‘नागिचा प्याखँ’ मा नयाँ पुस्ता- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नागिचा प्याखँ’ मा नयाँ पुस्ता

शिव–पार्वती बनेर नाचिने यो परम्परा विगत ८ वर्षदेखि ठप्प छ । यस वर्ष ४ बालकलाई समेटेर नाच देखाउने तयारीमा छन् कृष्णकाजी । 
दामोदर न्यौपाने

काठमाडौँ — कृष्णकाजी शाक्यले चाबहिलको चारुमती विहारलाई निवास बनाएको ६ वर्ष भयो । २०७२ वैशाखको भूकम्पले घर भत्काइदिएपछि उनले आफ्नै गुठीमातहात रहेको विहारलाई निवास बनाएका हुन् । जुन निवासमा मात्र सीमित छैन । लोप हुनै लागेको किराँतकालीन नागिचा प्याखँ (शिव–पार्वती नाच) का लागि उनी नयाँ पुस्ता तयार गर्दै छन् । कुनै बेला उनले यही स्थानबाट नागिचा प्याखँको शिक्षा पाएका थिए ।

२०७० बाट रोकिएको नागिचा प्याखँ यो वर्षको भाद्र शुक्ल प्रतिपदादेखि सुरु हुँदै छ । यसका लागि ४ जना बालक छानिएर नृत्य सिकिरहेका छन् । ९ वर्षका आयुष डंगोल र १४ वर्षका उज्ज्वल लामा वैद्य पार्वतीको भूमिकाका लागि छनोट भएका छन् । शिवको भूमिका भने रोनी शाक्य र शुब्लब शाक्यले निभाउँदै छन् । यी चारैजनाका गुरु उनै कृष्णकाजी छन् । ‘नयाँ पुस्ता तयार भए,’ कृष्णकाजीले भने, ‘लोप भइसकेको प्राचीन यो नृत्य अब ब्युँतियो । लोप हुँदैन ।’ रोनी उनकै छोरा हुन् । बाजा पनि सिकेका छन् ।

उनका अनुसार यो नृत्यको मुख्य समस्या पार्वती बन्ने बालक नपाउनु हो । एक पटक बनेकाले अर्को पटक मान्दैनन् । यही कारण १६ वर्षसम्म लगातार नाचेको अनुभव छ कृष्णकाजीसँग । २०३८ मा गुरु लोकरत्न शाक्यसँग नृत्य सिक्न सुरु गर्दा शिव बन्ने वा पार्वती बन्ने टुंगो थिएन । ३ महिनासम्म सिक्ने क्रममा उनले पार्वतीको भूमिका पाए । तर उनको रुचिको भूमिका भने त्यो थिएन । उनी शिव बन्न चाहन्थे । तर गुरुले यही भूमिका दिएपछि नाइँ भन्न सकेनन् । ‘मलाई शिव बन्न मन थियो,’ उनले भने, ‘तर पार्वती बनेर नाच्नुपर्‍यो ।’

कृष्णलाई शिव मन पर्नुको कारणचाहिँ शिवको भूमिका धेरै हुनु हो । पार्वतीको भूमिका नाच्ने बेलामा मात्रै आउँछ । शिवको अभिनयबाहेक नाच पनि उत्साहित खालको हुन्छ । हेर्दा ताण्डव नृत्यजस्तै लाग्ने नागिचा प्याखँमा शिवको नृत्य जोसिलो हुन्छ । पार्वतीले सामान्य गरी हात र गोडाको चाल मात्र मिलाउँछिन् । शिवले अभिनय गर्दा दर्शकलाई जिस्काउँछन्, हसाउँछन् । पार्वती हराएको अभिनय गर्ने बेलामा खोज्न जान्छन् । रुन्छन् । कराउँछन् । भावविह्वल हुन्छन् । रातको समयमा यही हो पार्वती भन्दै अरू महिलालाई देखाउँछन् । ‘बालमनोविज्ञानले यस्तै उट्पट्याङ र रमाइलो मन पराउँदो हो,’ कृष्णले भने, ‘म पनि त्यही रमाइलो भूमिकामा देखिन चाहन्थें ।’

