उठाइयो इन्द्रजात्राको यःसिं

कोरोनाले गत वर्ष रोकिएको जात्रा यस वर्ष स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर मनाइँदै
दामोदर न्यौपाने

काठमाडौँ — काठमाडौंको मुख्य पर्व इन्द्रजात्रा सुरु भएको छ । शनिबार बिहान ६ः५१ बजेको साइतमा वसन्तपुरको हनुमानढोका दरबार छेउको कालभैरव छेउमा इन्द्रध्वज उठाएपछि इन्द्रजात्रा सुरु भएको हो । भाद्र शुक्ल द्वादशी तिथिमा ३३ फिट अग्लो काठको लिङ्गो (यः सि) ठड्याएपछि इन्द्रजात्रा सुरु भएको मानिन्छ । लिंगो ठड्याएको भोलिपल्ट जीवित देवी कुमारीको रथयात्रा गराइन्छ । त्यस दिन राष्ट्रप्रमुखले कुमारीको दर्शन गर्ने चलन छ । 

उठाइयो इन्द्रजात्राको यःसिं

परापूर्वकालदेखि चल्दै आएको यो पर्व गत वर्ष कोरोनाको कारण रोकिएको थियो । रथयात्रालगायत बाहिरी जात्रा रोकिए पनि पूजाआजा भने भएको थियो । यो वर्ष भने स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर पर्व मनाउन लागिएको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले जानकारी दिए । ‘जति सक्दो भीड कम गर्ने उपाय अपनाएका छौं,’ उनले भने । भीड कम गर्न जात्राका टोली पनि घटाइएको उनले जानकारी दिए ।

जात्रामा गुठी र खलका गरी २९ वटा बाजा समूह सहभागी हुन्छन । बाजा बजाउने एउटा टोलीमा ६० जना सम्म हुन्छन् । यो टोलीलाई घटाएको जात्रा व्यवस्थापन समितिका सदस्य गणपतिलाल श्रेष्ठले जानकारी दिए । ‘यो पटक धिमे बजाउने दुई जना र भुस्याहा बजाउन एक जना मात्र सहभागी गराउने भएका छौं,’ श्रेष्ठले भने, ‘गत वर्ष ६० जनासम्म टोली हुन्थे । यो वर्ष घटाउन आग्रह गरेका छौं ।’

महामारीका कारण यो वर्ष रथ तान्ने समय पनि परिवर्तन गरिएको छ । गत वर्ष अपराह्न चार बजे तानेर राति अबेलासम्म टोलमा डुलाइन्थ्यो । यो वर्ष भने तीन बजे नै तान्न सुरु गरेर ६ वजे फिर्ता गरिसक्ने गरी योजना छ । भीड कम गराउन कुमारी, गणेश र भैरवको रथ फरकफरक समयमा गुडाइने भएको छ । ‘१५/१५ मिनेटको फरकमा रथ गुडाइनेछ,’ श्रेष्ठले भने, ‘रथमा पनि धेरै मान्छे राखिने छैन ।’

इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ । आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान, रथयात्रा गरी यो पर्व मनाइन्छ । कुमारी पूजाको समयमा कुमारीको दायाँबायाँ जीवित गणेश र भैरव राखिन्छ । सप्ताहव्यापी रूपमा गरिने पूजाविधि फरक फरक हुन्छ । भाद्र शुक्ल एकादशीको दिन निमन्त्रणा पुजा हुन्छ । यो दिन बिहान कुमारी, गणेश र भैरवमा सप्ताहव्यापी कार्यक्रमका लागि सरकारले निम्ता चढाउने परम्परा छ । पञ्चबुद्धको मूलपूरोहितले बौद्ध धर्म विधिअनुसार कुमारीलाई सगुन, शृंगार सामान र पोशाक चढाउँछन् । जीवित देवता गणेश र भैरवलाई पनि यही दिन निमन्त्रणा चढाउने परम्परा छ । कुमारी घरमा जीवित देवी कुमारी बस्दै आएकी छन् भने राखिएको छ भने गणेश र भैरवचाहिं आफ्नै घरमा बस्दै आएका छन् ।

