नगरकोट पदमार्ग निर्माण सुरु- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नगरकोट पदमार्ग निर्माण सुरु

कान्तिपुर संवाददाता

भक्तपुर — पर्यटकीय गन्तव्य नगरकोटको प्रवर्द्धनका लागि मुहानपोखरी–खोलेखेत–गडगडे–नगरकोटसम्मको करिब ५ किलोमिटर पदमार्ग निर्माण कार्य सुरु भएको छ ।

चाँगुनारायण नगरपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी), नेपाल पर्यटन बोर्ड, यूएनडीपीलगायतको संयुक्त साझेदारीमा पदमार्ग निर्माण थालेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।

नगरपालिकाको ३० लाख रुपैयाँ र साझेदारी संस्थाहरुको ३० लाख रुपैयाँ बजेट लागतमा असोजमै पदमार्ग निर्माण सम्पन्न हुने सुपरभाइजर राजकुमार लामिछानेले बताए । पदमार्गमा पर्ने बोटबिरुवालाई कुनै असर नपर्ने गरी पैदलमार्ग निर्माण गर्ने जनाएको छ ।

पदमार्ग निर्माणका लागि नगरपालिकाले २ सय ५८ जना श्रमिकको छनोट गरेको छ । कोरोना कहरका कारण आयस्रोत गुमेका श्रमिकको सहयोगको लागि पदमार्ग निर्माणमा स्थानीय श्रमिकलाई श्रममा लगाउने योजना बनाएको नगरप्रमुख मिश्रले बताए । प्रतिदिन श्रम गरेबापत श्रमिकले करकट्टी सहित १ हजार रुपैयाँ पारिश्रमिक पाउँछन् ।

चाँगुनारायण–६ र ७ को संगम मुहानपोखरीबाट पदमार्ग सुरु हुन्छ । मुहारपोखरीबाट हिँडेपछि नगरकोटसम्म पुग्दा झरना, विभिन्न जडिबुटी, चराचुरुङ्गीलगायतको अवलोकन गर्न सकिन्छ ।

प्रकाशित : आश्विन ३, २०७८ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्

नवलपुरका सात पालिकामा प्याब्सनको नयाँ नेतृत्व

नवीन पौडेल

नवलपुर — निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) नेपाल नवलपुरअन्तर्गत पालिकास्तरीय अधिवेशन सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको अधिवेशनबाट जिल्लाको सात वटा स्थानीय तहमा अध्यक्षसहित पदाधिकारी र सदस्य सबै निर्विरोध चयन भएको जिल्ला निर्वाचन संयोजक भोजराज दाहालले बताए ।

दाहालका अनुसार कावासोती नगरपालिकाको अध्यक्षमा त्रिभुवन तिवारी, गैंडाकोट नगरपालिकामा लक्ष्मीप्रसाद दवाडी, देवचुली नगरपालिकामा सन्तबहादुर क्षेत्री र मध्यविन्दु नगरपालिकामा रामचन्द्र भुसालको अध्यक्षतामा पालिकास्तरीय समिति निर्वीरोध चयन भएको छ ।

यसैगरी विनय त्रिवेणी गाउँपालिकामा राजेन्द्र गुरुङ निर्वाचित भएका छन् भने हुप्सेकोटमा बालकृष्ण थापा र बौदीकालिमा श्याम थापालाई फोकल पर्सन तोकिएको छ । प्याब्सनको विधानमा कुनै पनि पालिकामा १० वटाभन्दा कम व्याब्सनको सदस्य भएमा फोकल पर्सन तोक्ने प्रावधान छ । बुलिङ्गटार गाउँपालिकामा भने फोकल पर्सन तोकिएको छैन ।

व्याब्सनका केन्द्रीय उपाध्यक्ष भरतबावु कँडेलले नवनिर्वाचित अध्यक्ष र सदस्यलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । सो अवसरमा बोल्दै उपाध्यक्ष कँडेल र केन्द्रीय महासचिव कुमार घिमिरेले राज्यले निजी विद्यालयलाई विभेदको नजरले हेर्न नहुने भन्दै गुणस्तरीय शिक्षाका लागि निजी क्षेत्र र सरकारी निकाय हातेमाले गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । शपथ कार्यक्रम प्याब्सन नवलपुरका अध्यक्ष दिपक रावतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित : आश्विन ३, २०७८ २०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×