जय वागेश्वरी मन्दिरका पुजारीले जयवागेश्वरीको मूर्तिमा रहेको चाँदीको सिक्री शिवलाई लगाइदिएपछि सुरु हुने यो नाच ३ दिनसम्म चल्छ । नाचलाई देवपतनका डबली–डबलीमा पुर्‍याइन्छ । दोस्रो दिन पशुपति मन्दिर, त्यहाँका भट्टको घरमा नचाइन्छ । अन्तिम दिन पशुपति क्षेत्रका मुख्य शक्तिपीठ, विहारमा नचाएपछि नृत्य सकिन्छ । पहिले प्रत्येक डबलीमा महादेव फेरिने गरेको कृष्ण सम्झन्छन् । पार्वती बनेका कृष्ण भने अभिनय गर्ने बेला लुक्न जान्थे । लुकेको बेलामा शिव नाचिरहेका हुन्थे । उनीचाहिँ कुन शिवले राम्रो नाच्यो भनेर नियालिराख्थे । ‘मलाई शिवमै रुचि थियो । शिव बनेरै नाच्न मन थियो । त्यही भएर प्रत्येक डबलीमा शिव फेरिँदा कसले कस्तो नाचे भनेर नियाल्थें,’ कृष्णकाजीले भने ।

पार्वती बन्ने मान्छे नपाएरै सुरुमा छानिएका थिए कृष्णकाजी । बीचमा शिव फेरिए तर उनको भूमिका फेरिएन । पार्वती बन्न आएका अन्य पनि बीचमै छाडेर गए । ‘जुँगा आउन थालेपछि धेरैले छाड्छन्,’ कृष्णले पार्वतीको भूमिका छाडेर जानुको कारण खुलाए, ‘सुरु गर्दा साना हुन्छन् । सामान्यतया ५ वर्ष नाच्नुपर्ने हो । तर एक–दुई वर्ष नाचेर छाडिदिन्छन् ।’

९ वर्षको हुँदा नृत्य सुरु गरेका उनको पनि १४ वर्षमा जुँगाको रेखी बस्न थाल्यो । १६ वर्षको भएपछि काट्नैपर्ने गरी जुँगा पलायो । उनी पनि भाग्न नखोजेका होइनन् तर नृत्य नै रोकिने भएपछि सर्तसहित नाचे । सर्त थियो– जुँगा काट्ने हो भने पैसा दिनुपर्छ । थकाली राजी भए । जुँगा काटेबापत कहिले डेढ सय कहिले दुई सय पाउने भए । ‘त्यतिबेलाको निकै ठूलो रकम थियो त्यो,’ उनले भने, ‘पैसा लिन्थें तर जुँगाचाहिँ आफैं ब्लेडले काट्थें ।’

कृष्णकाजीका बुबा हेराकाजी शाक्य बाजाका विज्ञ थिए । उनलाई पनि सिकाएका थिए । कृष्णकाजीले मुख्यगरी सिकेको भने नाच थियो । नाच्दानाच्दै बाजा पनि सिक्दै गएका हुन् । बाजा, गीत र नृत्य गरी तीन वटा पक्ष हुन्छन् यो नाचका । खिं बाजा, नापखी धा बाजा, ता, मुस्या, छुस्या, छुवाली, मुवाली र जोगी बाजा हुन्छन् । यीमध्ये जोगी बाजा पशुपतिनाथबाट ल्याइन्छ । यी बाजामा पोख्त भएपछि गीत सिकाइन्छ । गीतमा चो, जति र परताल तीन वटा ताल हुन्छन् । ‘पहिला बाजा अलि अलि आउँथ्यो,’ कृष्णकाजीले सुनाए, ‘नाच्न थालेपछि झ्न प्रस्टसँग आयो ।’ गीतको लय पनि कण्ठै भयो । शब्द भने उनलाई अझैसम्म आउँदैन । शब्दबारे उनकै दाइ रूपकाजी शाक्य जानकार छन् ।