कुमारीको रथ चलाउने पनि आफ्नै विधि छ । यसको अगुवाइ पञ्चबुद्धका पुरोहित, सेनाको बाजा, प्रहरीको बाजा र पञ्चैबाजाले गरिन्छ । कुमारीको रथ पछाडि शार्दूल जंगको पल्टन हुन्छ । बाजागाजासहित सहरका परिक्रमा हुन्छ । रथ वसन्तपुरमा आएप्छि देवीको पूजा गरी समय् बजि चढाउने र प्रसाद खाने चलन छ । पूर्णिमा तीथीमा हुने कार्यक्रमलाई थःने याः भनिन्छ । यो दिन माथिल्लो टोलमा रथयात्रा गरिन्छ ।

तल्लो टोल र माथिल्लो टोलमा रथयात्रा सकिएपछि आश्विन प्रतिपदा तिथिमा गाई दान पूजा हुन्छ । कुमारी घरअगाडिको डबलीमा तीनवटा मउडापमा कर्माचार्य र ब्राह्मणबाट गाई दान गर्ने चलान छ । गाई दान सकिएपछि भोलिपल्ट गणचक्र पूजा हुन्छ । सप्ताहव्यापी कार्यक्रमको समापनको दिनमा हुने रथयात्रा हो नानिचा । प्याफल, नरदेवी, किलागल, भेडासीं, इन्द्रचोक, मखन हुँदै वसन्तपुरस्थित गद्दी बैठकअगाडि रथ विसर्जन हुन्छ । यही दिन वसन्तपुरमा ठड्याइएको यः सिं पनि ढालिन्छ र विधिवत् रूपमा इन्द्रजात्रा सम्पन्न हुन्छ ।

इन्द्रजात्राको प्रारम्भ भने भाद्र शुक्ल द्वितीया तिथिमा साइत निकालेर काठ लिन गएपछि हुन्छ । यस वर्ष हनुमानढोका दरबारभित्रको नासलचोकमा मानन्धर समुदायले विधिवत पूजा गरेर भदौ २३ गते बुधबार बिहान १०ः५२ को साइतमा काठ लिन वनयात्रा गरेका थिए । इन्द्रजात्रामा मात्र नभई उपत्यकाका मुख्य जात्रामा यःसिं ठड्याउने चलन छ । पाहाचार्य, बिस्केटलगायत जात्रामा पनि यः सिं ठड्याउने चलन छ । ‘अग्लो ठाउमा यः सिं ठड्याएपछि अब जात्रा सुरु भएछ भनेर सबैले सर्वसाधारणले बुझ्छन्,’ संस्कृतिविद् यज्ञमान पति बज्राचार्य भन्छन्, ‘यः सिं ढालेपछि जात्रा सकिएछ भनेर बुझ्न ।

जात्राको सुरु र अन्त्य थाहा होस भनेर यः सिं ठड्याउने परम्परा सुरु भयो ।’ काठ लिन नालाको जंगलमा जाने चलन छ । जंगल मासिँदै गएको भन्दै नेपाली सेनालगायतले यो वर्ष वृक्षरोपणसमेत गरेको थियो ।

इन्द्रजात्राको व्यवस्थित रूपमा सुरुआत लिच्छविकालीन राजा गुणकामदेवको पालामा भएको मानिन्छ । मल्ल वंशका अन्तिम राजा जयप्रकाशले कुमारी राख्ने घर बनाएका थिए । यसअघि कुमारी आफ्नै घरमा बस्ने चलन थियो । कुमारीलाई तलेजु भवानीको प्रतीकसमेत मानिन्छ ।

प्रकाशित : आश्विन ३, २०७८ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?