन्धानका अतिरिक्त विद्वत् सम्मेलन, संस्कृत पाठशाला, विद्यालय, महाविद्यालय स्थापनामा पनि योगीले योगदान दिएका थिए । त्यसका साथै उनले भाषा, संस्कृति र सभ्यता (इतिहास, पुरातत्त्व) गरी तीनवटा उपदर्शनसमेत प्रतिपादन गरेका थिए ।

प्रकाशित : आश्विन ६, २०७८ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्

नेप्सेमा सुधार, सवा १२ बजेसम्म ६६ अंकले बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार दोहोरो अंकले बढेर बन्द भएको नेप्सेले बुधबार पनि सोही प्रवृति पछ्याएको छ । सोही क्रममा सवा १२ बजेसम्म नेप्से परिसूचक करिब ६६ अंकले बढेर २ हजार ७ सय ७८ अंकमा पुगेको छ ।

अघिल्ला चार कारोबार दिनमा करिब साढे २ सय अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकले बढेको हो ।

नेप्से बढे पनि कारोबार रकममा भने खासै सुधार आएको छैन । करिब सवा १२ बजेसम्म १ अर्ब ९१ करोड रुपैयाँको मात्र सेयर किनबेच भएको छ ।


प्रकाशित : आश्विन ६, २०७८ १२:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×