दाइको पछि गाउने हेमराज शाक्य, पूर्ववीर शाक्य, जुजुमान शाक्य, मोहन शाक्यलगायत छन् । ५१ वर्षीय रूपकाजी कृष्णकाजीका माइला दाइ हुन् । रूपकाजी र जेठो दाइ शिवरत्नले पनि शिव बनेर नाचेका थिए । कृष्णकाजीले रूपकाजीसँगै २०३८ बाट यो नाच नाच्न सुरु गरेका हुन् । कृष्णकाजीका अनुसार अरू ६ जना सामेल भए पनि बीचमा सबैले छाड्दै गए । पाँचौं वर्ष (अन्तिम वर्ष) मा आइपुग्दा दाजुभाइ मात्रै बाँकी रहे । ‘सुरु गर्ने धेरै हुन्छन् । कोहीको पढाइ हुन्छ । कोहीको घरायसी काम हुन्छ,’ उनले भने, ‘कोहीको जुँगा आउँछ अनि छाड्दै जान्छन् ।’

रूपकाजीले पनि ५ वर्षपछि छुट्टी पाए । तर कृष्णलाई भने पार्वतीको भूमिकाले छाडेन । हुँदाहुँदा बुबाको मृत्यु भएपछि लगाएको सेतो कपडा फालेर समेत पार्वतीको वस्त्र धारण गर्नुपरेको उनले सुनाए । २०५२ मा उनको बुबाको मृत्यु भएको हो । ‘थकालीले देवताको काम हो, बरखी बारेका बेलासमेत नाच्न हुन्छ भनेपछि पार्वती बन्न राजी भएँ,’ उनले भने, ‘शोकका बेलामा कसरी नाच्नु भनेर सुरुमा त अप्ठेरो लागेको थियो, नाच्न थालेपछि शोक बिर्सिएँ ।’ त्यही वर्ष अर्को पुस्ताका सचिन शाक्यलाई पार्वती बनाएर कृष्णकाजीले बिदा पनि लिए ।

प्रकाशित : आश्विन २, २०७८ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्

एउटै गाउँका सयौं युवा कतारमा

कतार रोजगारीमा रहेका युवाको कमाइबाटै बचत गरेर बाँगीका धेरैले सहरमा घर–घडेरी जोडेका छन् । गाउँका घर–गोठमा जस्तापाता लगाएका छन् ।
वीरेन्द्र केसी

अर्घाखाँची — मालारानी गाउँपालिका–५, बाँगीका युवा रामबहादुर बस्नेतले नौ वर्षसम्म कतारमा रोजगारी गरेपछि सन्धिखर्कमा घरबास जोडेका छन् । विद्यालय तहको अध्ययनपछि गाउँले दौतरीको कतार जाने लहरले उनलाई पनि त्यहाँ पुर्‍याएको हो । ‘कतारको आम्दानीले यहाँ आएर व्यवसाय गर्न पनि सघाएको छ,’ उनले भने, ‘यहाँ लगानी अनुसार प्रतिफल छैन । राज्यले व्यवसायीको सुरक्षाप्रति चासो नै दिएजस्तो लागेन ।’

एक दशकअघि स्वदेश फर्किएर उनले यातायात व्यवसायमा हात हालेका थिए । अर्घाखाँची–बुटवल–काठमाडौं बस सञ्चालन गरे । कोभिडका कारण व्यवसाय प्रभावित हुँदा उनलाई कतारकै रोजगारी ठिक हो कि भन्ने लाग्न थालेको छ । कृषि उद्यमलगायत अन्य व्यवसायमा पनि उत्पादित बस्तुले सहजै बजार पाउने ग्यारेन्टी नभएका कारण लगानीमा समस्या भएको उनले बताए ।

बाँगीका प्रशस्त युवा अहिले पनि कतारमै छन् । तीन दशकअघि प्यूडाँडाका माधव भुसाल कतार गएका थिए । त्यसपछि उनले गाउँका साथीभाइलाई भिसा पठाइदिए । स्कुल अध्ययनपछि भिसा बनाएर रोजगारी खोज्दै कतार जानेको यहाँ लहर नै चल्यो । केही युवा अन्य मुलुक गए पनि बहुसंख्यक कतारमै रहेको कतारबाट फर्केका बाँगीका मणि थापाले बताए । ‘गाउँका धेरै युवा भएकाले कतार त परदेशजस्तै लाग्दैन,’ उनले भने, ‘टोल र गाउँका दाजुभाइ दैनिक भेटघाट हुन्छ । बिदाको दिन त उल्कै रमाइलो हुन्छ ।’

