२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

'नागिचा प्याखँ' पुन: सञ्चालन

सीमा तामाङ

काठमाडौँ — काठमाडौं महानगरपालिकाको आर्थिक अनुदानमा 'नागिचा प्याखँ' (नाच) पुन: सञ्चालन भएको छ । आर्थिक अभावका कारण २०७० सालपछि रोकिएको नाच यस वर्षदेखि सुरु भएको हो ।

'नागिचा प्याखँ' पुन: सञ्चालन

महानगरको वडा–७ चारुमती विहारमा ०७० सालमा प्रदर्शन भएको नाच त्यसपछि ०७८ असोज पहिलो साता प्रदर्शन गरिएको हो । हरेक वर्ष येंया पुन्हीबाट सुरु भएर ३ दिनसम्म चाबाहिल, जय बागेश्वरीलगायतका ९ ठाउँमा नाच प्रदर्शन गर्ने परम्परा छ । यो नाच मंगलबार बेलुका साढे ६ बजे जयबागेश्वरी मन्दिर परिसरमा नचाइएको छ ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले असोज पहिलो साता नाचमा बजाइने बाद्य सामाग्री गुठीयारहरुलाई दिएर नाच शुभारम्भ गरेका थिए । असोज पहिलो साता विहारमा नाच्नुअघि चावहिल स्तुपनजिक रहेको नास द्य: (नाचका देवता) को पूजा गरेर नाच सुरु गरिएको थियो । यो पूजा जयबागेश्वरीका गुरुजुले गराउने प्रचलन छ ।

मेयर शाक्यले, आर्थिक अभाव भएर मौलिक र परम्परागत कुनै पनि सांस्कृतिक चलन नरोकिने बताए । ‘गुठीयारहरुसँग समन्वय भएका सबै ठाउँमा हामी पुगेका छौं । गुठीयारको सहभागिता भएन भने हाम्रो प्रयास अपर्याप्त हुन्छ,’ उनले भने, ‘त्यसको संरक्षणमा समस्या हुन सक्छ । हामी सम्पदा बनाउँछौं, जोगाउँछौं र त्यसलाई जीवन्त बनाउने क्रियाकलापका लागि गुठीयारलाई जिम्मा लगाउँछौं ।’

यो नाच पशुपति क्षेत्रमा रहेको अमालकोट कचहरीले सञ्चालन गर्ने गरेको थियो । ‘यसका लागि महानगरले एक लाख रुपैयाँ दिने गथ्र्यो, त्यो रकमले नाचसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्न नपुग्ने भएपछि बन्द भएको थियो,’ नागिचा प्याखँ संरक्षण समितिका अध्यक्ष जलाद वैद्यले भने, ‘महानगरले नाचलाई पुनर्जीवन दियो, यसबाट स्थानीयहरुमा खुशीको सञ्चार प्रवाह भएको छ ।’

नाचलाई नियमित गर्न महानगरले गत वर्ष १० लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये ६ लाख रुपैयाँ निकासा भइसकेको सम्पदा तथा पर्यटन विभागका उपनिर्देशक सृजु प्रधानले बताइन् । ‘नाच पुन:सञ्चालन गर्न प्रशिक्षण चलाउनुपर्ने, बाजा, पोसाक, मुकुट र गहना किन्नुपर्ने भएकोले गएको बर्ष धेरै रकम थियो,’ उनले भनिन्, ‘अहिलेसम्ममा नाच सञ्चालन गर्ने आधार तयार भएको छ । यस वर्षका लागि ५ लाख रुपैयाँ छ ।’


प्रकाशित : आश्विन ५, २०७८ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?