अभिभावकले नै विद्यालयस्तरीय पढाइ सकेपछि कतार पठाउन जोड गर्छन् । युवा मिलेर बाँगी कतार सम्पर्क समाज गठन गरेका छन् । समाजका उपाध्यक्ष विष्णु कुँवरले बाँगीका मात्रै झन्डै ६ सयको संख्यामा कतारका विभिन्न कम्पनीमा रोजगारीमा रहेको बताए । ‘सँगै स्कुलमा पढेको, वनमा गाईबाख्रा हेरेको, खेलेको, सँगै मेलापात गरेको बाल्यकालदेखिका साथीभाइ हुँदा रमाइलो नै हुन्छ,’ उनले भने, ‘सयौंको संख्यामा रहेका हामी बाँगीका युवा धेरै नजिकै रोजगारीमा छौं । अन्य गाउँकासित साता र महिनामा भेट हुन्छ । चाडपर्व सबै एक ठाउँ भेला भएर मनाउँछौं ।’ रोजगारीका लागि जन्मघर छाडेर परदेश गए पनि कतारमा रमाइलै रहेको उनले बताए ।

कतार रोजगारीमा रहेका युवाको कमाइबाटै बचत गरेर बाँगीका धेरैले सहरमा घर–घडेरी जोडेका छन् । गाउँका घर–गोठमा जस्तापाता लगाएका छन् । सहरमा राखेर छोराछोरी पढाउनेदेखि भान्सामा मिठो परिकार पाक्नेसम्ममा कतारको कमाइले काम गरेको छ । बाँगीकै बाबुराम बस्नेत १५ वर्षदेखि कतारमा रोजगारीमा छन् । यस अवधिमा उनले गाउँको घर–गोठ चिटिक्क पारे । बाबुबाजेले लगाएको ऋण तिरे । सदरमुकाममा घर–घडेरी जोडे । अहिले दुई छोरालाई काठमाडौंमा राखेर उच्च शिक्षा पढाइरहेका छन् । परदेशमा रोजगारी राम्रो भएपछि बाँगीका पदम भुसाल स्वदेश फर्कने सोचमा छैनन् । ‘महिनाको झन्डै ७० हजार रुपैयाँ बचत हुन्छ । महिना पुग्दा तलब आउँछ,’ उनले भने, ‘अझै केही समय यतै काम गर्ने मन बनाएको छु ।’ सुरुमा छिमेकीसँग ऋण खोजेर उनी कतार गएका हुन् । अहिले बुटवलमा घडेरी जोडेका छन् । एक छोरा र एक छोरीलाई महँगो बोर्डिङ स्कुलमा पढाएका छन् ।

स्कुल पढाइपछि गाउँमा कतार जानेको लहर नै चल्ने शान्ति माविका प्रधानाध्यापक मानबहादुर पाण्डेले बताए । गरिबीका कारण घरखर्च चल्न गाह्रो हुनु, विदेशको कमाइले छिमेकीले गरेको परिवर्तन, स्वदेशमा स्वरोजगारीको ग्यारेन्टी नहुनु, कृषि उत्पादनको बजारीकरणको समस्या, कृषिदेखि अन्य उद्यममा लगानी डुब्नु र उपलब्धि छिटो नहुनु जस्ता समस्याले युवाको वैदेशिक रोजगारीप्रति मोह बढेको उनले बताए ।

कतारको कमाइले गाउँको विकास निर्माणमा पनि सघाउ पुग्दै आएको बाँगी प्यूडाँडाका रामप्रसाद पराजुलीले बताए । ‘मोटरबाटो, विद्युत्, खानेपानी, शैक्षिक सामग्री वितरणमा सघाउँदै आएका छौं,’ उनले भने, ‘शान्ति, सिद्ध माविलगायतलाई कम्प्युटर, ल्यापटप, प्रिन्टर वितरण गरिएको छ । शैक्षिक सामग्री वितरणमा मात्रै झण्डै १२ लाख रुपैयाँ खर्चिएका छौं ।’ बाँगी गाउँ सदरमुकाम सन्धिखर्कदेखि १६ किमि पश्चिममा छ । गोलाकार रूपमा रहेको बाँगीमा एकीकृत बस्ती छ । यहाँका सबै घरमा विद्युत्, खानेपानी, सिँचाइ र सडक सुविधा छ । सबैका घर जस्तापाताले रंगिएका छन् ।

प्रकाशित : आश्विन २, २०७८ १२:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×